News

व्यवस्थापन सिक्नु छ भने माइक्रोबस चढ्नुहोस

तपाईँ व्यवस्थापनको विद्यार्थी हो ? वा व्यवस्थापन सिक्न चाहनुहुन्छ ? यदि हो भने व्यवस्थापनको सैद्धान्तिक ज्ञान सिक्न क्याम्पस/कलेज जानुहोस् । व्यवस्थापनको व्यवहारिक ज्ञान लिन चाहनुहुन्छ भने चाहिँ काठमाण्डौमा चल्ने माइक्रोबस चढ्नुहोस ।

व्यवस्थापन अर्थात थोरै साधन स्रोतमा धेरै नतिजा कसरी निकाल्ने, उपलब्ध थोरैबाट धेरै भन्दा धेरै उपलब्धी कसरी हासिल गर्ने । आइपर्ने अप्ठ्याराहरुमा आफूलाई कसरी अनुकूल बनाउने यसको प्रयोगात्मक नमूना माइक्रोबसमा यात्रा गर्दा पाउन सकिन्छ ।

माइक्रोबसमा अधिकतम कतिसम्म यात्रुहरु अटाउन सकिन्छ भन्ने अहिलेसम्म यकिन तथ्यांक आउन सकेको छैन । ‘जति ताछ्यो, उति ठूलो’ भनेजस्तै झन् जति खाँद्यो झन उति खाली हुने यी बसमा यात्रु क्षमता चालक तथा सहचालकको व्यवस्थापन कौशलमा भर पर्छ ।

उदाहरणको लागि कीर्तिपुरको पाँगा दोबाटोमा पुग्नुहोस् । त्यहाँ माइक्रोबस र ठूलाबसको लाइन हुन्छ ।‘जाने हो ? खाली छ ! बल्खु, कालीमाटी, रत्नपार्क…….।’

तपाइँको कानमा ठोकिन्छ । तपाइँ गाडी भित्र पस्नुभयो भने आफ्नो आरक्षणको सिटले तपाइँलाई स्वागत गरिरहेको देख्नुहुन्छ ।

तर तपाई पुरुष र कुनै आरक्षण सिट नपाउने वर्गको हो भने केही नहेरी सिधै पछाडिको सिटमा गए हुन्छ । जहाँ केही पनि लेखिएको हुँदैन । त्यसको पनि एउटा कुनामा गएर बसिहाल्नुस् । किनकी त्योभन्दा बाहेक त प्रायः सबै आरक्षण सिट नै हुन्छन् ।

यदि तपाईं आरक्षण सिटमा बस्ने मान्छे हो भने आफ्नो आरक्षण सिटको झ्यालतिरको कुनामा बसिहाल्नुस् । किन ‘झ्यालतिर र कुनातिर बस्नुस्’ भनेको होला भन्ने तपाईंलाई लाग्न सक्छ । यसको कारण अहिले थाहा पाउनु हुन्छ ।

बसमा भएका खाली सिटहरु पाँगा दोबाटोमै भरिन थाल्छन् । एकछिनमै सबै सिटहरु भरिन्छन् । अब तपाईंको व्यवस्थापनको प्रयोगात्मक कक्षा यहीँबाट सुरु हुन्छ ।

‘जाने हो ? बल्खु, कालीमाटी, रत्नपार्क…….।’ फेरि सुन्नुहुनेछ ‘गाडी पुरै खाली छ आउनुस् !’ तपाईं नयाँ यात्रु हो भने अचम्म लाग्न सक्छ । वरिपरि हेर्नुहुनेछ, बसमा त सबै सिट भरिएका छन् । तर पनि सहचालकले पुरै खाली भन्छ ?

