News

प्रचण्डको राजनीतिक प्रतिवेदन– पार्टीभित्र घात र अन्तर्घात बढ्यो

काठमाडौं– आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा भइरहेको ढिलाइको ‘आलोचना’ गरेका छन् ।

आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त अवस्थामा रहेको पनि बताएका छन् ।

राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नै हुन नसकेको उल्लेख गरेका प्रचण्डले पार्टीभित्र विभिन्न गुटहरु झाँगिदै जान थालेको समेत बताएका छन् । साथै, पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा रहेको पनि प्रचण्डको ठहर छ ।

आफ्नो राजनीतिक प्रतिवेदनको बुँदा नम्बर (३) ‘पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा’ प्रचण्डले भनेका छन्– पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइ, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार, प्रशीक्षण र स्कूलिङको अभावका कारण आज पार्टी अन्यौलग्रस्त अवस्थामा रहेको छ ।

‘पार्टी संस्थागत छैन, बरु विभिन्न प्रकारका गुटहरु झाँगिदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्तिहरु बढिरहेका छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ,’ अध्यक्ष प्रचण्डले अगाडि भनेका छन्, ‘पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । अलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन ।’

Related Articles

Back to top button
Close