News

पृथ्वीनारायण शाह काठमाडौँमा हिँडेको बाटोमा नेपाली सेनाले सुरु गर्यो पदयात्रा

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा लिएर बाजागाजासहित ४० जनाको टोली राष्ट्रिय झण्डा, टर्चसहित पदयात्रामा निस्किएका छन् । गोरखा दरबारको हुनमान भञ्ज्याङबाट सुरु भएको पदयात्रा आगामी २७ गते काठमाडौंमा आएर टुंगिनेछ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ । रणसिंह दल गणका गणपति उज्ज्वल केसीका अनुसार टोली गोरखाको जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै शुक्रबारै बोर्लाङघाटमा बास बस्छ ।

धादिङको टोलीले उक्त टर्च र झण्डा नुवाकोटको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ । काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ । पदयात्रामा निस्किएको टोलीमा पृथ्वीनारायण शाहकालीन पोशाक लगाएका सेनाहरु पनि सहभागी छन् । टोलीको नेतृत्व रणसिंह दल गणका क्याप्टेन इन्द्रबहादुर खत्रीले गरेका छन् ।

पदयात्रा शुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो । नेपाली सेनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले संयुक्त रुपमा क्याप्टेन खत्रीलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

Related Articles

Back to top button
Close