News

तनहुँका महिलाको यस्तो साहस, जसले गर्दा बने सबै चकित !

तनहुँ : बन्दगीको खेतमा गरेको सामूहिक खेतीले न्यून तथा विपन्न वर्गलाई आत्मनिर्भर बनाएको छ। तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीका न्यून तथा विपन्न वर्ग आत्मनिर्भर बन्दै गएका छन्। न्यून तथा विपन्न वर्गको आयस्तर बृद्धिका लागि बाराही सामुदायिक वन उपभोक्ता समितिले बन्दगीमा लिएको खेतमा महिलाले सामूहिक खेती गरी आत्मनिर्भर बनेका हुन्।

सामुदायिक वनले बन्दगीमा लिएको खेतमा न्यून वर्गको आयस्तर बृद्धिका लागि खेत नभएका उपभोक्तालाई जमिन उपलब्ध गराएर सामूहिक खेतीलाई प्रोत्साहन दिएको बाराही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुक्तिनाथ खनालले बताए।

न्यून तथा विपन्न वर्गका परिवारलाई उकास्नका लागि सामुदायिक वनले खेत बन्दगीमा लिएर खेती गर्ने जमिन उपलब्ध गराएको खनालले बताए। वनले स्थानीय केदार वाग्लेको करिव २० रोपनी खेत बन्दगीमा लिएर त्यहाँका न्यून वर्गका उनीहरूलाई उपलब्ध गराएको अध्यक्ष खनालले जानकारी दिए।

२०६१ चैत्र १६ गतेदेखि पाँच वर्षका लागि चार लाख रुपैयाँमा बन्दगी लिएर न्यून वर्गलाई खेती गर्न दिँदै आएको उनले बताए। उनका अनुसार धेरै जसो न्यून वर्गका दलित र आदिवासी जनजातिका स्थानीयलाई खेती गर्न दिइएको छ। एक वर्षमा १२ घरधुरीले खेती गर्न पाउने व्यवस्था गरिएको उनको भनाई छ। ‘ग’ र ‘घ’ वर्गका ६९ घरधुरीलाई खेती गर्न सो खेत उपलब्ध गराइएको उनले बताए।

खेत उपलब्ध गराएपछि उनीहरू उत्साहित भएर खेती गर्नुका साथै उत्पादन समेत राम्रो गरेको खनालले बताए। यसअघि पनि २०६१ साल अघि पनि एक वर्षका लागि बन्दगीमा लिएर उक्त जग्गाको भोगचलन गरिएको थियो। सामुदायिक वनले उपभोक्तालाई निर्व्याजी रुपमा तीन हजार रुपैयाँका दरले ऋण दिने गरेको र त्यसलाई बढाएर अहिले पाँच हजार समेत उनले जानकारी दिए।

उपभोक्ताले चासोका साथ उब्जनी गरे अझ वनको पहलमा समय पुनः थप गर्न सकिने अवस्था रहेको उनले बताए। उनका अनुसार उनीहरूलाई ऋण भन्दा खेतीयोग्य भूमि दिँदा फाइदा पुगेको छ। वनको सहयोगमा बाँझो रहने खेतको उपयोग हुनुका साथै न्यून तथा विपन्न वर्गको आयस्तर बृद्धि गर्न समेत टेवा पुग्नेछ। उक्त क्षेत्रको खेतमा पानीको अभाव समेत नहुने भएपछि खाद्यान्न उत्पादनमा समेत सहज हुने उपभोक्ता समितिको आँकलन छ।

वनले न्यून तथा विपन्न वर्गको श्रेणी नै छुट्याएर बन्दगी खेतमा खेती गर्न पालो दिइने गरेको अध्यक्ष खनालले बताए। ‘क’ देखि ‘घ’ सम्मको श्रेणी पहिचान गरी खेतमा खेती गर्न पाउने व्यवस्था सामुदायिक वनले गरेको छ। खेतका धनी केदार वाग्लेले भने, ‘हामी काठमाडौंमै बसोबास गर्छौं। खेत नै बाँझो रहने अवस्था थियो। वनले बन्दगीमा लिएर खेतको उपयोग गर्ने भनेपछि दिएको हुँ। उनीहरूको आयस्तर पनि बढ्ने मेरो जमिन पनि बाँझो नरहने भएपछि बन्दगीमा दिएँ।’

बन्दगी खेतमा अहिले गुणादीका नेत्रकला परियार, इन्दिरा परियार, पार्वती थापा, बसन्ती आले र सन्सरी परियारले सामूहिक खेती गरिरहेका छन्। १० रोपनी खेतमा ६ जना र १० रोपनी खेतमा अर्को ६ जनाले खेती गरिरहेका छन्।

हिउँदे वालीमा उनीहरूले आलु रोपेका छन्। माटोको परीक्षण अनुसार उक्त क्षेत्रमा आलुको उत्पादन राम्रो हुने भएकाले आलुको बीउ खेतमा रोपेका छन्। उपलब्ध जमिनमा त्यहाँका न्यून तथा विपन्न वर्गका परिवारलाई एक वर्ष खेती गर्न दिने गरिएको समूहकी सदस्य केशमाया रामधामले बताइन्। वनले समूहमा खेती गरेर एक वर्षमा हुने उत्पादन आफैँले खान दिएकोले उपभोग गरिरहेको उनी बताउँछिन्।

