News

जनप्रतिनिधिले बिगारे एम्बुलेन्स महिलाले बाेकेरै पुर्‍याउछन् बिरामी र सुत्केरीलाई स्वास्थ्यचाैकी

जुम्ला, १५ पुष । जुम्लाका गाउँहरुमा अचेल महिला मात्रै भेटिन्छन्, पुरुषहरु सबै भारतका विभिन्न शहरमा काम गर्न गएका छन् । गाउँघरमा बिरामी हुँदा र सुत्केरी हुँदा सजिलो होस् भनेर सिञ्जा गाउँपालिकाले बैशाखमा किनेको एम्बुलेन्स ४ महिना जनप्रतिनिधिले मात्र चढेर बिग्रेपछि आजसम्म सम्बन्धित निकायले मर्मत नगर्दा सिञ्जा क्षेत्रका बासिन्दालाइ असहज भएको छ । सोमबार सिञ्जा गाउँपालिकाको वडा नं- २ की एक महिलालाई सुत्केरी व्यथा लागेको ४ घण्टासम्म एम्बुलेन्सको पर्खाइमा घरमै राखियो । तर एम्बुलेन्स बिग्रेको थाहा पाएपछि गाउँकै महिलाहरुले स्टेचरमा बोकेरै एक घण्टा टाढाको नराकोट स्वास्थ्य चौकीमा पुर्याइएको थियो ।

गत बैशाखमा किनेको एम्बुलेन्स जनप्रतिनिधिले चढ्ने गरेकाले छोटो समयमै बिग्रेको स्थानीय धिर बहादुर शाहीको गुनासो छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले एउटा स्करपियो गाडी र ८ ओटा मोटरसाइकल हाल प्रयोग गरिरहेका छन् । तर बिरामी बोक्ने नयाँ एम्बुलेन्स बिग्रेको ३ महिना बितिसक्दा पनि वास्ता गरेको देखिँदैन । जनप्रतिनिधिका आफन्त र गाउँपालिका कर्मचारिले प्रयोग गर्छन तर हिउँदमा महिलाहरुको यो बिजोग हुँदा पनि आफुहरुलाइ काम नलागेको सुत्केरी महिला बोकेर आएकी वडा नं- २ की एक महिलाले गुनासाे गरिन् ।

पहिले पहिले मोटरबाटो नपुग्दै ३/४ जना पुरुष बिरामी हेरचाहका लागि हिउँदमा गाउँमा बस्ने गर्थे । मोटरबाटो पुगेको र गाउँपालिकामै एम्बुलेन्स भएकाले ढुक्क भएर बसेका महिलाहरु दैनिक जसो बिरामी बोकेर स्वास्थ्यचौकी पुग्ने गरेका छन् । गाउँघरमा कोही बिरामी परे महिलाहरुले नै बोकेर गाउँपालिकाको कार्यालय हुँदै स्वास्थ्यचौकीतर्फ लगिरहेमा हुन्छन् ।
गाउँपालिकाका जनप्रतिनिधिको ध्यान वार्षिक बजेट बाँडफाड गर्ने कामभन्दा अन्यत्र जान नसकेको स्थानीयकाे गुनासो छ । जनताको स्वास्थ्यप्रति स्थानीय सरकार गैरजिम्मेवार रहेको उनीहरू गुनासाे गर्छन् । तत्काल एम्बुलेन्सको विषयमा कार्यपालिका बैठकमा कुरा राखेर हप्तादिनभित्रमा एम्बुलेन्स बनाइने सिञ्जा गाउँपालिका वडा नं- १ का अध्यक्ष रणबहादुर रोकायाले बताए । यो एम्बुलेन्स नेपाल सरकारको राजस्व छुटमा सिञ्जा गाउँपालिकाले खरिद गरेको थियो ।

Related Articles

Back to top button
Close