Health

६९ वर्षसम्म बिरामीको उपचारमा सक्रिय बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.पिया

काठमाडौं-‘हाम्रो दिमागले काम गरिरहेको छ, शरीरले पनि साथ दिएको छ भने हामीले बिरामीको सेवा किन नगर्नु ? डाक्टरले बिरामी जाँच्न छाड्यो भने त निष्क्रियताले जीवन नि सक्किन्छ’, यो भनाई ६९ वर्ष पार गरिसकेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.मदन पियाको हो ।

सेतै पुलेको कपाल । केही चाउरिएको तर हसिलो अनुहार लिएर डा.पिया आज पनि क्यान्सर र छाती रोगका बिरामीको उपचार गर्छन् । बिरामीलाई लागेको रोगबारे परामर्श गर्छन ।
‘यो उमेरमा पनि यति धेरै सक्रियाता कहाँबाट जाग्छ ?’ हाम्रो प्रश्नमा डा.पिया मुस्कुराउँदै भन्छन्, ‘म एकछाक मात्र खाना खान्छु, बेलुकामा । तर बिहान दिउँसो चिया कफि र फलफुल तथा ड्राइ फुडहरु मिलाएर खान्छु । तर खाना ३ वर्षदेखि एकछाक मात्र खाने गरेको छु ।’

क्यान्सर रोगका चिकित्सक भन्ने वित्तिकै डाक्टर मदन पियाको नाम पहिलो नम्बरमा आउँछ । डा. पिया नेपालकै पहिलो क्यान्सर रोग विशेषज्ञ समेत हुन् ।

६९ वर्ष पार गरिसकेका पिया अझैपनि चिकित्सा क्षेत्रमा सक्रिय छन् । डा.पिया विहान ९ देखि ५ बजेसम्म काठमाडौं अस्पताल र नेसनल क्यान्सर अस्पतालमा बिरामी जाँच्न व्यस्त हुन्छन् ।

‘बिहान ९ बजे काठमाडौं अस्पतालमा जान्छु, नेसनल क्यान्सर अस्पतालमा १२ देखि ४, ५ बजेसम्म बस्छु,’ डा.पियाले आफ्नो दैनिकी सुनाए, ‘अस्पताल आउन म बिहान ६ बजे उठेर, चिया वा कफी खान्छु । नुहाएर ४५ मिनेट जति घरमै एक्ससाइज गर्छु । त्यसपछि ९ बजे अस्पताल पुग्छु ।’

डा.पियाको समय अस्पतालमा मात्र होइन अन्य क्यान्सर रोगको सचेतना र सामाजिक कार्यमा पनि सक्रिय छ । उनको सक्रियतालाई देखेर नै ललितपुर महानगरपालिकाले डा.पियालाई हेल्थ एड्भाइजर बनाएको छ । डा.पिया आफ्नै घर ललितपुर – १४ मा रहेको सामुदायिक विकास केन्द्रमा पनि आवद्ध छन् ।
सहज भएर एमबीबीएस पढाइ

डा.पियाको आजको सक्रियता र चिकित्सा क्षेत्रमा उनको उचाइलाई बाहिरबाट नियाल्नेहरु उनको काम देखेर अचम्मित हुन्छन् । चिकित्सा शिक्षाको अध्ययन आर्थिक हिसाबले उनका लागि असहज थिएन । तरपनि डा.पियाले एमबीबीएस अध्ययनमा धेरै आरोह अबरोहको सामना गर्नुपर्‍यो ।

तनहुँको बन्दिपुरका ठूला व्यापारिका छोरा हुन् डा.पीया । ४ वर्षकै उमेरमा कखरा सिकेका डा.पियाले त्यतिबेला सिलेट(ढुङ्गामा कोर्ने)बाट कखरा सिकेका हुन् । त्यतिबेला अहिलेको जस्तो कलम किताब र कापी छानिछानी पाइने अवस्था थिएन ।

‘हामीले पढ्न शुरु गर्दा अहिलेको जस्तो कापी कलम थिएन, सिलेट भन्छ नि ढुंगाको सिलेटमा कखरा सिकेको हो ।’ डा.पियाले कखरा सिकेको संम्झिए, ‘घरमा काका ठूलोबुबा, बुबाहरुले पढ्दा इन्करेज गर्ने, ‘ए उसले त कखरा जान्दो रैछ, कसरी खेल्ने भन त भन्दै हौसला दिनुहुन्थ्यो, हामी मख्ख पर्दे लेखेरे देखाउथ्यौं ।’

९ कक्षासम्म बन्दिपुरमै पढेका डा.पियाले काठमाडौंको क्षेत्रपाटीमा रहेको जेपि हाइ स्कुलबाट एसएलसी दिएका हुन् ।

