News

‘सन्तानलाई निजगढमा संसारकै राम्रो विमानस्थल दिने कि बुढा रुख मात्रै देखाउने ?’

२७ वर्ष अघिदेखि बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना बने पनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन ।

विमानस्थलको लागि लगानी भन्दा पनि वातावरणीय मुद्दाले बहस चर्काएको छ । सम्भाव्यता अध्ययन गर्दा निजगढ विमानस्थलको लागि ८ हजार हेक्टर क्षेत्रको कल्पना गरियो र त्यहाँ २५ लाख रुख रहेको भेटियो । वातावरणविद्हरुले विमानस्थलको नाममा आउने २५ लाख रुख नै काट्न लागिएको भन्दै विरोध जनाएका छन् । तर विमानस्थल आयोजनाले भने थोरै मात्रै रुख काटिने र काटिएका रुखको १० गुणा रुख हुर्काउने जनाएको छ ।

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढमा जस्तो ठाउँ नेपालमा अन्यत्र नभएको सरकारी दाबी छ । निजगढ विमानस्थले नेपालको अर्थतन्त्रलाई नै कायापलट गर्न सक्ने सरकारी अनुमान छ ।

तर सर्वोच्च अदालतले एउटा मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै अर्को आदेश नभएसम्म काम अघि नबढाउन भनेको छ र सम्बन्धितलाई छलफलको लागि बोलाएको छ । निजगढमै किन अन्तर्राष्ट्रिय विमानस्थल किन बनाउनुपर्‍यो भन्ने विषयमा अर्जुन पोख्रेलले नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदीप अधिकारीसँग गरेको कुराकानी :

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनास्थलमा के काम भैरहेको छ ?

कुनै आयोजना निर्माण सुरु गर्नुअघि केही कामहरु गर्नुपर्छ । नेपालको सार्वजनिक खरिद ऐनले कुनै पनि आयोजनाको ठेक्का लगाउनुपूर्व जग्गा अधिग्रहण गर्नुपर्ने, वातारणीय प्रभाव अध्ययन गर्नुपर्ने, साइट क्लियर गर्नुपर्ने लगायतका काम गर्नुपर्ने भनेर तोकेको छ ।

जग्गा र वातावरणको कारण पछि विवाद नहोस् भनेर नै खरिद ऐनले यो व्यवस्था गरेको हो । खरिद ऐनको प्रावधानअनुसार अहिलेसम्म हामीले निजगढमा काम गरिरहेका छौं । अहिलेसम्म निजगढमा वातावरणीय प्रभाव मूल्याङन ईआईए र जग्गा अधिग्रहणको काम पनि सकिसकेका छौं ।

नेपाल सरकारले घोषणा गरेको विमानस्थलको ८ हजार हेक्टर क्षेत्र वरपर तारबार लगाउने काम पनि हामीले सम्पन्न गरिसकेका छौं । पश्चिममा पसाहा नदीले सधैं दु:ख दिइरहन्थ्यो, त्यसलाई पनि हामीले ८ किलोमिटर लामो क्षेत्रमा तारजाली लगाएर व्यवस्थित गरिसकेका छौं ।

जंगलका लागि पनि कति रुख काट्ने लगभग हामीले टुंग्याउन थालेका छौं । रुखको विषय अहिले वन तथा वातावरण मन्त्रालयमा छ, मन्त्रिपरिषदले त्यसलाई स्वीकृत गरेपछि कटानको काम सुरु हुन्छ । अहिले हामीले पूर्व तयारीको काम गरिरहेका छौं ।

लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्विजरल्याण्डको जुरिच एअरपोर्टसँग प्रारम्भिक समझदारी गरेको छ, जुरिचले तपाइँहरुसँग कुराकानी थाल्यो ?

