News

दरबारमार्गको सडकमा १५ दिनदेखि बगिरहेको ढलको पानी बन्द गर्न सक्दैन सरकार !

काठमाडौं– दरबारमार्गको जुद्ध शालिकबाट करिब पचास मिटर ओरालो लागेपछिको मुख्य सडकमै फोहोर पानी (ढल) बगिरहेको देखिन्छ । विगत १५ दिनदेखि मुख्य सडक नै ढलमय बनेको छ ।

सडकनै ढाक्ने गरि ढलको पानी बग्दा पनि सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन ।

याक एण्ड यती, काठमाडौं प्लाजा, राइजिङ मल र त्रिचन्द्र क्याम्पस जाने चौबाटोमा दुई सातादेखि सडकमा ढलको कालो पनी बगिरहेको छ । सो मार्ग भएर हिँड्ने बटुवाहरु नाक थुन्दै ओभानो ठाउँ खोज्दै फड्किदै हिँडिरहेका हुन्छन् ।

चोकमै रहेको ढलको मंगलबाट (ढकनी) पानी निस्किएको छ भने भित्री आरालो बाटोमा पानीसँगै दिशाजन्य फोहोरसमेत जथाभावी छरिएका देखिन्छन् ।

राजधानीकै केन्द्र दरवारमार्गमा दुई सातादेखि सडकमै ढल बग्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित छन् ।
स्थानीय निला तुलाधार सम्बन्धित निकायले वेवास्ता गर्दा फोहर र ढलको दुर्गन्ध सहेर बस्नुपरेको बताउँछिन् ।

कमलादीकी तुलाधर दैनिकजसो सो मार्ग भएर आवतजावत गर्छिन् । तर ढल उम्लिन थालेदेखि सडकमा हिँड्न असहज भएको बताउँदै उनी भन्छिन्, ‘दैनिक सयौंको संख्यामा मानिसहरु आवतजावत गरिरहेका हुन्छन् ढलको प्रदुषणले निकै असर पुर्‍याएको छ ।’

तुलाधारलाई मात्र होइन । दैनिक रुपमा आवतजावत गर्ने पैदलयात्रु र स्थानीयलाई ढलले प्रत्यक्ष असर पुर्‍याइरहेको स्थानीयहरु गुनासो पोख्छन् । सरकारले दरबारमार्ग जस्तो पर्यटकीय र शहरको मुख्य क्षेत्रमा पनि ढल फुटेको जस्तो सामान्य कुरालाई हल गर्न नसकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

‘ढलले पूरै दुर्गन्ध भएपछि हामीले वडा कार्यालयलाई खबर गरेका थियौं’ स्थानीय तथा व्यवसायी रञ्जित चौधरीले भने ‘वडा अध्यक्ष समेतको टोली आएर भिडियोसमेत खिचेर लगेको थियो ।’

करिब एकसाताअघि काठमाडौं महानगरपालिका १ नम्बर वडा कार्यालयले अनुगमन गरेर छिटै समाधान गर्छु भनेर गएपनि दुईसाता बितिसक्दा पनि ढल व्यवस्थापन गर्न नसकेको उनले बताए ।

ओरालोमै रहेको छ चौधरीको स्विट् पसल । पसलको छेउमै ढल उम्लिरहेको छ ।

‘छेउमै ढल उम्लिरहेको छ के मिठाइ किन्नु भन्दै हिड्छन् ग्राहकहरु’ खबरहबसँग कुरा गर्दै चौधरीले भने ‘दुईसाता भन्दा बढी भइसक्यो ग्राहकहरु पसलमा पस्न छाडेको ।’

आफूहरुलाई पसलमा व्यापार गर्न समेत ग्राहो भइरहेको चौधरीले खबरहबसँग गुनासो गरे । ढलको दुर्गन्धले श्वास फेर्न समेत असर पु¥याएपछि स्थानीयले केही दिनअघि काठमाडौं महानगरपालिकालाई सम्पर्क गरेको थिए ।

सम्पर्कमा आएको महानगरले अनुगमनका लागि ढल उम्लिएको स्थानसम्म आएको बताउँदै चौधरी भन्छन्, ‘महानगरबाट केही कर्मचारी आएका थिए भिडियो खिचेर पनि लगेका थिए ।’

अनुगमनमा महानगर आएसँगै ढलको व्यवस्थापन हुने स्थानीयले अपेक्षा गरेका थिए । तर दुई साता बितिसक्दा पनि बिहानदेखि बेलुकासम्म ढल बगिरहेपछि स्थानीयले आक्रोश पोखेका छन् ।

एकातिर ढलको दुर्गन्ध । सडकको छेउमै ढलको मंगल फुटेर बिजोक भएको खबर पाएपछि अनुगमनमा गरेको वडाअध्यक्ष भरत लाल श्रेष्ठ बताउँछन् ।

‘एकसाता अघि हाम्रो टोलीले अनुगमन गरेको थियो’ अध्यक्ष श्रेष्ठले खबरहबसँग भने, ‘तत्काल ठेकेदार पठाएको थियौं ।’

ढल व्यवस्थापन गर्नका लागि ठेकेदार पठाएपनि तत्काल त्यहाँको समस्या समाधान नहुने खबर ठेकेदारबाट पाएको बताउँदै उनले भने ‘सोह्र हिटी पनि पुरै भरिएको छ पहिले तीनधारा खोलेपछि मात्र कहाँ जाम भएको भन्ने कुरा थाहा हुन्छ ।’

ढल कहाँ जाम भएको भन्ने अहिलेसम्म थाहा नभएकाले व्यवस्थापन गर्न चुुनौती बनेको श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘भोलिबाट अन्य कामदार पनि जान्छन्’ उनले भने ‘तीनधाराबाटै पूरै खोलेर समस्या कहाँ भएको हो पत्ता लगाएर समाधान गर्नेछन् ।’

Related Articles

Back to top button
Close