सहज भएन मेडिकल यात्रा

व्यापारिक परिवारका पियालाई स्कुल पढ्दा देखि नै ‘राम्रोसँग पढेन भने पसलमा बस्नुपर्छ’ भनेर दवाव दिइन्थ्यो ।
त्यसैले पनि पियालाई व्यापारी हुनुभनेको सजाय भोग्ने काम हो भन्ने लागेको थियो । स्कुलमा शिक्षकले के भन्ने भन्दा ‘डाक्टर बन्ने’ पियाको मुखबाट फुत्किएको शब्द थियो ।

तर स्कुलमा खेलमा रमाएको देख्दा केही शिक्षक भने उनलाई भन्थें,‘ तैले पढ्दैनस्, व्यापारिको छोरा त पनि व्यापरी नै बन्छस् ।’

शिक्षकको यो भनाइ उनलाई ठीक लाग्दैन थियो । तर व्यापारिको छोरा भन्दै गाउँघरमा पाएको सम्मानले भने पियालाई कहिलेकाँही व्यापारी नै बनौं कि भन्ने पनि नलागेको होइन । यसरी आफ्नो सपनाप्रति विचलित भएको देखेपछि स्कुलका चिजकुमार श्रेष्ठ नाम गरेका शिक्षकले उनलाई सम्झाए ।

‘साइन्स, म्याथ पढ्दा पनि पछि डाक्टर बन्न मन नलागे, व्यापारमा पनि काम लाग्छ, तिमी साइन्सनै पढ्नुपर्छ’ पछि पढ्न मन नलागे छोड, तर अहिले त पढ,’ शिक्षक श्रेष्ठले दिएको त्यो प्रेरणा पियाको लागि सुनौलो भविष्यको ढोका देखाउने स्रोत बन्यो ।

उनले साइन्स नै पढ्ने र पछि डाक्टर बन्ने सपना देखे । तर सपना देखेर मात्र मेडिकल शिक्षा पढ्न कहाँ सहज थियो र । पिया सन् १९०६५ मा सेकेन्ड डिभिजनमा एसएसली पास गरेपछि त्रिचन्द्र क्याम्पसमा साइन्स पढे ।

त्रिचन्द्रमा साइन्स पढेका पियाको आइएसीमा राम्रो नम्बर आएन । राम्रो नम्बर नआएपछि उनको एमबीबीएस पढ्ने चाहनालाई मुर्त रुप दिन कठिन थियो । तर पनि उनले जसरी पनि डाक्टरी पढ्ने लक्ष्य लिइसकेका थिए ।

आइएसीमा माक्स कम आएको भन्दै पिया शिक्षा मन्त्रालय सिफारिसमा प्राथमिकतामा परेनन् । पियाले साथीभाइहरुबाट सुनेका थिए, ‘एमबीबीएस नपाए पनि भेटेनरी पढ्न पाइन्छ, भेटेनरी डाक्टर भयो भने अमेरीकामा अवसर छ ।’

उनले आफु भेटेनरी कै भएपनि डाक्टर भन्ने सोच बनाए । तर पढ्नका लागि अभिभावकको अनुमति चाहिन्थ्यो ।
उनले भेटेनरी डाक्टरी पढ्न छात्रवृत्तिको फारममा साइलो बुबालाई हस्ताक्षर गर्न लिएर गए । अंग्रेजीमा लेखिएको छात्रवृत्तिको फारम थियो ।

‘साइलो बा यो फारममा साइन गर्नुस् न’ सहजै फारममा हस्ताक्षर होला भन्ने सोचेका पियाले ।

‘यो के हो ?’ साइलाबाबुले सोधे ।

‘स्कलरसिपको फर्म’

‘के को फर्म हो ?’ साइला बुबाको प्रश्नको जवाफ दिदै गए, ‘भेटेनरी साइन्स ।’

यति सोधेर पनि साइला बुबाले फर्ममा हस्ताक्षर गरेनन् । ‘भेटेनरी भन्या के हो ?’ पियाले खुलाएर भन्न बाध्य भए, ‘यो पशुसम्बन्धि डाक्टर हो ।’

‘साउजी तिम्रो छोराले के पढ्छ भन्दा डाक्टर भन्नुपयो, के को डाक्टर भन्दा पशुको डाक्टर बन्नु, म चाहि पशुको डाक्टरको बाउ ! तिम्रो बुबासँग मान्छेको डाक्टर बनाउने पैसा छैन रे ? म खर्च गरेर मान्छेको डाक्टर पढाउँछु, यो पशुको डाक्टर होइन, तिमी मान्छेकै डाक्टर बन्नुपर्छ ।’ पिया नाजवाफ भएर हस्ताक्षर विनाको फर्म लिएर फर्किए ।

