News

तराईमा अझै केही दिन चिसाे नघट्ने माैसमविद्काे भनाइ

काठमाण्डाै – तराईमा अझै केही दिन चिसो नघट्ने मौसमविद्ले बताएका छन् ।

केही दिनदेखि लागिरहेको हुस्सु शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो नहट्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

गएकाे बुधबार र बिहीबार बिहान लागेकाे हुस्सु दिउँसो केहीबेर हटे पनि आज भने दिनभर नै हुस्सु लाग्ने उहाँले बताउनुभयो । पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना नभएको पनि उहाँले जानकारी दिनुभयो ।

काठमाण्डाैसहित देशका पहाडी भेगमा बिहान लागेको कुहिरो दिउँसो बिस्तारै हट्ने भए पनि पूर्णरुपमा घाम लाग्ने सम्भावना भने छैन । शुक्रबार बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियाे ।

बिहीबार काठमाण्डाैकाे न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियससम्म झरेको थियो ।

यस्तै जुम्लाको माइनस ७ डिग्री, दोलखाको जिरीको माइनस ३ दशमलव ५, डडेलधुराकाे १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियसम्म मापन गरिएको छ ।

तर तराईका कतिपय क्षेत्रको अधिकतम र न्यूनतम तापक्रम भने थोरै मात्र घटबढ भएकाले जाडो धेरै महसुस भएको मौसमविद् पोख्रेलले बताउनुभयो ।

Related Articles

Back to top button
Close