News

नेकपाको सचिवालय वैठकमा पहिलो पटक देखियो फरक दृष्य, प्रचण्डलाई ओलीले दिए बराबरको हैसियत

काठमाडौं, १३ पुष । पार्टी सञ्चालनको जिम्मेवारी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आइतवार भएको पार्टी सचिवालय बैठकमा फरक अनुभव गर्न पाए । आइतवार प्रधानमन्त्री निवास वालुवाटारमा जारी नेकपाको सचिवालय बैठकमा अरुभन्दा फरक दृश्य देखिएको छ। संधै वैठकको नेतृत्व गर्दै वैठकको अगाडी बस्दै आएका प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसंगै अर्का अध्यक्ष प्रचण्ड पनि देखिए । अगाडीको सिटमा यस अघिका बैठकमा ओली मात्र देखिदै आएका थिए ।

आइतवार जारी सचिवालय बैठकमा भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेउमै राखे । यसअघि अध्यक्ष ओली मात्रै अघिल्तिर बस्थे भने दायाँबायाँको सोफामा प्रचण्ड र अत्य नेताहरु बस्दै आएका थिए । बैठकको उपस्थिति हेर्दा नेकपामा एउटै मात्रै अध्यक्ष ओली हुन् की भन्ने जस्तो देखिन्थ्यो ।

पुरानो भवन छाडेर नयाँ भवनमा सरेपछि पहिलोपटक बसेको सचिवालय बैठकमा ओली र दाहाल एउटै लहर र एउटै आसनमा बसेको देखिएपछि दुई अध्यक्षको भान भएको हो । दुई अध्यक्ष बस्ने कुर्सीको साइज र रङ एउटै छ।

सोफाको एकातिर वरिष्ठ नेता माधवुकमार नेपाल छन् भने सँगै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई राखेको देखिन्छ । अर्को सेतै रङको सोफामा झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेललाई लहरै बसेको देख्न सकिन्छ ।

अर्का अध्यक्ष प्रचण्डलाई ‘कार्यकारी अध्यक्ष’ को जिम्मेवारी दिए पछि पहिलो पटक यस्तो दृष्य देखिएको हो । बैठकसमेत सञ्चालनको अध्यक्षता गर्न दिएका ओलीले पहिलोपटक आसनमार्फत् ‘बराबरी हैसियत’ दिएको देख्न सकिन्छ । आइतवारको सचिवालय बैठकमा नारायणकाजी श्रेष्ठ भने उपस्थित भएनन् ।

जारी बैठकमा २३ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारी, अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लगायत विषयमा छलफल हुनेछन्। बालुवाटारस्थित प्रधानमन्त्री निवास भत्काएपछि मुख्य सचिवका लागि बनाइएको निवासमा सरेका प्रधानमन्त्री ओलीले पहिलोपटक सचिवालय बैठक बोलाएका हुन्। आइतवारको बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने र त्यसको राजधानी हेटौंडा राख्ने निर्देशन दिएको छ । तर सहमति जुट्न नसकेको सभामुख पदको टुंगो लगाउने र एमसिसीका विषयमा भने बैठकमा छलफल नै भएन ।

Related Articles

Back to top button
Close