शिक्षा मन्त्रालयले छात्रवृत्तिमा पढ्न सिफारिस नगरेपछि पिया र उनका दाइ पैसा तिरेर नै एमबीबीएस पढ्ने भनेर भारत हानिए । तर उनले भारतमा पनि एमबीबीएस पढ्न मिल्दैन भनेर फर्काए । त्यसपछि पियाले मुम्बइ गए । मुम्बइमा पनि पियाले पढ्न पाउने अवस्था देखेनन् ।

उनी केही समय त्यतै घुमेर मात्र बसे । उनले एमबीबीएस पढ्न नपाएपछि बिएसी पढ्ने निर्णय गरी मुम्बइको केसी कलेजमा बिएसी पढ्न शुरु गरे । तर पियाको दाइको भने छात्रवृत्तिमा नाम निस्कियो । उनी फकिर्ए ।

तर मुम्बइमा पढ्न थालेको एक महिनापछि पियालाई पाकिस्तानमा एमबीबीएस पढ्न पाइने भनेर बोलाइयो । उनले विएसीको पढाइ बीचमै छाडेर काठमाडौं आए । त्यसपछि उनी इस्ट पाकिस्तानमा रहेको ढाका युनिभर्सीटिमा सन् १९६७ मा एमबीबीएस पढ्न गए । तर विडम्वना त्यतिबेला पाकिस्तान दुईवटा राज्य जस्तै थियो । सन् १९६७ मा पाकिस्तानमा भएको द्धन्द्धको असर उनको पढाइमा पनि पर्‍यो ।

अहिलेको बंगलादेशलाई इस्ट पाकिस्तान भनिन्थ्यो । इस्ट पाकिस्तान बंगलादेशको रुपमा छुट्टिएपछि पियालाई पाकिस्तान सरकारले लाहुलको केइ मेडिकल कलेजमा पठायो । तर लाहुर जाँदा पियालाई इस्ट पाकिस्तानबाट गएको व्यक्ति भनेर हेपिन्थ्यो । जसका कारण पियाले राम्रोसँग पढ्ने वातावरण पाएनन् । तर पनि उनले एमबीबीएस पास गरे ।

‘परीक्षामा मलाई कसैले पास हुन्छ भनेका थिएनन् । मैले २२ घण्टासम्म लगातार पढेर परीक्षा दिए । केइ मेडिकल कलेजको सेन्टरमा १५ जनाले दिएको परीक्षामा संयोगले म मात्र पास भए,’ डा.पियाले हाँस्दै सुनाए, ‘पास भएपछि त पास हुदिनस् भन्नेहरुले पनि सम्मानले हेर्न थाले ।’

बंगलादेश र पाकिस्तानको द्धन्द्धका बीचमा पनि एमबीबीएस पास गरेका पिया एमबीबीएस डाक्टर बनेर १९७३ मा नेपाल फर्किए ।

पिया एमबीबीएस डाक्टर भएपछि उनले पहिलो पटक १९७५ शान्त भवनमा रहेको मिसन अस्पतालमा काम शुरु गरे । एकवर्षपछि उनले विशेषज्ञ चिकित्सक हुन इङ्ल्याण्ड जाने सोच बनाए । तर बाबुआमाले विवाह गरेपछि मात्र विदेश जान दिने भनेपछि उनले सन् १९७६ मा विवाह गरे । विवाह पछि उनले इङ्ल्याण्डमा डिप्लोमा गर्न ६ महिना बसे ।

नेपालमा टिभी रोगका बिरामीको संख्या धेरै भएकाले पनि उनलाई छाति रोगमा रुची थियो । त्यसैले छाती रोगमा विशेषज्ञता हासिल गर्न गए । चेष्ट (छाती रोग)मा डिप्लोमा गरेपछि पिया स्वास्थ्य सेवा विभागमा गए । तर उनलाई विभागले दरवन्दी नभएको भन्दै सरकारी अस्पतालमा काम गर्ने अवसर पाएनन् ।

त्यसपछि उनी पाटन अस्पतालमा छाती रोग विशेषज्ञ एवं जनरल चिकित्सकको रुपमा काम गरे ।

पाटन अस्पतालमा ५ वर्ष भइसकेको थियो । उनले आफ्नो चिकित्सा पेसामा खुसीसँग काम गरीरहेका थिए ।

सोही समयमा १९८३ मा अर्वुद रोग निवारण संघले ब्रङ्कोसकोपी सेवा शुरु गर्ने भनेर बोलायो । त्यसपछि उनले क्यान्सर रोगका बिरामीलाई ब्रङकोसकोपी गर्ने काम पनि गरे ।

