News

भोट ल्याउन नसकेपछि बाबुराम र उपेन्द्रको समाजवादी पार्टीको ज’मानत ज’फत !

कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या छ रहेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा रहनुभएका उहाँहरुमा दुई जनाले एक–एक मत, तीन जनाले चार–चार मत र एक जनाले पाँच मत पाउनुभएको छ ।

Ads by AdMana.net
राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । कास्की २ मा मतको आधारमा तेस्रो स्थानमा रहनुभएका सो दलका धर्मराज गुरुङले एक हजार ९२२ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा(माले)का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, काँग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत पाउनुभएको छ ।

स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रनुभएका उमानाथ गौतमले एक, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले पाँच, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले एक, रनबहादुर दमैले चार, लक्ष्मीकुमारी भुजेलले चार, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले चार मत पाउनुभएको छ ।

महोत्तरीका चार पद चार दलका पोल्टामा

महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टीे नेपाल र समाजवादी पार्टी एक एक पदमा निर्वाचित भएका छन् ।

पिपरा गाउँपालिकाका अध्यक्षमा (नेकपा) का विक्रम चौधरी तीन हजार २४९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याउनुभएको थियो ।

त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा काँग्रेसका विपीन पञ्जीयार सुडी ४६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका वृजलाल साह सुडीले ३५२ मत ल्याउनुभएको थियो । यसैगरी बलवा ८ मा भएको वडाध्यक्षको निर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याउनुभएको थियो ।

त्यसैगरी मटिहानी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षमा राजपाका रामबाबु नायक ३७५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याउनुभएको थियो ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिका अध्यक्षमा राजपा विजयी भएको थियो भने यसपालि नेकपाले बाजी मारेको छ । अन्य तीन स्थानमा पुनः पहिले जितेका दल नै दोहोरिएका छन् । बलवा–२ मा यसअघि पनि काँग्रेसले नै बाजी मारेको थियो । त्यस्तै वडा नं ८ मा पनि यसअघि समाजवादी पार्टी तथा मटिहानी –६ मा यसअघि राजपाले नै जितेका थिए ।

Related Articles

Back to top button
Close