News

यी आमा जसले ७० वर्षमा एमए पास गरिन्

‘पढ्न उमेरले छेक्दैन।’ केही दिनयता सामाजिक सञ्जालमा यो क्याप्सनसहित एउटा फोटो ‘भाइरल’ छ। फोटो एक महिलाको हो। पहेँलो फुर्का झुन्डिएको कालो टोपीसँगै ती महिलाले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पोसाक लगाएकी छन्।

गत बिहीबार दस हजारभन्दा बढी युवाको भिडमा देखिएकी उनी हुन् ७० वर्षीया नानीमैयाँ श्रेष्ठ। त्रिविको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ विद्यार्थीसँगै नानीमैयाँ पनि दीक्षित भएकी हुन्। जीवनका सात दशक काटेकी नानीमैयाँले पाटन क्याम्पसबाट नेपाल भाषामा स्नातकोत्तर गरेकी हुन्। दीक्षान्त समारोहमा नानीमैयाँ धेरैका लागि प्रेरणा बनिन्।

ललितपुरको महालक्ष्मीस्थान घर भएकी नानीमैयाँको पढाइले ल्याएको खुसी सबैका अनुहारमा छाएको छ। २००६ सालमा ललितपुर, गावहालमा जन्मेकी उनले दस वर्षकी हुँदासम्म स्कुल जाने रहर मात्र बोकिरहिन्। स्कुल नजिकै भए पनि कक्षाकोठा, कालोपाटी, बेन्च, शिक्षकशिक्षिका र साथीहरूको अनुभव गर्न पाएकी थिइनन्।

केटीहरूका लागि मात्र भर्खर खुलेको स्कुलमा विद्यार्थी थोरै थिए। उनी २ कक्षाबाट एकैपटक ५ मा पुगिन्। यसरी नै उनले सरासर पढिन्। २०२४ सालमा एसएलसी पास भइन्। पढ्ने भोक झनै बढ्यो। चलन उस्तै थियो- केटीले किन पढ्ने ? नानीमैयाँले प्रविणता तह पढ्न केटाहरूसँग नबोल्ने सर्तमा बुवाबाट अनुमति पाइन्। अर्थशास्त्र, भूगोल र नेपाली विषयमा आइए पढ्न थालेकी उनले सरासर पास गरिहालिन्।

२०२८ सालमा नेपाली र अर्थशास्त्र विषय लिएर उनी बिए पढ्न भर्ना भइन्। राम्रै पढेकाले घरबाट रोक भएन। तर बिए पढ्दापढ्दै उनको बिहे भयो। घरनजिकै मंगलबजारमा आफ्नै दिदीका देवरसँग उनको मागी बिहे भएको बताइन्। बिहेपछि उनको पढाइ बिग्रियो। उनका दुई छोरी र एक छोरा भए। स्नातक सकेपछि उनी श्रीमानसँगै धनकुटा जाने भइन्।

धनकुटाबाट फर्केपछि उनलाई स्कुल पढाउने अवसर आयो। छोराछोरी स्कुल पठाएपछि उनी पनि त्रिपुरेश्वरको विष्णु निकेतन स्कुल पढाउन थालिन्। २०४० सालबाट पढाउन थालेकी उनको जागिर ८ वर्षपछि मात्र स्थायी भयो। २७ वर्ष पढाएपछि उनी २०६६ सालमा उमेरका आधारमा सेवानिवृत्त भइन्। स्थायी नियुक्ति ढिला भएकाले पेनसन आएन।

स्कुलबाट निस्किनुअघि नै नानीमै‍याँले एक वर्षे बिएड सकेकी थिइन्। काममा सक्रिय उनलाई दिनभर बस्न दिक्क लाग्न थाल्यो। पढ्ने इच्छा बाँकी नै थियो। बिए अर्थशास्त्रमा गरेकाले उनलाई यसैमा एमए गर्ने मन थियो। गाह्रो हुन्छ भनेपछि नेपाल भाषा पढ्ने सोच बनाइन् र २०७१ सालमा नेपाल भाषा केन्द्रीय विभाग, पाटन क्याम्पस भर्ना भइन्।

आफ्नो उदाहरण देखेर अरूले पनि पढ्ने उनलाई आशा छ। अब थप पढाइ नगरे पनि अध्ययन जारी राख्ने बताउँछिन्। फेसबुक, युट्युबमा रमाउने उनी फुसर्दमा लेखहरू पनि लेख्छिन्। विभिन्न पत्रिकामा प्रकाशनका निम्ति पठाउँछिन्। पढ्न सहज नभए पनि आँट गरे सकिन्छ- उनको निष्कर्ष छ।

Related Articles

Back to top button
Close