News

महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने आईएमई ग्रुपका अध्यक्ष ढकालको घोषणा

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

बागलुङ्मा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवमा ढकालले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘बाग्लुङ उद्योग वाणिज्यसंघका साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

जिल्लाका उद्योग वाणिज्य संघ तथा स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गर्नुभएको स्मरण गर्दै उहाँले आफ्नो गृह जिल्लाका व्यवसायी साथीहरुलेसमेत प्रस्ताव गरेकाले साथिहरुको प्रस्ताव आफूलाई स्वीकार्य रहेको बताउनुभयो ।

उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।’

बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिनुभएका ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुनुहुन्छ । उहाँ महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भएर काम गरिसक्नुभएको छ ।

उहाँ आईएमई ग्रुप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुनुहुन्छ ।

Related Articles

Back to top button
Close