News

भारतको संसद बैठकमा मोदीको पार्टीका सांसदले नेपालीमा बोले (भिडियो हेर्नुस्)

काठमाडौं। भाषाले मुलुकको राष्ट्रियता झल्काउँछ । कुनै पनि मुलुकका लागि भाषा निकै महत्व राख्दछ । नेपालमा भाषाका कारण पनि आन्दोलन भएका छन् । नेपालको संसद बैठकमा कैयौं मधेसी सांसदहरुले हिन्दी भाषामा बोल्दा टिप्पणी हुने गरेको छ । कतिपय नेता र मन्त्रीले सपथ लिँदा पनि हिन्दी भाषामै लिने गरेका छन् ।

नेपालमा हिन्दी भाषा अधिकांश नेपालीले बोल्ने भन्दै हिन्दीलाई नेपालको प्रमुख भाषाका रुपमा राख्नुपर्ने आवाज कतिपय मधेसवादी दलका नेताहरुले राख्नेगरेका छन् । यस्तै भारतका कतिपय क्षेत्रमा नेपाली भाषा बोल्ने भारतीयहरु पनि छन् । उनीहरु भारतको संसदमा पुगेका छन् । अहिले भारतको लोकसभा बैठकमा पनि नेपाली मातृभाषा भएका भारतीय सांसदले नेपालीमा बोलेका छन् । भारतीय जनता पार्टीको सांसदको रुपमा दार्जिलिङबाट प्रतिनिधित्व गर्ने सांसद राजु बिष्टले लोकसभा बैठकमा नेपालीमा बोलेका हुन् । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मंगलवारको लोकसभा बैठकमा विष्टले तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्न सरकार समक्ष माग राख्दा नेपाली भाषामा बोलेका थिए । तेन्जिङ नोर्गे पहिलो सगरमाथा आरोही हुन् । सगरमाथा आरोहणका समयमा नेपाली नागरिक रहेका तेन्जिङले पछि भने भारतीय नागरिकता लिएका थिए ।

विष्टले असाधारण परिस्थितिहरूका बाबजुद तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु ‘आइकन’ बनेको भन्दै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गर्न आग्रह गरेका हुन्। पहिले हिन्दीमा ‘म पनि मेरो कुरा मेरो मातृभाषामा राख्छु’ भनेर बिष्टले नेपालीमा बोल्न सुरु गरेका थिए ।

Related Articles

Back to top button
Close