News

काठमाडौंमा पानी पर्‍यो, चन्द्रागिरिमा पनि हिउँ पर्यो

काठमाडौं, २७ मंसिर । शुक्रवार विहान काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ । काठमाडौं उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भएको छ भने कतिपय स्थानमा अलि ठूलो वर्षा भएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं नजिक चन्द्रागिरीमा शुक्रवार हिमपात भएको छ ।

बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । चन्द्रागिरीमा हिउँ परेपछि हिउँमा रमाउन चाहनेहरु चन्द्रागिरी पुगेका छन् ।

महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । देशको पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको उनले बताए ।

पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ । राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

भोली देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने छ । आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उहाँले बताउनुभयो । साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उहाँको भनाइ छ । विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् ।
त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताउनुभयो ।

हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो । डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन् ।

Related Articles

Back to top button
Close