News

नेपाल प्रवेश गर्‍यो शक्तिशाली पश्चिमी वायु, बुधवार र विहिवार विशेष सतर्क रहन मौसमविद्को सुझाव

काठमाडौं, १६ पुष । केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको मौसमविदले जनाएका छन् । जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली सोमबार बेलुका नेपाल प्रवेश गरेको हो। ‘यो अलि बलियै खालको प्रणाली रहेको मौसमविद मञ्जुको भनाई छ । यसले अलि दिन राम्रै प्रभाव देखाउने भएकाले बुलेटिन प्रकाशन गरेर जानकारी गराउने उनले बताइन् ।

यो प्रणाली बुधबार अझै सशक्त हुने मौसमविद् मञ्जु बासीको भनाई छ । बुधबार देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना छ। उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशभर बदली भई तापक्रममा गिरावट आई देशैभर चिसो बढ्ने उनले बताइन्।

साथै यस प्रणालीका कारण बुधबार र बिहीबार देशका पश्चिमी भूभागका धेरै स्थान र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले विशेष बुलेटिन नै जारी गर्दै भनेको छ उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने र तापक्रममा गिरावट पनि हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारणलगायत सबैमा अनुरोध गरिन्छ।

मौसमविद्का अुनसार वर्षा याममा पूर्वी र हिउँद याममा पश्चिमी वायु चल्छ। यस हिसाबले अहिले हिउँदको समयमा पश्चिमी वायु जहिले चलिरहेको हुन्छ। खासमा भित्रिने भनेको चाहिँ यस वायुबाट विकास हुने पश्चिमी न्यून चापीय प्रणाली हो।

हुस्सुरकुहिरोका कारण केही दिनदेखि घामको मुखसमेत देख्न नपाएका तराईवासीले भने यो मौसमी प्रणालीबाट केही राहत पाउने भएका छन्। यि दुई दिन तराई क्षेत्रमा हुस्सु र कुहिरो हट्ने छ । पेश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अन्य स्थानसँगै काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। ‘बिहीबार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ, तर एकदम कम छ,’ मौसमविद् मञ्जु बासीले भनिन्, ‘शनिबार भने वर्षाको एकदमै धेरै सम्भावना छ।’ मुलुकभर बढेको चिसोका कारण तराईका जिल्लामा केही दिन विद्यालय समेत बन्द गरिएका छन् । सर्वसाधारणहरुलाई घर बाहिर निस्केर दैनिकी काम गर्न समेत अप्ठेरो भएको छ ।

Related Articles

Back to top button
Close