News

परदेशमै हराउँछन् श्रमिक, आवश्यक कागजात परिवारसँग नहुँदा खोज्न असहज

काठमाण्डौ – ‘मेरो छोराछोरी त म माया मार्न सक्दिनँ, मलाई यहाँबाट जसरी पनि फर्काउनु’ मलेसियाबाट सबिता राईलाई श्रीमानले फोनमा आग्रह गरे । कुरा लामो हुन पाएन । एक जना महिलाले फोन खोसिन् । त्यो दिनदेखि कुनै खबर आएको छैन ।

सिन्धुली मरिणखोलाकी ३८ वर्षीया सरिताका श्रीमान शुक्ले राई मलेसिया गएको १० वर्ष भयो । कमाएर सुखैले बसौंला भन्दै परदेशिएका श्रीमान रुँदै फोन गर्छन् । त्यो पनि बेलाबेलामा । अहिले त त्यही फोन नआएको पनि वर्ष दिनभन्दा धेरै भइसक्यो ।

श्रीमानलाई परदेशमा के परेको छ सबिता त्यति जान्नुहुन्न। तर शुक्ले मलेसिया उडेदेखि छोराछोरी र सबिताले अनगिन्ती दुःख र हण्डर खेपेका छन् ।

घरमा तीन छोराछोरीको रेखदेख, अनि श्रीमान परदेश उड्दाको ऋण पनि । सबिताले आफैंले पौरख गरेर बालबच्चाको लालनपालन र पढाईखर्च पुर्‍याउनुभयो । सबितालाई घरको भन्दा यतिबेला उनै कमाउन गएका श्रीमान नफर्किंदाको दुःखले थिचेको छ ।

‘महिलाले बोल्न दिन्नन्, फोन गर्दा पनि, कहाँ छ के गर्दै छ कसरी जान्नु,’ सबिता भन्नुहुन्छ । पहिले पहिले फोन गर्दा भने शुक्लेले खेतिपातीको काम गर्छु भन्नुभएको थियोे ।

घर फर्किन चाहन्छु भनेकाले श्रीमानलाई फर्काउन कोशिस त गर्नुभयो । तर फोन गर्ने हरेक नम्बरमा सबिताको नम्बर ब्लक छन् । फोन लागे पनि उठ्दैन ।

सबिताले सुन्नुभएको छ, ‘शुक्लेले विदेशी केटीसँग बिहे गरेका छन्, बच्चा पनि छ र त्यही केटीको बन्धनमा छन् ।’ त्यस्तो सुन्दैमा मन कहाँ मान्छ र ! सबिता मात्र हो र, तीन छोराछोरी पनि बुवा फर्किने दिनको प्रतिक्षामा छन् ।

सबिताको जस्तै गोरखाकी पूजा गुरुङका श्रीमान गणेश गुरुङको साउदीबाट खबर नआएको ६ वर्ष भयो । २०७२ सालमा श्रीमानका साथीले फोन गरेर भनेका थिए ‘तिम्रो श्रीमान् दुर्घटनामा पर्‍यो, अस्पताल लगेको छ ।’

तर कुन अस्पताल लगेको छ, दुर्घटना कसरी भएको थियो, पूजाले पूर्ण जानकारी नै पाउनुभएन । नुवाकोट घर बताउने अर्का साथीले फोनमै ‘तिम्रो श्रीमानको त मृत्यु भइसक्यो पनि भने ।’ तर यतिका वर्ष बित्दा पनि गणेशको न सासको खबर छ । न त साथीहरुले भनेझैं मृत्यु भनै भएको हो भने पनि लास नै आएको छ ।

पूजाका श्रीमान् गणेश

पूजाका अनुसार गणेश साउदी गएको केही समयपछि कम्पनी छाडेर अवैधानिक हैसियतमा काम गरिरहेका थिए । काम गर्दा के भयो पूजा जान्नुहुन्न । अहिले त गणेशको खबर दिने ती साथी पनि पूजाको सम्पर्कमा छैनन् ।

श्रीमानको बारेमा बुझ्न पूजाले कुनै कसर बाँकी राख्नुभएन । कन्सुलर सेवा विभागदेखि वैदेशिक रोजगार विभाग र साउदीस्थित नेपाली दूतावासमा पनि बारम्बर फोन गर्नुभयो । विभिन्न संघसंस्था धाउनुभयो । तर कसैले पनि गणेशको खबर दिएका छैनन् ।

‘साँच्चै दुर्घटनामा परेको भए या केही भएको भए, मरेबाचेको खबर त हुन पर्ने कि’ पूजा भन्नुहुन्छ, ‘कमाउन गएको मानिसको मरेबाँचेको खबर छैन ।’

हराएका श्रीमानको खोजी र उद्दारको सहयोग माग्दै सबिता र पूजा अहिले काठमाण्डौको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा पुग्नुभएको छ । दुवैको खोजीका लागि प्रयास त भइरहेको छ, तर प्रयाप्त प्रमाण नहुँदा खोजीमा समस्या छ ।