तर सिट खाली नभएको बेला पनि खाली देख्ने सकारात्मक सोचको उदाहरणरण हो यो । गन्तव्यमा पुग्न लाग्ने समयभन्दा १० मिनेट अगाडि मात्रै घरबाट निस्किने हाम्रो राष्ट्रिय बानीले पनि त्यसलाई सकारात्मक रुपमै लिन्छ र हामी बसभित्र छिर्छौँ ।

बस अलि अगाडि बढ्छ । अगाडि बढेसँगै तपाईंले विद्यालय/विश्वविद्यालयमा सिकेको सामान्य गणित फेल खादै जान्छ । चालकसँगै अगाडि तपाईंले दुई जना बस्ने भनेर सोचेको सिटमा तेस्रो पनि थपिन्छ ।

चाकलको सबैभन्दा छेउमा बस्नेको दाहिने घुँडा र माइक्रोको गियरको भलाकुसारी गर्ने अवसर जुर्छ । फइदाको कुरो रत्नपार्क पुग्दासम्म गियर कसरी तान्ने रहेछ भन्ने कुरा चाहिँ पक्कै सिक्नुहुन्छ । अरु सिटहरुमा पनि तपाईंले अनुमान लगाएभन्दा एक, एक जना थप व्यवस्थापन हुँदै जान्छ ।

‘खुट्टा अलि भित्र छिराउनुहोस्’ यदि तपाईं छेउतिर बसिरहनुभएको छ भने यो सुन्नेबितिक्कै सकी नसकी भए पनि खुट्दा भित्र छिराइहाल्नुस्, किनकी यो सूचना तपाईंकै लागि हो । सिटमा सबैजना खाइलाग्दा मानिस छन् भने बसेजस्तो मात्रै गर्नुस ।

मोटा पातला मिलाएर हो भने दुई जना पछाडि र एकजना अगाडि भएर बस्नुहोस् । कम्तिमा आधा भए पनि बस्न पाउनुहुनेछ । जे होस् तपाईंको खुट्टा सिटको बराबरभन्दा एक इन्च पनि बाहिर नजाओस् । त्यहाँबाट तपाईंले आफ्नो शरीरको व्यवस्थापन सीप सिक्नुहुनेछ ।

‘जाने हो ? बल्खु, कालीमाटी, रत्नपार्क…….।’ ‘पुरै खाली छ’ फेरि आवाज आउनेछ ‘अलि भित्र भित्र सर्नुस्’ यो उभिएकाहरुको लागि सूचना हो । यदि तपाईं उभिएर यात्रा गर्दै हुनुहुन्छ भने सर्न सक्ने जति सरिहाल्नुस् । किनकी अब तपाईंले सर्ने सीपको व्यवस्थापन पनि सिक्दै हुनुहुन्छ ।

उभिने ठाउँसमेत नरहने गरी बस भरिएजस्तो देखेर तपाईंलाई लाग्न सक्छ अब बस नरोकिइ जान्छ होला । बसमा अब उभिने पनि ठाउँ छैन । फेरि आवाज आउँछ ‘भित्र भित्र जानुस्’ यो सुनेर सर्ने ठाउँ छैन कता सर भनेको होला भनेर तपाईंलाइ रीस उठ्न सक्छ । तर रिसाउने हतार नगर्नुस् । किनकी यो त सर्ने सीप व्यवस्थापनको सुरुवात मात्रै हो । व्यवस्थापनको प्रकृया चलिरहन्छ ।

सहचालकले यात्रु सरे नसरेको भ्याएसम्म अगाडिबाट हेर्छ । अगाडिबाट नदेखिने भएपछि झ्यालबाट टाउको छिराएर भए पनि व्यवस्थापन गरेरै छोड्छ । जे गरेर भए पनि यात्रुको बीचमा एक इञ्चको पनि दूरी रहनु हुँदैन । यो यात्रु व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण पाटो हो । यो ठेलमठेल व्यवस्थापनले उभिएकाहरुलाई नलड्ने वातावरणकोसमेत व्यवस्थापन गर्छ ।

