News

भूकम्पले क्षतिग्रस्त नेपालकै पहिलो स्कुल दरबार हाइस्कुलले पायो नयाँ रुप

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो स्कुल दरबार हाइस्कुलले नयाँ रूप पाउने भएको छ। विद्यालयको पुनर्निर्माणको काम ५ प्रतिशत मात्र बाँकी रहेको छ। अहिले पर्खाल लगाउने, डेस्क बेन्च राख्ने काम भइरहेको निर्माण व्यवस्थापन हेरिरहेका राजेन्द्र केसीले बताएका छन्।

विद्यालयको स्वरूप पुरानै शैलीमा बनेको पुरातत्व विभागले जनाएको छ। माघ महिनाभित्र काम सक्ने गरी अहिले ३० जना चिनियाँ टोलीसहित ९० जना नेपाली कामदार विद्यालय निर्माणमा खटिएका छन्।

चीन सरकारको सहयोगमा बन्न लागेको विद्यालय पुनःनिर्माणको ठेक्का सरकारले चिनियाँ कम्पनी साङ्घाई कन्ट्रक्सनलाई दिएको थियो। विद्यालय चार तलाको बनेको छ। जसमा ४५ कोठा छन्। विद्यालयका करिब ३ सय ५० विद्यार्थी अहिले वाल्मिकी विद्यापिठको आँगनमा टहरामा पढिरहेका छन्।

२०२४ सालमा विद्यालयलाई भानु माध्यमिक विद्यालय भनेर नामाकरण गरियो। अहिले यहाँ भानु मावि र संस्कृत मावि भनेर दुई किसिमको पढाइ हुन्छ। १९१० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले दरबार हाइस्कुलको स्थापना गरेका थिए। सुरूमा यो विद्यालय थापाथली दरबारको आँगनमा थियो। पछि विभिन्न ठाउँमा स्थानन्तरण हुँदै १९४२ सालमा विद्यालयलाई जमलमा सारियो।

Related Articles

Back to top button
Close