News

अस्ट्रेलियामा भ्रमण वर्षकाे ‘भव्य शुभारम्भ’, केही मिडियाले गलत प्रचार गरे : मन्त्री भट्टराई

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अस्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भव्यरुपमा’ गरिएको बताउनु भएको छ ।
फेसबुकमार्फत उहाँले नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लगायतका सङ्घ र संस्थाको सहयोगमा न्यु साउथ वेल्सका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी गराउनु भएको हो ।

उहाँले मौन जुलुसमार्फत पर्यटन वर्षकाे प्रवर्द्धन पनि गरिएको बताउनु भयो । तर समाचार संस्था साउथ एसिया डट कम ले भने नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि अस्ट्रेलियामा आज हुने तय भएको कार्यक्रम रोकिएको जनाएको छ ।
भट्टराईसमेत सहभागी भएर आज गर्न लागिएको प्रचार कार्यक्रम अनुमति नलिइ गर्न लागिएको भन्दै त्यहाँको सरकारी निकायले रोकेको खबरमा उल्लेख छ । प्रवर्द्धनात्मक तथा व्यावसायिक लाभका लागि कार्यक्रम गर्न लागिएको भन्दै र्‍याली निकाल्न रोक लगाइएको न्यु साउथ वेल्स प्रहरीले बताएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले भ्रमण वर्षको प्रचारको लागि मन्त्री भट्टराई त्यहाँ पुगिसकेकाले सिड्नीमा हुने तय भएको कार्यक्रमको ढाँचा परिवर्तन गरिएको बताउनु भयो ।

डढेलोका कारण अष्ट्रेलिया संकटमा परिरहेको बेला नेपाल भ्रमण वर्षको प्रचारका लागि मन्त्री भट्टराई सिड्नी पुगेपछि उहाँको आलोचनासमेत भएको छ ।

Related Articles

Back to top button
Close