सबिता र पूजाले जस्तै प्रवासी नेपाली समन्वय समितिमा सन् २०१३ देखि नोभेम्बर २०१९ सम्ममा ३८८ जनाका परिवारले परदेशमा हराएका आफ्ना आफन्त खोजीदिन आग्रह गर्दै निवेदन दिएका छन् ।

त्यसमध्ये पीएनसीसीकै प्रयासमा २३१ जना भेटिएका छन् । १०४ जनाको खोजीका लागि पीएनसीसीले प्रयास गरिरहेको छ । तर १०४ जनाको भने खोजी प्रक्रिया स्थिगत गरिएको पीएनसीसीले जनाएको छ ।

पीएनसीसीमा निवेदन परेको आधारमा हराउनेको संख्या सबैभन्दा धेरै मलेसियामा छ । मलेसियामा मात्रै हराएका २ सय नेपाली श्रमिकको खोजीका लागि निवेदन परेको छ ।

त्यसपछि साउदी गएका ६७ जना, कुवेत गएका ४६ जना, यूएई गएका ३२ जना, कतार गएका २२ जना तथा अन्य देशमा गएका ३० नेपाली परिवारको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि पीएनसीसीमा निवेदन दिएका छन् ।

पीएनसीसीमा खोजी गरिदिन निवेदन दिनेको तथ्याँक भए पनि परदेशमा अहिलेसम्म यति नेपाली सम्पर्कबिहीन छन् भन्ने यकिन तथ्याँक कसैसँग पनि छैन ।

परदेशी हराउनुको कारण
कमाउन परदेश जानेहरुको परिवारसँग सम्पर्क नहुनुको कारण एउटा मात्र छैन । कतिपय जानी जानी त कतिपय बाध्यताले पनि परिवारको सम्पर्कमा आउन सकिरहेका हुँदैनन् । चालचलन र रहनसहन नमिल्ने देशमा भिज्न सजिलो कहाँ हुन्छ र ! कतिबेला कस्तो बाध्यता आइपर्छ भन्नै सकिंदैन ।

पीएनसीसीले हराएका परदेशी खोजीका क्रममा हराउने विभिन्न कारणहरु पत्ता लगाएको छ । कतिपय परदेश लागेको धेरै वर्ष भएपछि परिवारसँगको आत्मीयता टुट्दै जाँदा पनि बिस्तारै सम्पर्कबिहीन हुन्छन् भने कतिपय चाहिँ प्रेम सम्बन्धका कारण पनि परदेश गएपछि घरपरिवारमा सम्पर्क गर्दैनन् ।

पारिवारिक मनमुटाव, विदेशमा मृत्यु भएको अवस्थामा उनीहरूको शव परदेशमै गायब पार्ने समस्याका कारणसमेत श्रमिकहरु वर्षौँदेखि परिवारको सम्पर्कमा आउन सकेका छैनन् ।

कतिपय श्रमिक चाहिँ आकश्मिक जेल पर्दा पनि परिवारलाई आफ्नो अवस्थाको बारेमा बताउनु पाउँदैनन र सम्पर्कबिहीन हुन्छन् । घरेलु श्रमिकका रुपमा जानेहरु पनि रोजगारदाताले नै परिवारसँगको सम्पर्क बिच्छेद गरिदिने भएकाले परिवारलाई खबर आउँदैन ।

खोज्न अप्ठेरो
परिवारसँग सम्पर्कबिहीन भएकाहरुलाई आवश्यक कागजात नहुँदा खोज्न समस्या भएको पीएनसीसीले जनाएको छ । एक हजारभन्दा धेरै युवा रोजगारीका लागि परदेशिन्छन् ।

उनीहरु सबैले विदेश जाने प्रक्रिया गर्दा बनेका कागजात परिवारलाई छाडेका हुँदैनन् । कतिपय श्रमिकका परिवारलाई त विदेश गएको भन्दा बाहेक अरु जानकारी नै नभएका उदाहरण पनि छन् ।

‘कतिपयसँग न पासपोर्ट नम्बर हुन्छ, न अरु प्रमाण, मात्र आफ्नो मान्छेको नाम र फोटो मात्र हुन्छ, यस्तो अवस्थामा भने खोज्न निकै समस्या हुन्छ,’ पीएनसीसीकी कार्यक्रम अधिकृत शान्ति सिंह सुनाउनुहुन्छ ।

पीएनसीसीमा खोजीका लागि निवेदन दिनेहरुको सम्बन्धित देशमा रहेको नेपाली दूतावास, संघसंस्था, कन्सुलर सेवा विभागका साथै अध्यागमन विभागसँग पनि समन्वय गर्ने गरेको पनि सिंह बताउनुहुन्छ ।

तर त्यसका लागि कम्तीमा पासपोर्ट नम्बर र श्रमिकले काम गर्ने देशसँगै ठाउँ मात्र थाहा भए पनि खोजीका लागि सहज हुने उहाँको भनाइ छ ।

Related Articles

Back to top button
Close