News

दुर्गा प्रसाईंले बनाएको नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ आज देखि सञ्चालनमा

–विष्णु नेपाल÷सुरेन्द्र भण्डारी

“कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।” डा वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई सम्झाउनुभयो ।

विर्तामोड– ८ गरामुनिका २९ वर्षीय मिश्रले बरर आँखाबाट आँशु झार्नुभयो । “म यहीँ छु । मेरो त घाँटी नै काटिएको थियो । मलाई एकपटक हेर त ! ?” समाजसेवी दुर्गा प्रसाईंले उहाँलाई आँशु पुछिदिँदै थप सान्त्वना दिनुभयो ।

युवापुस्ताका चर्चित क्यान्सररोग विशेषज्ञ डा यादवका अनुसार मिश्रलाई ठूलो आन्द्रामा क्यान्सर पुष्टि भएको थियो । क्यान्सरका सेललाई नष्ट गर्न पहिलो पटक ‘रेडियोथेरापी’ दिइँदै थियो । उनलाई ‘ट्र्युब विन लाइनर एक्सिलेटर’ अत्यधुनिक उपकरणमार्फत रेडियसन दिएको थियो ।

अमेरिकामा निर्मित अत्याधुनिक सो उपकरण संसारका उत्कृष्ट कहलिएका अस्पतालले प्रयोगमा ल्याएका छन् । “रेडियसन दिने पछिल्लो पुस्ताको आधुनिक उपकरण जुनदेशमा गए पनि उही हो”, डा यादवले भन्नुभयो । भारतको मेदान्त क्यान्सर अस्पताल छाडेर केही गरौँ भन्ने भावनाका साथ उहाँ स्वदेश फर्किनुभएको थियो । पूर्वाञ्चलमा क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा जोड्नुभएको थियो ।

अस्पतालले बुधबारदेखि औपचारिकरुपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । पहिलो दिन २७ जना बिरामीले थेरापीका लागि नाम दर्ता गराउनुभएको छ । “यो हाम्रो सेवा दिने अवसर हो, सेवामा केही कमि रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका गए पनि पाउने सुविधा यही हो ।” अस्पतालमा मेडिकल निर्देशकसमेत रहनुभएका यादव भन्नुहुन्छ ।

बिएण्डसी अस्पताल हाताभित्र निर्माणाधीन आधुनिक भवनमा अस्पतालले ‘मुस्कुराउँछ नयाँ जीवन…’ भन्ने नाराका साथ सेवा थालनी गरेको हो । सेवा सञ्चालनमा आएपछि पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएका बताइको छ ।

क्यान्सर पहिचान तथा उपचारका लागि उपचारका लागि आवश्यकपर्ने सबै प्रकारका उपकरण अस्पतालले केही सञ्चालनमा ल्याइसकेको छ । केही द्रुत गतिमा जडान कार्य जारी राखेको छ । ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाउने अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुहुन्छ ।

पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्रमा ट्युरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडाँै उपत्यका बाहिर पहिलो पटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ ।

अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्यमात्र करिव एक अर्बभन्दा माथि र समग्र अस्पतालको पूर्वाधारमा रु चारअर्ब खर्च हुने जनाइएको छ ।

“क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३०० शै्ययाको अस्पताल सञ्चालमा ल्याउने लक्ष्य रहेको छ । शुरुआत १०० श्ययाबाट भएको छ । झापालाई ‘मेडिकल हब’ बनाउने मेरो सपना छ । ”, अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका प्रसाईं भन्नुहुन्छ ।

भारतमा उहाँले केही वर्ष अगाडि घाँटीको क्यान्सरको उपचार गराउनुभएको थियो । “मेरो पीडा जस्तो अरुले खेप्न नपरोस् । समयमा उपचार पाएर पो म कालको मुखबाट बाँचे नत्र । यसपछि सबैकुरा त्यागेर देशलाई क्यान्सर मुक्त बनाउने अभियानको आधार तयार गर्न दृढतले लागेँ”, उहाँले आफ्ना भोगाई सुनाउनुभयो ।

पछिल्लो समय मेदान्त तथा राजिवगान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो सङ्ख्यामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती दुई अस्पतालमा मात्र वर्षेनी कति नेपाली क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्याङ्क छैन । झापा जनस्वास्थ्य स्वास्थ्य कार्यालयबाट गत वर्षमात्र ४०० क्यान्सर रोगीले सिफारिस लिएका थिए ।

नेपालमा वर्षेनी विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् । ७० प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठिक उल्टो रहेको छ ।

रिफर होइन, रिफरल अस्पताल

बिएण्डसी अस्पतालका मेडिकल निर्देशक प्राडा निराजन पराजुली जनशक्ति, उपकरण र पूर्वाधारका दृष्टिकोणले अस्पताल उत्कृष्ट रहेको दाबी गर्नुहुन्छ । “काठमाडौँका अस्पतालले मात्र होइन छिमेकी देशका अस्पतालले दिने स्वास्थ्य सेवा प्रदान गरेका छौँ । क्यान्सरलाई मात्र रिफर गर्नुपर्ने अवस्था थियो, यो पनि अन्त्य भयो”, वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा डा पराजुली भन्नुहुन्छ ।

गत वर्ष उहाँको नेतृत्वको चिकित्सक टोलीले करिब १५ घण्टाभन्दा बढी समय लगाई चटक्कै छिनेको खुट्टाको सफल शल्यक्रिया गरेको थियो । अस्पतामा अन्तरङ्ग तथा आकस्मिक सेवा लिन विशेष गरी झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीको चाप अत्यधिक रहेको छ । गत वर्षमात्र पाँच लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ ।

स्त्रीरोग क्यान्सर विशेषज्ञ प्राडा ज्ञयनाथ बराल भन्नुहुन्छ, “चिकित्सकले सिकेको ज्ञानलाई उपकरणमार्फत सेवा दिने हो । उपकरण नभई सेवा दिन सकिँदैन । क्यान्सरका लागि त उपकरण विना केही गर्न सकिन्न । यहाँ अति आवश्यक सबै उपकरण रहेको छ । उपकरणविन ज्ञानको अर्थ रहँदैन । दुवै अस्पतालको शल्यक्रिया कक्षसहित सघन उपचार कक्ष संसारका अस्पतालका भन्दा कम रहेका छैनन् ।”

उहाँले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पताल तथा परोपकार स्त्रीरोग थापाथली अस्पतालमा लामो समय चिकित्सा शिक्षा र सेवामा बिताउनुभएको थियो । “मेरो कार्यस्थल नेपाल र नेपाली हुन, बिरामी निको भई खुशी भएमात्र चिकित्सक सफल हुने हो । काठमाडाँै मात्र नेपाल होइन नी !”

प्रा डा पङ्कज नेपाल आधुनिक आवश्यक सबै उपकरण र जनशक्तिसहित काठमाडाँै बाहिर क्यान्सर अस्पताल सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पूर्वाञ्जल क्यान्सर अस्पतालले बिरामीको गुणस्तरीय सेवालाई केन्द्रबिन्दुमा राखेको छ ।”रासस

Related Articles

Back to top button
Close