‘वनको सहयोगले हाम्रो आयस्तर बृद्धि भएको छ। धान पनि राम्रो उत्पादन भयो’, उनले भनिन्। त्यस्तै वनले यहाँको खेतीयोग्य भूमि उपलब्ध गराएर खेती गर्दा आफूलाई खान र बिक्री वितरण गर्न समेत सकेको अर्की समूह सदस्य इन्दिरा परियारले बताइन्। उनका अनुसार उक्त खेतमा वर्गीकृत समूहले पालैपालो गरी खेती गर्ने गरेका छन्।

‘एक पटकमा दुई समूहलाई खेती गर्न खेत दिन्छ। एक वर्ष हामीले खेती गर्न पाउँछौं। चैते, मंसिरे धान र जाडोमा आलु खेती तथा तरकारी खेती गर्न पाइन्छ। हामीले सामूहिक रुपमा आलु खेती गर्न थालेका छौं’, उनले भनिन्। उनीहरूले अहिले दुई रोपनी क्षेत्रमा आलु खेती गरेका छन्।

‘आलु सबै प्रकारका तरकारीमा मिसाउन सकिने भएकाले यसको माग बढी हुने भएकाले आलु खरिद खेतीमा आकर्षित भएका हौं‍’, उनीहरू भन्छन्। आलु खरिद गर्दा धेरै खर्च भएको पत्तो नपाइने भएकाले पनि आफैँले उत्पादन गरी खर्च कम गर्नुका साथै बिक्री समेत गर्न सकिने समूहकी सदस्य पार्वती थापाले बताइन्।

गाउँपालिकाको अनुदान

सामूहिक खेतीका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको छ। गाउँपालिकाको अनुदानसँगै उनीहरुको लगानी समेत रहने उनीहरू बताउँछन्।गाउँपालिकाले एक बोरा आलुको बीउ अनुदानमा दिएको समूह सदस्य इन्दिराले बताइन्। अरु आवश्यक परेको आलुको बीउ दुई बोरा दुई हजार पाँचसय रुपैयाँमा किनेको उनले जानकारी दिइन्।

खेतमा ४६ किलोग्राम आलुको बीउ रोपिएको उनले बताइन्। बीउ रोप्दा उनीहरूले १५० किलोग्राम मल हालेका छन् भने प्रतिकेजी १२५ रुपैयाँका दरले मल खरिद गरेका छन्। वनको लगानीमा वन्दगी लिइएको खेतमा त्यहाँका न्यून तथा विपन्न वर्गका महिलाले गरेको सामूहिक खेतीले आत्मनिर्भर बनाउँदै गएको म्याग्दे गाउँपालिका १ की वडा सदस्य केसीमाया आलेले बताइन्।

न्यून तथा विपन्न वर्गलाई उकास्ने उद्देश्यले सामुदायिक वनले बन्दगीमा लिएको खेतमा गरिएको खेतीले उनीहरूको आयस्तर बृद्धि गरेको उनले बताइन्। ‘५० प्रतिशत गाउँपालिकाले आलुको बीउ र मल अनुदान दिएको छ भने ५० प्रतिशत लगानी विपन्न वर्गले गरेका छन्। उनीहरूको आयस्तर बृद्धि र काममा प्रोत्साहन गर्न म आफैँ पनि लागि परेको छु। उनीहरूसँगै खेतीमा आलु, धान लगाएँ र उत्पादन पनि राम्रै भएको छ’, उनले भनिन्, ‘उत्पादन राम्रै भएकाले नाफा भएको र खेतीतर्फ हामी उत्साहित भएका छौं।’

८४ मुरी धान उत्पादन

सामुदायिक वनले उपलब्ध गराएको खेतबाट न्यून तथा विपन्न वर्गले ८४ मुरी धान उत्पादन गरेका छन्। न्यून तथा विपन्न वर्गले दुई मौसमको खेतीबाट ८४ मुरी धान उत्पादन गरेको बाराही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुक्तिनाथ खनालले बताए।

‘एक वर्षमा चैते र मंसिरे गरी ८४ मुरी धान उत्पादन गरेका छन्’, उनले भने। चैते धान करिव साढे सात मुरी भन्दा बढी उनीहरूको भागमा परको थियो भने मंसिरे धान ६/६ मुरी परेको थियो। सानो परिवारलाई यति धान केही महिना तथा वर्षका लागि नै धान चामल किन्न नपर्ने उनीहरू बताउँछन्।

वनले ‘ग’ र ‘घ’ समूहमा परेका वडावासीलाई पालै-पालो खेती गर्न दिएको उनीहरूको भनाई छ। उनीहरूले अन्तिम खेती गरिरहेका छन्। आलु खेती सकिएपछि अर्को समूहले त्यही खेतमा बाली लगाउनेछन्।

Related Articles

Back to top button
Close