News

टेनिस खेल्न नेपाल आएका अस्ट्रेलियाली खेलाडीको निधन

काठमाडौं, १७ माघ । जुनियर टेनिस खेल्न नेपाल आएका अस्ट्रेलियाका एक खेलाडीको निधन भएको छ । बुधबार सातदोबाटोस्थित नेपाल लन टेनिस संघको कोर्टमा अभ्यासका क्रममा १५ वर्षीय केन्ट यामाजाकीको निधन भएको हो। उनी अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ) को छनोट खेल खेल्न नेपाल आएका थिए।
‘कोर्टमा ढलेपछि उनलाई सातदोबाटोस्थित बीएन्डबी अस्पताल लगिएको थियो। अस्पतालमै उनको निधन भएको हो ।

उनी नेपालमा आफ्ना बुवाको साथमा आएका थिए । बुधवार खेलको प्रशिक्षण गर्ने क्रममा उनी बेहोस भएर भुइमा लडेका थिए । ‘अस्पताल पुर्‍याएपछि एक–डेढ घण्टा डाक्टरले प्रयास गरे। तर, पछि निधन भएको घोषणा गरे । उनको निधनको कारण खुल्न नसकेको भए पनि सिजर अट्याक भएर लड्दा भुइँमा ठोक्किएर मस्तिष्कमा चोट लागेको अनुमान चिकित्सकले गरेका छन् ।

घटना लगत्तै टेनिस संघले नेपालस्थित अस्ट्रेलियाली राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् लगायत सरोकारवालालाई यसबारे जानकारी गराइसकेको जनाएको छ । राजदूतावासको पहलमा मृतकको शव अस्ट्रेलिया पठाइने बताइएको छ। अष्ट्रेलिया पर्थका यामाजाकी उदाउँदा टेनिस खेलाडी थिए। कतिपयले उनलाई ‘विलक्षण प्रतिभा’ का रुपमा चित्रित गरेका छन्।

Related Articles

Back to top button
Close