ताजा समाचार

नेम्वाङलाई सभामुख र नारायणकाजीलाई अर्थमन्त्री बनाउने ओली-दाहालबीच नयाँ सहमति !

काठमाडौं, २१ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेबारे नयाँ सहमति भएको छ । उनीहरुबीच पछिल्लो समय भएको नयाँ सहमतिअनुसार सभामुखमा पूर्व नेकपा एमालेबाट अहिलेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ल्याउने मोटामोटी सहमति भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कुनैपनि हालतमा नेम्वाङलाई सभामुख बनाउने अडान लिएपछि अर्का अध्यक्ष दाहालले त्यसमा सहमति जनाएका छन् । हुन त यसअघि दाहालले सभामुखमा पूर्व माओवादी केन्द्रबाट बनाईनुपर्ने अडान राख्दै आएका थिए । तर, ओलीले कु्नैपनि हालतमा नेम्वाङलाई बनाईछाड्ने अडान लिएपछि दाहाल सम्झौता गर्न बाध्य भएका छन् ।

तर, उनीहरुबीच भएको नयाँ सहमतिअनुसार नारायणकाजी श्रेष्ठलाई भने उपप्रधान एवम् अर्थमन्त्रीमा ल्याउने तयारी छ । श्रेष्ठले हिजोमात्रै राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै, ओलीले बरु राष्ट्रिय सभाको अध्यक्षपनि पूर्व माओवादी केन्द्रलाई नै दिने तयारी गरेका छन् ।

प्रतिनिधिसभाको बैठक यही पुष २७ गते बस्दैछ । त्योभन्दा अघि सभामुखको नाम टुँगो लगाउनुपर्नेछ । अहिलेसम्म बैठक सर्नुमा नेकपाभित्र सभामुखको उम्मेद्वार चयन गर्न कठिन हुनु नै प्रधान कारण मानिएको छ । नेकपाले सभामुखमा दाबी गर्नेछ । त्यसो हुँदा अहिलेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । संविधानतः सभामुख र उपसभामुख फरक दल र फरक लिङको हुनुपर्ने व्यवस्था छ । श्रोत रिपोटर्स क्लब

यो पनि : स्थायी राजधानी र नाम टुङ्गो लगाउने तयारी

प्रदेश नं ५ को प्रदेशसभाको अधिवेशन आगामी माघ ५ गतेदेखि शुरु हुने भएको छ । प्रदेश स्थापना भएको करिब दुई वर्ष पुग्न लाग्दा आउँदो प्रदेशसभाको अधिवेशनमा प्रदेशसभाले स्थायी राजधानी र नाम टुङ्गो लगाउने तयारी गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले आगामी अधिवेशनमा प्रदेशसभाको विशेष समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत हुने र छलफलपछि प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाइने आज मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताए।

उनले प्रदेश टुक्र्याउने भन्ने कुरा संविधान संशोधनको विषय भएकाले प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या रहेका बाँके र बर्दियाका थारु समुदाय अल्पमतमा पार्न अर्को प्रदेशमा मिसिन सहमत नहुने स्पष्ट पारे । मन्त्री चौधरीले आउँदो अधिवेशनमा सरकारका तर्फबाट पर्याप्त गृहकार्य गरी आवश्यक कानून निर्माणका लागि विधेयक तयारी अवस्थामा राखिएका जानकारी दिए ।

यस्तै आजको मन्त्रिपरिषद्को बैठकले प्रदेश स्थापना दिवसको अवसर पारेर आगामी फागुन १० देखि १२ गतेसम्म प्रदेश स्थापना एक्स्पो आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए। उक्त कार्यक्रम दाङको बेलझुण्डीमा आयोजना गरिने र कार्यक्रममा प्रदेश सरकारले गरेका सूचना, कृषि, यातायातलगायत नवीनतम प्रविधिसम्बन्धी जानकारीमूलक विषय राखिने छन् ।

प्रदेश सरकारले यस वर्ष पनि प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या भएको थारु र मगर समुदायले मनाउने माघेसङ्क्रान्ति पर्वमा आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने तथा यही पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाइने प्रवक्ता चौधरीले जानकारी दिए ।

त्यस्तै बैठकले प्रदेश वन निर्देशनालयमा कायम मुकायम वन निर्देशक मुकरर गर्ने निर्देशकमा रुपन्देहीका इन्द्रप्रसाद पछाईलाई निमित्त निर्देशकको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।

त्यसैगरी बैठकले प्रदेश चलचित्र निर्माण, प्रदर्शन तथा वितरणसम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणा पत्रसमेत स्वीकृत गर्नुका साथै प्रदेश पदक नियमावली २०७६ लाई समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको सङ्गठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ ।

Related Articles

Back to top button
Close