News

राष्ट्रिय सभाका १८ जना सदस्यका लागि आज मनोनयनपत्र दर्ता, कुन दलबाट को उम्मेदवार ?

काठमाण्डौ – आउँदो माघ ९ गते हुने राष्ट्रिय सभाका १८ जना सदस्यको चुनावका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ
सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्लामा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको रसिद वा बैंक भौचर तथा प्रस्तावक र समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ ।

राष्ट्रिय सभाका ५९ जना सांसदमध्ये एकतिहाइको दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १९ जना सांसदको पदावधि आउँदो फागुन २० गते सकिँदैछ । जसमध्ये एक जनालाई राष्ट्रपतिले मनोनयन गर्ने भएकाले बाँकी १८ जनाका लागि चुनाव हुन लागेको हो ।

चुनावमा गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिका मेयर÷उपमेयर र प्रदेश सभाका सदस्यले मतदान गर्न पाउँछन् । यो चुनावबाट महिला र अन्य समूहबाट सात–सात जना तथा दलित र अल्पसङ्ख्यक समुदायबाट दुई–दुई जना निर्वाचित हुने आयोगले जनाएको छ । चुनावका लागि दलहरुले उम्मेदवार चयन गरिसकेका छन् ।

कुन दलबाट काे उम्मेदवार ?

सत्तारुढ नेकपाले प्रदेश नम्बर १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गङ्गा बेलबासे र वेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, प्रदेश ५ बाट विमला घिमिरे र जगप्रसाद शर्मा र गोपाल भट्टराई, कर्णाली प्रदेशबाट सुनिता बिसी र मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

काङ्ग्रेसले प्रदेश १ मा निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरे प्रदेश २ मा नागिना यादव र भोला पन्जियार प्रदेश ३ मा हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा र सूर्यप्रसाद रेग्मी, कर्णाली प्रदेशमा विमला गौचन, प्रदेश ५ मा बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवाई, कर्णाली प्रदेशबाट डिल्लिराम पाठक र सवित्रा पौडेल, सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, राजपा नेपालले प्रदेश २ मा मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई र सङ्घीय समाजवादी पार्टीले रामप्रीत पासवानलाई नै उम्मेदवार बनाउने भएको छ । उहाँ अहिले पनि राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । प्रदेश नम्बर २ मा नेकपाले राष्ट्रिय जनता पार्टीसँग र काङ्ग्रेसले सङ्घीय समाजवादी पार्टीसँग तालमेल गर्ने भएका छन् ।

Related Articles

Back to top button
Close