News

सेनेटरी प्याड बनाउन विद्यालयहरुमा तालिम

डोटी,पौष- १२।
डोटीको जोरायल गाउँपालिकाका विभिन्न विद्यालयहरुमा अध्ययनरत बालिकाहरुलाई महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड बनाउने तालिम दिन थालिएको छ ।
युनाईटेड मिसन टु नेपाल डोटी क्लस्टरको सहयोगमा अपाङ्ग सेवा संघ डोटीले पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम दिन लागेको हो ।

अपाङ्ग सेवा संघले जोरायल गाउँपालिकामा सञ्चालन गरिरहेको समुदायमा आधारित पुनःस्र्थापना (सिबिआर) परियोजना क्षेत्रका विभिन्न विद्यालयहरुमा तालिम दिन लागिएको परियोजना संयोजक भोज मल्लले जानकारी दिए ।
महिनाबारी हुने बालिकाहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने सिप प्रदान गरी उनिहरुले परिवार तथा समुदायमा रहेका महिला तथा अपाङ्गता भएका बालिकाहरुलाई समेत सिप सिकाउन् र उचित व्यवस्थापन गरुन् भन्ने उद्धेश्यले तालिम दिईएको मल्लले बताए ।
गाउँपालिकाभित्रका १२ जना अपाङ्गता भएका बालिका सहित करिब ६० जना बालिकाहरुलाई उक्त सिप प्रदान गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

जस अन्तरगत पौष ९ गते जोरायल गाउँपालिका ४ लक्ष्मीनगरको देउथलामा रहेको महासरस्वती माध्यमिक विद्यालयमा, पौष ११ गते जोरायल गाउँपालिका ३ सरस्वतीनगरको शिवपुर माध्यमिक विद्यालय चन्कट्टे र रत्न आधारभुत विद्यालय रावतकट्टेमा एक दिवसिय तालिम सम्पन्न भएको जनाईएको छ ।

तालिममा अपाङ्ग सेवा संघका सामाजिक परिचालक यशोदा योगी र प्रत्येक विद्यालयमा रहेका तालिम प्राप्त महिला श्रोत शिक्षकले प्रशिक्षार्थीहरुलाई सिप सिकाईरहेका छन् ।
यो तालिम विद्यालयका साथै दुरदराजमा गाउँघरका महिला महिलाहरुका लागि समेत आवश्यक रहेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताईन् ।

यस लगत्तै जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरमा रहेको घण्टेश्वर मा.वि. र वडा नं. २ छतिवनको रामपुर माध्यमिक विद्यालयमा पनि तालिम सञ्चालन गर्ने योजना रहेको अपाङ्ग सेवा संघले जनाएको छ ।

Related Articles

Back to top button
Close