ताजा समाचार

सशस्त्र आईजीपी खनालले बाहिनीपतिहरूलाई दिए यस्तो कडा चेतावनी

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको नीतिविपरीतका क्रियाकलापमा कसैको संलग्नता देखिए कडा कारबाही गरिने चेतावनी दिएका छन्।
उनले मातहतका कुनै पनि सशस्त्र प्रहरी कर्मचारीबाट नीतिविपरीतका कार्य एवं लोभलालचामा परेर कुनै क्रियाकलाप भए ऊसँगै उसको कमान्डरमाथि समेत ‘एक्सन’ लिइने चेतावनी दिएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनबाट नेपाल सरकार तथा गृह मन्त्रालयबाट भएका नीतिगत निर्देशनलगायत संगठनको कार्यक्षेत्रभित्रका विविध विषयमा ‘भिडियो कन्फरेन्स’ मार्फत मातहत सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन एवं चेतावनी दिएका हुन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

‘आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई तपाईंहरूले नियन्त्रणमा राख्दै संगठनको निर्दिष्ट लक्ष्य प्राप्तिमा क्रियाशील रहनुहोला,’ बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘यदि कतैबाट कुनै अवाञ्छित कार्य हुन पुगे प्रचलित कानुनबमोजिम नियन्त्रण गर्नुस्, हेडक्वार्टर सधैं तपाईंहरूको साथमा रहनेछ।’

सशस्त्र प्रहरी बल जनचाहनाअनुरूपको कार्यशैली अपनाउँदै नागरिकले महसुस गर्ने ढंगले दायित्व निर्वाहमा सक्रिय रहेको स्पष्ट पार्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलको कुन युनिटले कस्ता दायित्व निर्वाह गर्नुपर्छ भन्नेबारे संगठनले लिखित एवं मौखिक आदेशमार्फत स्पष्ट परिसकेकाले परिणाममुखी कार्यसम्पादनमा दत्तचित्त भएर लाग्नसमेत निर्देशन दिए । ‘हेडक्वार्टरले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूको काम कारबाहीबारे समेत अनुगमन गरिरहेको’ स्पष्ट पार्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘त्यस्तो पाइएमा तपाईंहरूमाथि समेत हेडक्वार्टरले एक्सन लिन्छ।’

सशस्त्रमा सात प्रदेशमा सात र उपत्यकामा एक गरी आठ जना बाहिनीपति छन्।

Related Articles

Back to top button
Close