News

नेपालको जमिन भारतियको बनाउन मालपोतका कर्मचारी र जनप्रतिनिधि नै मिलेको खुलासा

काठमाडौं, १० पुष । नेपालको जमिन भारतियको बनाउन मालपोतका कर्मचारी र जनप्रतिनिधि मिलेको प्रमाण फेला परेको छ । जनप्रतिनिध र मालपोतका कर्मचारीको मिलेमतोमा दुई विगाहा नेपाली जमिन एक भारतिय नागरिकले किनेर बेचेका छन् । गोरखपुर जिल्लाबाट नक्कली ग्राम प्रधानपञ्चको प्रमाणपत्र, आधारकार्ड र मतदाता परिचय पत्र बनाएर एक भारतीय नागरिकले रुपन्देहीमा करिब २ विघा जनिम आफ्नो नाममा बनाएका हुन् । उनले सो जमिन अहिले बेचिसकेका छन् । रुपन्देहीको सियारी गाउँपालिका–२ मा कोहाँर (गौड) परिवारको नाममा रहेको १ विघा १९ कठ्ठा ५ धुर जमिन नक्कली कागजात बनाएर भारतीय नागरिक बुद्धिराम कोहाँरलाई बेचिएको हो । भारतीयलाई जमिन दिन जनप्रतिनिधि र मालपोतका कर्मचारी समेत मिलेको रहस्य खुलेको हो ।

उक्त जमिन सियारीका स्व बेलर कोहाँरको नाममा रहेको थियो। बुद्धिरामले बेलरका कुनै छोराछोरी नभएको, आफू उनको सहोदर भाइ दावी गर्दै नेपाली जमिन आफ्नो नाममा बनाएका थिए । त्यसका लागि उनले भारतको आधार कार्ड, ग्राम प्रधानपञ्चको सिफारिस र निर्वाचन कार्यालयको मतदाता परिचय पत्र पेस गरेका थिए । तर ति कागजात समेत नक्कली रहेको फेला परेको छ । उनले सियारी वडा नं। २ को वडा कार्यालयबाट जमिन नामसारीको सिफारिस लिएका छन्।

वडा कार्यालयले भने नक्कली कागजातकै आधारमा करोडौं मूल्य पर्ने व्यक्तिको जमिन भारतीय नागरिकको नाममा नामसारी गर्न सिफारिस गरेको छ। त्यसका लागि वडा कार्यालय र मालपोत कार्यालयमा नक्कली कागजात बुझाइएको छ । तर बेलरका छोराछोरी कोही नभएको भने नेपाली जनिम भारतीयलाई दिइएको भए पनि उनको सन्जु कोहार भन्ने छोरी रहेको पनि खुलेको छ । वडाले बद्मासी गरेर बुवाको नाममा रहेको जमिन भारतीय नागरिकको नाममा गराउन भूमिका खेलेको छोरीको आरोप छ ।

सन्जुको विवाह भइसकेको छ। उनी लुम्बिनी सांस्कृतिक नगरपालिका–१ की स्थायी बासिन्दा हुन्। उनको जन्मदर्तामा बुवाको नाम बेलर कोहाँर र ठेगाना सियारी छ। मालपोत कार्यालय रुपन्देहीको मिसिल नं। ५११ ९ख०बाट २०७६ भदौ १९ मा बेलरको नामबाट भारतीय नागरिक बुद्धिरामको नाममा जमिन गएको छ। बुद्धिरामले ८ दिनपछि भदौ २७ गते लुम्बिनी सांस्कृतिक नपा–२ का शैलेन्द्रकुमार यादवलाई १७ कठ्ठा १३ धुर, ओमसतिया गापा–२ का सन्तोष यादवलाई ८ कठ्ठा १६ धुर, कोटहीमाई गापा–१ की कुमारी मल्लाहलाई ५ कठ्ठा १४ धुर र मायादेवी गापा–४ का लल्लु पाण्डेलाई ७ कठ्ठा गरी सबै जमिन बिक्री गरिसकेको मालपोतको रेकर्डमा देखिन्छ। सबै जमिन १ करोड ५४ लाख मूल्यांकन गरी मालपोतसमेत तिरेर बिक्री गरेको प्रमुख मालपोत अधिकृत कुमार आचार्यले बताए। जग्गाधनीका भाइ दयानाथ गौँड (कोहाँर) ले बुद्धिराम आफूहरुको दाजुभाइ नै नभएको बताए ।

वडाअध्यक्ष रामकिसनजीको हस्ताक्षर भएका विभिन्न नक्कली कागज बनाई भारतीय नागरिक बुद्धिराम कोहाँर खडा गरेर जमिन नामसारी गरिएको छ। वडा सदस्य बृज नारायण यादव र वडाअध्यक्षको रोहबरमा उक्त किर्ते काम भएको उनीहरुको दावी छ ।

Related Articles

Back to top button
Close