Entertainment

‘आमा’को मार्मिक गीत बजारमा

काठमाडौं / मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘आमा’को शीर्ष गीत रिलिज भएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुसालको सङ्गीत रहेको छ ।

सार्वजनिक मार्मिक गीत को भिडियोमा चल अचल दृश्य समावेश गरिएका छन् । दिपेन्द्र के खनाल निर्देशित चलचित्रको गीतमा आमाले आफ्नो सन्तानका लागि गर्ने सङ्घर्षलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

निर्देशक खनालले यो गीतलाई चलचित्रमा कथा वाचनको रूपमा प्रयोग गरिएको बताएका छन् । गीतमा आमाको भूमिका निभाएकी मिथिला शर्माको तर्फबाट ममता र समर्पण अनि प्रेमको सिङ्गो रूप देखाइएको छ ।

‘आमा’को केही समय अघि ट्रेलर सार्वजनिक भैसकेको छ जसलाई दर्शकले निकै मन पराइरहेका छन् । दर्शकले प्रतीक्षा गरिरहेको यस चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुसाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ । ‘आमा’लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् साथै सह-निर्मातामा सन्तोष अधिकारी हुन् ।

Related Articles

Back to top button
Close