News

प्रचण्डले अभिभावकत्व ग्रहण गरेका दुई बालकको घर बन्ने

काठमाडौं, २ पुष । पूर्वप्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गर्नुभएका दुई बालकको घर बन्ने भएको छ । अध्यक्ष प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गर्नुभएको अरुण मुसहर र पत्रुस माझीसहित पाँच घरपरिवारको घर बन्न लागेको हो ।

भरतपुर–२७ स्थित साझापुरको सडकछेउमा रहेको सरकारी जग्गामा ती बालक काँस निर्मित अव्यवस्थित घरमा बस्दै आएका छन् । अभिभावकत्व ग्रहणपछि यी दुई बालकको शैक्षिक अवस्थामा भने निकै सुधार आएको विद्यालयका शिक्षक बताउँछन् । झुपडी घरलाई विस्थापित गरी दुईकोठे पक्की घर निर्माण गर्न लागिएको वडाध्यक्ष गोविन्द गुरुङले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको पहलमा घरको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा जङ्गली जनावरको पनि जोखिम छ । “शौचालयसहितको दुईकोठे घर एक महिनाभित्रै निर्माण गरिसक्ने योजना बनाएका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

दैनिक मजदुरी र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय छाप्रोजस्तो घरमा बसेका थिए । अब बन्न लागेको प्रतिघर रु दुई लाख खर्च हुने अनुमान गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकालाई खरमुक्त घर निर्माण गर्ने योजनाअनुसार ५०० बढी घरपरिवारलाई निःशुल्क जस्तापाता वितरण गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । दाहालले तीमध्ये माझी समुदायको घरको अवस्था जीर्ण भएकाले पाँच घर तत्काल निर्माण गर्न लागेको बताउनुभयो ।

जिल्लामा चिसो ह्वात्तै बढेसँगै ती घरपरिवारलाई न्यानो कपडा उपलब्ध गराइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले उनीहरुलाई कम्बल, ज्याकेट र खाद्यान्न सामग्री दिइएको जानकारी दिनुभयो ।

लुम्बिनीमा सडक खाना महोत्सव

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ । ‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते आयोजना गरिने महोत्सवमा नेपाली, चिनियाँ, थाई, इटालेली, जापानीलगायतका विभिन्न देशका खानाका परिकार राखिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग रहेकाले विशेष तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित यस वर्षको सडक खाना महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य बनाउने गरी तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको सङ्घका महासचिव लीलामणि शर्माले बताउनुभयो । “आन्तरिक पर्यटनको दृष्टिले लुम्बिनी धेरै आन्तरिक पर्यटकले भ्रमण गर्ने स्थल हो, यहाँ आन्तरिक र बाह्य पर्यटकलाई अझै बढी आकर्षित गर्न यो कार्यक्रम बनाएका हौँ” महासचिव शर्माले भन्नुभयो ।

महोत्सवमा १०० वटा खानाका कक्ष रहने उहाँले बताउनुभयो । स्थानीय खानाका परिकारका छुट्टै कक्ष राखिने सङ्घका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो । सो अवसरमा स्थानीय विराहा नाच, विभिन्न जातिको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ ।

महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न देशको परिकारको मज्जा लिन र लुम्बिनीको संस्कृति हेर्न सक्ने महोत्सवका संयोजक तथा सङ्घका सल्लाहकार हेमबहादुर विष्टले बताउनुभयो । “लुम्बिनीको स्थानीय खानाको परिकारलाई ब्राण्डिङ गर्ने तयारी गरेका छाँै, उहाँले भन्नुभयो, “बुद्धको समयदेखि नै दूधका परिकार प्रचलनमा रहेकाले केही परिकारलाई ‘ब्राण्डिङ’ गर्छौ ।”

Related Articles

Back to top button
Close