News

मासिक ८ हजार कि’स्ताबाटै यी चर्चित ४ मोटरसाइकल किन्न सकिने

काठमाडौं । नेपालमा बार्षिक ३ लाख ५० हजार यूनिटभन्दा धेरै मोटरसाइकल बिक्री हुने गरेको छ । यस्तोमा मोटरसाइकल बिक्रेता कम्पनीले आफ्ना उत्पादन बिक्री गर्न विभिन्न स्कीम सार्वजनिक गरिरहेका छन् । विशेषत सबैभन्दा धेरै मोटर साइकल बिक्री गर्नेमा बजाज, होन्डा, यामाहा, टीभीएस जस्ता कम्पनीले आफ्नै हायर पर्चेज कम्पनी मार्फत ग्राहकलाई कर्जा सुविधा प्रदान गर्दै आएका छन् ।

बजाजले आफ्नो हुलास इन्भेष्टमेन्ट, होन्डाले स्याकार इन्भेष्टमेन्ट, यामाहाले एमएडब्ल्यू इन्भेष्टमेन्ट र टीभीएसले जगदम्बा इन्भेष्टमेन्ट मार्फत मोटरसाइकल किन्नेलाई कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । मोटरसाइकल आवश्यक भएका मानिसले आफ्नो कमाई र रुची अनुसारको मोटरसाइकल छनोट गर्न सक्ने छन् । लामो समयदेखि नेपाली बजारमा मोटरसाइकल बिक्री गर्दै ४ कम्पनीका उत्पादन किन्दा कति मासिक किस्ता भुक्तानी गर्नु पर्छ भन्ने जानकारी दिन हामीले यो रिपोर्ट तयार पारेका छौं ।

यहाँ उल्लेख भएका सबै कम्पनीले २४ महिनामा कर्जा भुक्तान हुनेगरि आफ्नो मोटरसाइकलको मासिक किस्ता बनाएका छन् । हामीले यो रिपोर्ट तयार पार्दा कम्पनीले उल्लेख गरेको आधिकारीक मूल्यलाई आधार बनाएका छौं । यसमा लाग्ने अन्य खर्च बीमा रकम समेत मूल्यमा जोडिएको छैन भने कम्पनीले बेलाबखत गर्ने स्कीम वा अफरपनि घटाइएको छैन ।

पल्सर १५० डबल डिस्क : हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको बजाज पल्सर १५० टीडीको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँमा रहेको छ । कम्पनीले यसलाई ४० प्रतिशत डाउन पेमेन्ट पछि ग्राहकलाई मासिक किस्ता बुझाउनु पर्नेगरि कर्जा प्रबाह गर्दै आएको छ । यो मोटरसाइकल किन्न चाहने ग्राहकले १ लाख ६ हजार ७६० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने कर्जा वापत १ लाख ६० हजार १४० रुपैयाँ हुनेछ ।

कम्पनीले १५ प्रतिशत सम्म व्याजदरमा कर्जा दिने भएकाले मासिक ७ हजार ७६४ रुपैयाँ किस्ता वापत तिर्नु पर्ने हुन्छ । पल्सर १५० मा १४९.५ सीसी सिंगल सिलिन्डर ट्वाइन स्पार्क मोटर लगाइएको छ । उक्त इन्जिनले १४ पीएस पावरका साथै १३.४ एनएम टर्क उत्पादन गर्छ ।

यामाहा एफजेड भी ३ : यामा हाको चर्चित मोडल एफजेड भी३ किन्न चाहने ग्राहकले यसको बजार मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । मोरङ अटो वर्कसले यसको बजार मूल्य ३ लाख १८ हजार ९ सय रुपैयाँ तोकेको छ ।यदि तपाई यामाहा एफजेड भी३ किस्ताबन्दीमा किन्न चाहनु हुन्छ भने तपाईले १ लाख २७ हजार ५६० रुपैयाँ डाउन पेमेन्टको रुपमा बुझाउनु पर्छ भने १ लाख ९१ हजार ३४० रुपैयाँ २४ महिने किस्तामा तिर्नेगरि कर्जा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ

यसरी किस्तामा लिदा कम्पनीले १५ प्रतिशत व्याज लिनेछ भने मासिक रुपमा ९ हजार २७७ रुपैयाँ किस्ता वापत बुझाउनु पर्नेछ । यसमा उपलब्ध फ्युल इन्जेक्शन एयर कुल्ड इन्जिनले ८ हजार आर पीएममा १२.९ बीएच पावरका साथै ६ हजार आरपीएममा १२.८ एनएम टर्क उत्पादन गर्छ ।

होन्डा यूनिकर्न : होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले लामो समय बिक्री गरेको यूनिकर्न १५० पछिल्लो समय नेपालमा बिक्री बन्द गरिएको थियो । तर, कम्पनीले आफ्नो वेष्ट सेलिङ मोडललाई पुनः नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले यो मोडलको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

यदि तपाई नयाँ यूनिकर्न किन्न चाहनु हुन्छ भने कम्पनीले ४० प्रतिशत डाउन पेमेन्ट र बाँकी रकम कर्जामा दिनेगरि मोटर साइकल उपलब्ध गराउने जनाएको छ । होन्डाले अन्य कम्पनीको तुलनामा व्याजदरमा फरक गरेको छ । यदि तपाईले तिर्नु पर्ने सबै किस्ता समयमा तिरेको खण्डमा ९.९९ प्रतिशत व्याजमा कर्जा पाउनु हुनेछ । यदि समयमा किस्ता तिर्न नसकेको खण्डमा व्याजदर १५ प्रतिशतसम्म पुग्ने जनाएको छ ।

यसमा आधारित रहेर यूनिकर्न किन्ने ग्राहकले १ लाख ३हजार ९६० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ भने कर्जा वापतको १ लाख ५५ हजार ९४० रुपैयाँलाई मासिक ७ हजार १९५ रुपैयाँको दरले २४ किस्तामा तिरिसक्नु पर्नेछ। कम्पनीले यसमा १४९ सीसी सिंगल सिलिण्डर काब्रुरेटर इन्जिन दिएको छ । उक्त इन्जिनले १२.७३ बीएच पावर प्रदान गर्नेछ ।

आरटीआर १६० फोर भी : जग दम्बा मोटर्सले नेपालमा बिक्री गर्दै आएको टीभीएस आरटी आर १६० फोर भीको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँमा रहेको छ । यसलाई ४० प्रतिशत डाउन पेमेन्ट तिरेर ग्राहकले अन्य रकम किस्तामा तिर्नेगरि खरिद गर्न सक्ने छन् । कम्पनीले किस्तामा आरटी आर १६० फोर भी किन्दा ४० प्रति शत डाउन पेमेन्ट गर्नेलाई १७ प्रतिशत व्याज लाग्ने जनाएको छ भने ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई ० प्रतिशत व्याज दरमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

४० प्रतिशत डाउन पेमेन्ट गर्नेले सुरुमा १ लाख १५ हजार ९६० रुपैयाँ तिर्नु पर्छ भने ५० प्रतिशत डाउन पेमेन्ट गर्नेले १ लाख ४४ हजार ९५० रुपैयाँ जम्मा गर्नु पर्ने हुन्छ । ४० प्रतिशत डाउन पेमेन्ट गर्नेले १ लाख ७३ हजार ९४० रुपैयाँ तिर्नु पर्ने हुन्छ भने मासिक किस्ता वापत ८ हजार ६०० रुपैयाँ तिर्नु पर्छ ।

यदि ५० प्रतिशत डाउन पेमेन्ट गर्ने हो भने १ लाख ४४ हजार ९५० रुपैयाँ कर्जा रकम रहने छ । त्यसलाई १८ महिनामा तिर्दा मासिक ८ हजार ५९ रुपैयाँ तिरे पुग्नेछ । यस मोटरसाइकलमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । उक्त इन्जिनले १६.५ पीएस पावर प्रदान गर्छ ।

Related Articles

Back to top button
Close