यतिले पनि व्यवस्थापनको काम सकिंदैन । अब दुई लाइन भएर उभिने सूचना जारी हुन्छ । साथमा झोला छ भने माथि राख्नुस् या सिटमा बसेकालाई दिनुस् । अघिसम्म सिटमा बस्न पाएकोमा मख्ख परेको यात्रु पनि अब सिटमा बस्नु राम्रो कि उभिनु राम्रो भन्नेमा आफैंसँग वादविवाद गर्न थाल्छ । अब उभिएका जति सबै सतर्क अवस्थामा हुन्छन् र बसेका जति उभिएकाहरुले थिचेर असहज अवस्थामा । यसबाट लाइन व्यवस्थापनको सीप सिकिन्छ ।

यसका साथसाथै यसबाट आत्मियता व्यवस्थापन र सामाजिक एकता व्यवस्थापन पनि सिकिन्छ । लाग्न सक्छ कसरी ? उभिएकाहरुमध्ये कसैको फोन बजेछ भने भाइब्रेसनले वरिपरि सबैको जीउ थर्किन्छ । तर फोन कसकोमा आएको हो भन्ने यकिन भने गर्न सकिदैन ।

सबैले आफ्नोमा आएको हो कि हेर्न खोज्छन् । तर हात तल गोजीसम्म लैजान सम्भव छैन । जसले भ्यायो त्यसैले उठाउने हो । त्यहाँ जो जुन भाषा, धर्म, जाति, लिङ्ग र पार्टीको भए पनि एक अर्कासँग समायोजन हुन्छ । परेको सानोतिनो अप्ठ्यारो हाँसीहाँसी सहन बाध्य हुन्छ ।

अब बसबाट झर्ने बेला हुन्छ । ‘पैसा हातमा लिएर आउनुस्’ फेरि अर्को सूचना आउँछ ‘अलि छिटो छिटो झर्नुस् है ।’ सबैभन्दा पछाडि उभिएको मानिस सबैभन्दा नजिक झर्ने रहेछ भने उ यहीँ झर्दा ठिक होला की रत्नपार्क पुगेर फेरि फर्केर आउँदा ठिक होला भन्ने दोधारमा हुन्छ ।

घडी हेर्न नपाएर मात्रै चुपचाप उभिएको र यतिक्कै ढिला भइसकेकोले उ बाहिर निस्कँदा आइपर्ने सम्पूर्ण जोखिम र अप्ठ्याराहरु बिर्सन्छ । लतारिंदै र थेचारिंदै कसरी बाहिर आइपुग्छ उसैलाई थाहा हुँदैन । यसबाट उसले आँटे जे पनि सम्भव छ भन्ने कुरा सिक्छ । यो उसको लागि आँट व्यवस्थापन सिक्ने अवसर हो ।

यति मात्रै होइन, कहिलेकाहीँ त यति सारा व्यवस्थापनको फाइदा उठाउँदै पाकेटमारले आर्थिक व्यवस्थापन गरिसकेको कुरा बसपार्क पुगेर भाडा दिन गोजी छाम्दा मात्रै थाहा हुन्छ ।

यसको भुक्तभोगी तपाईं पनि, म पनि । कहिलेकाहीँ तपाईंलाई पनि लाग्न सक्ला, यति धेरै यात्रुको व्यवस्थापन कौशल प्रयोग गर्न सक्ने बसलाई ट्राफिक नियम चाहिँ लाग्दैन ? लाग्न सक्छ । तर ट्राफिक नियमले सजाय होइन, पुरस्कार चाहिँ दिनुपर्छ ।

एउटै बसले त्यति धेरै यात्रुको सेवा गरेका छन् । सकसकैबीचमा मनोरञ्जन दिएका छन् । थोरै ठाउँमा धेरै कसरी अटाउने भन्ने व्यवस्थापनको सीप सिकाएका छन् । हैन र ?

Related Articles

Back to top button
Close