News

मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडियो

नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ। संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ।

४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए। पछिल्लो समय मासुको मूल्य घटेको र चल्ला र अण्डा नष्ट गर्दा कुखुराको मासु बजार सन्तुलनमा आउने दाबी गर्दै संघले निर्मम तरिकाले जिउँदै चल्ला पुर्न लगाएको थियो।

संघका उपाध्यक्ष लक्ष्मीभक्त मानन्धरले अहिले डेढ सय रुपैयाँ प्रतिकिलो कुखुराको मासु बेच्दा किसानलाई मर्का परेको र लगानी नै नउठ्ने गरेकाले उनीहरूकै हितलाई ध्यानमा राखेर यो कदम चालिएको दाबी गरे।

उपाभोक्ता हितविपरीत चल्ला मार्न लगाइएको भन्दै पोल्ट्री किसानले भने बिरोध गरेका छन्। संघका उपाध्यक्ष मानन्धरका अनुसार अहिले सातामा ३० लाख चल्लाको माग छ भने उत्पादन ४५ लाख हुन्छ। यस हिसाबले एक साताको चल्ला नष्ट गर्दा मासु उत्पादनको सन्तुलन मिलेर मूल्य पाइने उनको दाबी छ।

पुस २ गतेसम्म संघले १५ करोड रूपैयाँ बराबरका ३० लाख चल्ला र ४५ करोड मूल्य बराबरका अण्डा नष्ट गरेका छ। काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको हो। संघले मंसिर २९ देखि पुस ८ गतेसम्म चल्ला उत्पादन नगर्ने घोषणा गरेको छ।

Related Articles

Back to top button
Close