News

चीनबाट फर्केका नेपाली सिधै घर जान नपाउने, अलग्गै क्वरेन्टाइन राखिने !

सरकारले चीनको हुबेई प्रान्तका ६ सहरमा रहेका नेपालीलाई स्वदेश ल्याइएपछि अलग्गै (क्वरेन्टाइन) राख्न सुरक्षित स्थानको खोजी थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ । स्वदेश फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ खोजिरहेका छन् ।

सेनालाई ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा दिने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। दीपेन्द्ररमण सिंहको नेतृत्वमा आइतबार सबै सुरक्षा निकायका चिकित्सकहरूको टोलीले वैकल्पिक स्थानको अवलोकन गरेको थियो ।

सुरक्षा निकायका तालिम केन्द्र तथा अस्पतालमा एक सय ८० जना राख्ने क्षमता नभएपछि बेग्लै थप आइसोलेसन वार्ड बनाउने जिम्मा सेनालाई दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको समन्वयमा भएको बैठकमा सेनालाई यसको विस्तृत योजना सोमबार पेस गर्न भनिएको छ । ‘सैनिक स्वास्थ्य महानिर्देशनालयले सोमबारको बैठकमा ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउने विस्तृत योजना पेस गर्दै छ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकासँग भने, ‘अहिले हामीसँग उपलब्ध स्थान पर्याप्त छैनन् भन्ने जानकारी सम्बद्ध निकायमा गराइसकेका छौँ ।

सोमबार सम्भवतः यसबारे निष्कर्षमा पुगिएला ।’ आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापा, सैनिक स्वास्थ्य महानिर्देशनालयका प्रमुख उपरथी डा। सुनीलकुमार सिंह, मुख्यसचिव लोकदर्शन रेग्मीसहित सरोकारवालाबीच यसबारे छलफल भएको थियो । डा। सिंहले सोमबार नयाँ आइसोलेसन वार्ड बनाउने विषयमा विस्तृत प्रस्तुतीकरण गरेपछि मन्त्रिपरिषद्बाट निर्णय गराउने सरकारी तयारी छ । सैनिक प्रवक्ता पाण्डेले भने, ‘सरकारले निर्णय गरेर जिम्मेवारी दिएपछि हामी यथाशीघ्र आइसोलेसन वार्ड निर्माण गर्नेछौँ ।’ सेनाले आइसोलेसन वार्ड बनाउन आवश्यक मेडिकल सामग्री, बजेट र समयका विषयमा विस्तृत प्रस्ताव पेस गर्नेछ ।

Related Articles

Back to top button
Close