News

चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएकाे हाे : सीआईबी

काठमाण्डाै – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो ।

सीआइबीका डीआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औंँ सम्मेलनमा चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आगह गरेपछि निगरानी सुरु गरेको बताउनुभयो ।

डीआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजुमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताउनुभयो । उनीहरुको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सिमकार्ड लगायतका सामान बरामद गरिएको बताउनुभयो ।

पक्राउ परेका उनीहरुले विधुवा महिला, धनी महिला, युवावर्ग र व्यापारीहरुलाई जालमा पारेर अनलाईन च्याट गराउने, नक्कली वेव बनाएर पैसा आउने लोभ देखाउँदै ठग्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको र अनुसन्धान पूर्ण नभइ कुनै पनि कुरा पुष्टि गर्न नसकिने उहाँले बताउनुभयो ।

‘अनलाइनमा लगानी गरे थोरै रकमबाट धेरै आउँछ भन्‍ने प्रभावमा पार्दा रहेछन । अलिकति रकम हालेपछि विश्वास जित्‍नकै लागि आफैंले रकम थपेर पठाउने गरेको पनि पाइयो । पछि बढी रकम हाल्न लाउने र ठग्‍ने रहेछ’,उहाँले भन्नुभयो ।

अहिले उनीहरुमाथि पक्राउ गर्न खोज्दा महिला प्रहरीमाथि र सोधपुछका क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेकोले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनीहरु अन्य आपराधिक कार्यहरुमा पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान पनि जारी रहेको जनाएको छ ।

Related Articles

Back to top button
Close