News

नगद सहयोग र श्रमदानले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र

चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्नेहरु थपिँदै गएका छन् । कसैले नगद र कसैले श्रमदान गरेर सहयोग गर्दै आएका छन् ।

आइतबार नेपाल पर्यटन तथा होटल व्यवसायी संघ प्रदेश नं. २ को संयोजनमा संकलन गरिएको ७ लाख ८० हजार रकम संघका अध्यक्ष हिरालाल गौतमले रंगशाला निर्माणको नेतृत्व लिइरहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका छन् ।

यसैगरी तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजनमा जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुबाट ७ लाख ३४ हजार ८ सय २३ रूपैयाँ संकलन गरी फाउन्डेसनको बैंक खातामा जम्मा गरिएको थियो ।

जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले श्रमदान पनि गर्ने गरेका छन् । जिल्लाका आमा समूह, सहकारी संस्था, टोल विकास संस्थाहरुले पनि नाचगान र भजन किर्तनसहित नगद सहयोग गर्दै आएका छन् । भ्युटावरमा चढेर रंगशाला निर्माणको काम अवलोकन गर्नेहरुबाट पनि अर्थ संकलन भइरहेको छ ।

रंगशालामा शनिबार र सार्वजनिक विदाको दिन भ्रमण गर्ने र तस्वीर खिच्नेको भीड लाग्ने गरेको छ । रंगशालामा पछिल्ला दिनमा थपिएको सहयोग र चासोले आफूमा थप ऊर्जा थपिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) बताउँछन् ।

क्रिकेट रंगशालामा अहिले पिच र शेरवालको काम सँगसँगै अघि बढेको छ । पीसीसी ढलान सकेर सेरवालको भित्री भाग उठाउने काम भएको छ भने बाहिरी भागको काम हुँदैछ । मैदानमा परेको पानीको शुरुमा ६० प्रतिशत पानी जमिनमा सोस्ने र बाँकी ४० प्रतिशत ड्रेनमा जम्मा हुने गरी डिजाइन गरिएको छ ।

Related Articles

Back to top button
Close