News

नेपाललाई दिने सैन्य सहयोगमा चीनले अमेरिकालाई उछिन्यो, कति आयो सहयोग?

नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको छ।

नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जंगीअड्डा स्रोतबाट प्राप्त तथ्यांकमा देखिएको खबर आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन्।

यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हाराहारी सहयोग भित्रिएको छ।
नेपालले सैन्य सहयोगका रूपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, बम निष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुंगा, हतियार, विस्फोटक पदार्थ, संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।

सुरक्षाविद् गेजा शर्मा वाग्ले नेपाली सेनालाई चीनको सहयोग बढ्दै जानुलाई स्वाभाविक मान्छन् ।

‘नेपालका सुरक्षा निकायहरूलाई आर्थिक, प्राविधिक र सैन्य सहयोग गरेर आफ्नो सुरक्षा चासोलाई सम्बोधन गर्ने शक्ति राष्ट्रहरूको घोषित रणनीति नै छ,’ उनले भने, ‘त्यही कारण हरेक वर्ष उदीयमान शक्ति चीन, अर्को छिमेकी भारत र महाशक्ति अमेरिकाले नेपालका सुरक्षा निकायलाई सहयोग बढाउँदै लगेका छन् । यो नेपालमा भएको उनीहरूको सामरिक प्रतिस्पर्धाको प्रतिविम्ब पनि हो ।’

उनीहरूले सुरक्षा निकायलाई सहयोग गरेर आ–आफ्नो देशको चासो सम्बोधन गर्ने रणनीति अख्तियारी गर्दै आइरहेको वाग्लेको भनाइ छ ।

चीनले ०७२ सालमा नेपाललाई करिब ८० करोड रुपैयाँ बराबरको मेडिकल सामग्री दिएको थियो । त्यही वर्ष ९७ करोडको मोबाइल फिल्ड अस्पताल र एक अर्ब ३१ करोड रुपैयाँको यूएनको शान्ति स्थापनार्थ प्रयोग गर्न एपीसी, टेन्ट र सञ्चारका सामग्री नेपाली सेनाले चीनबाट पायो ।

०७४ सालमा एपीसी, ‘चार बाई चार इन्धन’ ट्यांकर र ट्रकहरू सेनाले पायो । जसमा गाडी २०, रेडियो सेट ५१ र वाटर ट्यांकर ३ वटा थिए । त्यसको मूल्य करिब ३ अर्ब ८० करोड थियो । ती सामान सम्झौताको दुई वर्षपछि सन् २०१९ मा चीनबाट नेपाल आइपुगेका थिए।

यसैगरी, प्रधानसेनापति पूर्णचन्द्र थापाले गत वर्ष चीन भ्रमणका दौरान बेइजिङमा ह्युमन एसिस्टेन्ट र विपद् व्यवस्थापनका लागि भनेर गाडी, ईओडी (बम डिस्पोज) गर्ने मेसिन, इन्जिनियरको सामग्री, विपद् पर्दा आवश्यक मेडिकल सामग्रीको सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौताअनुसार सेनाले चीनबाट करिब २ अर्ब ४७ करोडको सहयोग पाएको छ ।

यस्तै, ०७६ सालमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका बेला नेपालले करिब २ अर्ब ४७ करोडको सैन्य सामग्री पाउने सम्झौतामा हस्ताक्षर गरेको छ।

Related Articles

Back to top button
Close