News

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ ।

विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ । विमान पार्किङ क्षेत्रमा मार्किङको काम तीव्र पारिएको छ । त्यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउनेदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको विमानस्थल सुदृढीकरण कार्यान्वयन आयोजना एकाइ रूपन्देहीका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनु भयो ।

“टर्मिनल भवनमा अहिले फिनिसिङ र उपकरण जडानको काम भइरहेको छ । त्यस्तै धावनमार्गको सिभिल निर्माणतर्फको काम सबै सकेर अहिले लाइट जडानको काम अगाडि बढेको छ”, उहाले भने । समग्रमा विमानस्थलको भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको उहँले बताउनु भयो ।

सबै उपकरण आइसकेको र जडानको काम मात्र बाँकी रहेकाले अब भौतिक प्रगति स्वतः बढ्ने आयोजनाले जनाएको छ । धावनमार्गका बत्ती तथा सञ्चार उपकरण पुसभित्र आइपुग्ने र त्यसको एकदेखि डेढ महिनाभित्र जडान पूरा हुने आयोजनाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले लेखेका छन् ।

लुम्बिनीमा ११ महिनामा १४ लाख पर्यटक

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटकहरु अघिल्लो वर्षको तुलनामा बढेका हुन् । पर्यटक संख्या बढेपनि उनीहरुको बसाई अवधि भने लम्बिन सकेको छैन ।

बितेको ११ महिनामा लुम्बिनी भ्रमण गर्ने विदेशी, भारतीय र नेपाली पर्यटकहरुको संख्या १४ लाख पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार गतवर्षको तुलनामा पर्यटकहरुको संख्या सामान्य वृद्धि भएको हो ।

सन २०१९ को ११ महिना (जनवरीदेखि नोभेम्बर) सम्म लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुको संख्या १३ लाख ८१ हजार ८ सय ४९ जना पुगेको तथ्यांक कोषले सार्वजनिक गरेको छ । जसमध्ये तेस्रो मुलुकका एक लाख ५५ हजार पाँच सय तीन जना पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । आन्तरिक पर्यटक १० लाख ४९ हजार ७ सय दुई जनाले लुम्बिनी भ्रमण गरेका छन् भने एक लाख ७६ हजार ६ सय ४४ भारतीय पर्यटक यो अबधिमा लुम्बिनी अवलोकनका लागि आएका छन् ।

यो संख्या गत बर्षको सोही अबधिमा तुलनामा थोरैले बढी हो । गत वर्ष यही अवधिमा तेश्रो मुलुकका एक लाख ५१ हजार सात सय ३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका एक लाख ६२ हजार दुई सय ११ गरी जम्मा १३ लाख ५६ हजार नौ सय ९३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । बर्ष २०१८ मा कुल लुम्बिनी पुग्ने पर्यटकहरुको संख्या १४ लाख ३३ हजार एक सय १० जना थियो ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुको संख्या बढे पनि उनीहरुको बसाई अवधि भने लम्बिन सकेको छ । पर्यटकको बसाई छोंटो हुँदा पर्यटन व्यवसायबाट अपेक्षित लाभ प्राप्त हुन नसकेको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।

प्रदेश पाँच सरकारको जारी लुम्बिनी भ्रमण बर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० संघारमा आउँदै गर्दा पर्यटक आगमन अपेक्षा अनुसार नबढ्दा पर्यटन ब्यवसायीमा निराशा बढेको छ । तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमारलगायतका देशहरुबाट पर्यटकहरु लुम्बिनी आउँछन् ।
लुम्बिनी पुग्ने पर्यटकहरुको संख्या धेरै देखिए पनि यहाँका पर्यटन व्यवसायीहरु भने खासै उत्साहित छैनन् । आगन्तुकमध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा रात बिताउँछन् । सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजनामा लुम्बिनी आउने पर्यटकहरुले सरदर एक रात मात्रै बास बस्ने गरेको उल्लेख छ । यो विदेशी पर्यटकको बसाइ अवधिका आधारमा निकालिएको तथ्याङ्क हो । लक्ष्मण पौडेलले यो समाचार गोरखापत्र अनलाइनमा लेख्नु भएको छ ।

Related Articles

Back to top button
Close