सोही क्रममा डा.पियालाई क्यान्सर रोगमा विशेषज्ञता हाँसिल गर्ने अवसर आयो । उनले आफुलाई आएको अवसर बारे घरमा सुनाए । तर, घर परिवारले क्यान्सरको डाक्टर बन्न आवश्यक नभएको प्रतिक्रिया दिए ।

किनकी त्यतिबेला नेपालमा क्यान्सरका बिरामी रोग नै पत्ता नलगाइ मृत्युवरण गथ्र्ये । त्यतिमात्र होइन । बल्ल तल्ल क्यान्सर पहिचान भएका बिरामीको पनि नेपालमा उपचार नै हुँदैन थियो ।

उनी क्यान्सर रोगबारे विशेषज्ञता हासिल गर्न अमेरिका गए । एकवर्षको अध्ययन गरेपछि उनलाई क्यान्सर रोगमै पिएचडी गर्न त्यहाका प्रोफेसरले आग्रह गरे । तर आफुले क्यान्सर रोगबारे जानकारी पाएपछि आफ्नो देशमा फर्किने सोच बनाएर नेपाल फर्किए ।

डा.पियाले नेपालमा क्यान्सरका बिरामीको उपचारका लागि अस्पताल खोल्नुपर्ने र राम्रोसँग उपचार गर्नुपर्छ भन्दा अन्य डाक्टरहरु हास्थें । तर पिया लगायत अन्य चिकित्सकको योगदानबाट भक्तपुर क्यान्सर केयर सेन्टर स्थापना भयो ।

डा.पियाले हालको भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर क्यान्सर केयर सेन्टर)मा १९९५ देखि आवद्ध भएर काम गरे । उनी त्यहाको निर्देशक समेत भएर काम गरेका थिए ।

शुरुमा क्यान्सर अस्पताल खोल्दा अन्तिम अवस्थाका बिरामी आउथें । त्यतिबेला क्यान्सर रोग पत्ता लगाउने अस्पतालको रुपमा मात्र थियो भक्तपुर क्यान्सर केयर सेन्टर । बिरामीहरु क्यान्सरको अन्तिम अवस्थामा पुगेपछि मात्र आउने हुँदा धेरैजस्तो बिरामीको मृत्यु हुने गथ्यों ।

‘त्यतिबेला लास्ट स्टिेजमा पुगेपछि मात्र बिरामी अस्पतालमा आउथें, अस्पतालमा आएका बिरामीहरुले उपचार नपाउँदै मर्ने गथ्र्यें,’ डा.पियाले भने, ‘नेपालमा उपचार गर्न धेरै थरि औषधि पनि हुँदैन थियो, आफ्नै देश देखेर दिक्क लाग्थ्यो ।’

बिरामीमा सचेतना र रोग दुबै बढेको छ

डा.पिया क्यान्सर रोग विशेषज्ञ भएर नेपाल फर्किदा नेपालमा क्यान्सरका बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था थियो । तर समय परिवर्तन भएको छ । अहिले मानिसहरुमा सचेतना बढेकाले क्यान्सरको पहिलो तथा दोस्रो स्टेजमै बिरामीहरु अस्पताल आउने गरेको र क्यान्सर रोग निको हुन थालेको डा.पिया बताउँछन् ।

‘पहिले क्यान्सर भन्ने वित्तिकै मान्छेहरु मरिहाल्छ, बाँच्दैन भन्ने सोचाई थियो । हामीले काउन्सिलिङ गर्दा पनि बिरामीहरु नबाँच्ने रोगको पनि उपचार हुन्छ भन्दै उल्टै गाली गर्थें,’ डा.पिया भन्छन्, ‘तर अहिले मानिसहरुमा सचेतना बढेको छ, केही भइहाल्यो भने क्यान्सर हो कि भनेर चेकअप गर्नेहरु पनि बढेका छन् ।’

बिरामीले निको हुने समयमै क्यान्सर पत्ता लाग्दा पनि उपचार नगराउने बानी देख्दा दुःख लाग्ने डा.पिया बताउँछन् ।

‘आजभोलि कतिपय मानिसहरु सचेतना भएर पनि रोग पत्ता लागेर पनि उपचार गराउँदैन । शुरुको अवस्थामा निको हुने क्यान्सरका बिरामी उपचार गराउदैनन् । त्यहि बिरामी पछि अन्तिम अवस्थामा जति पनि खर्च गर्छु बचाइदिनुस् भन्दै आउँछन्,’ डा.पिया भन्छन्, ‘यस्तो अवस्था देखेर दुःख लाग्छ । आजभोलि मान्छेमा सचेतना भएपनि स्वास्थ्यप्रति हेलचेक्याइ गर्छन् ।’

Related Articles

Back to top button
Close