लगानी बोर्डले जुरिचसँग प्रस्ताव माग गरेको हो । उसले नै बनाउने भनेर अन्तिम समझदारी भएको होइन । तर यसको पुरै छिनोफानो हुन पनि ७/७ महिना लाग्न सक्छ । त्यही बीचमा हामीले साइट क्लियरेन्सका सबै काम पूरा गरिसक्नुपर्छ । अनि अर्को कुरा जुरिचले नबनाए पनि निजगढ त नेपाल सरकार आफैंले भए पनि बनाउने भनेकै छ । निर्माणको लागि साइट क्लियरेन्स त हुनै पर्‍यो नि । त्यसैले हामीले निर्माण थाल्नुअघिका काम सक्नुपर्छ, र सक्न थालेका छौं ।

निजगढमा रुखको विवाद र बहस चर्किँदै गएको छ । ८ हजार हेक्टर क्षेत्रकै २५ लाख रुख काट्नुपर्ने भन्ने हल्ला पनि चल्यो, तर तपाईँहरुले खण्डन गर्नुभयो । गएको वर्ष संसदीय समितिले स्थलगत अध्ययन गरेर बढीमा ५ लाख रुख काटे पुग्ने भन्यो । काट्नुपर्ने रुखको संख्या कति हो

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल नबनाइ नहुने भएकाले हामीले यो ठाउँ छानेका हौं । वतावरणीय हिसाबले सबैभन्दा कम क्षति हुने ठाउँ निजगढ नै हो । यहाँ जम्मा १४ सय घरधुरीको व्यवस्थापन गरे पुग्छ । संसारमा यस्तो ठाउँ कतै पनि छैन, जहाँ १४ सय परिवार मात्रै विस्थापित हुँदा पूर्ण क्षमताको विमानस्थल बनोस् ।

संसारकै सबैभन्दा ठूलो जहाज बोइङ ७७७ सिरिज वा एअरबस ३८० यहाँ बस्न सक्छन् । यस्तो ठूलो विमानस्थल हाम्रोमा त सबैभन्दा कम वातावरणीय क्षतिमा सम्पन्न हुँदैछ ।

अनि रुखको खुब धेरै बहस भैरहेको छ । हामीले रुख मात्रै पाल्ने हो त ? वातावरण वातावरण भन्दा हामी नागरिकका अधिकार छाड्ने त ? विकास नै रोक्ने त ? हामीले त जति रुख काटिन्छ, त्यसको १० गुणा धेरै रुख प्रदेश २ मै रोपेर हुर्काउने भनेका छौं । एकथरीले सरकारलाई विश्वास नै नगरेर एकोहोरो रुखको गीत गाउने अनि हामी र हाम्रा सन्ततिले विदेशको विकास हेरेर थुक निल्ने मात्रै हो ?

हाम्रा सन्तानको लागि निजगढमा संसारकै उत्कृष्ट विमानस्थल छाडेर जाने कि बुढा रुख मात्रै राखिदिने ? अहिले देशको जीडीपीमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्न सक्ने र देशको अर्थतन्त्रलाई कायापलट गर्न सक्ने एउटा परियोजना छ त ? मलाई लाग्छ छैन । तर निजगढ यस्तो एउटा परियोजना हो, जुन देशको आर्थिक, सामाजिक विकासमा रोलमोडल हुन सक्छ ।

भनेपछि निजगढमा रुखको बारेमा हल्ला धेरै भएको हो ?

सरकारलाई चाहिँ रुख नचाहिएकै जस्तो गरेर यहाँ केही वातारवरणविद्हरुले हल्ला गरिरहेको सुनिन्छ । हामीलाई रुख चाहिन्न र ? के हामी श्वास नफेरी बाँच्न सक्छौं त ? श्वास त हामीले पनि फेर्नुपर्छ नि ।

अन्धाधुन्ध रुख काट्नलाई हामी चाहिँ वातावरण विरोधी हो ? निजगढ विमानस्थल आयोजनामा रुखको विषयलाई उचालेर केही स्वार्थ पूरा गर्ने प्रयास भैरहेको छ । तर सरकारले देशको मुहार फेर्ने आयोजना रोक्न सक्दैन, रुख अन्यत्र रोपिन्छ, निजगढमा विमानस्थल निर्माणको अर्को विकल्प छैन ।

तपाईँहरुले निजगढको विकल्प नखोज्नुभएको कि विकल्प खोज्दा ठाउँ उपलब्ध नभएको ?

तपाईँले महत्वपूर्ण कुरा उठाउनुभयो । हामीले अन्त कतै अध्ययन नगरी एकोहोरो रटानकै भरमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको होइन । हामीले नेपालका १० ठाउँमा पूर्व सम्भाव्यता अध्ययन गरेको हो ।

हामीले चितवनको शुक्रनगरमा पनि अध्ययन गरेको हो । त्यहाँ राष्ट्रिय निकुञ्ज नजिकै भयो, अर्को कुरा काठमाण्डौबाट चितवन पुग्न द्रुत मार्ग भएन, दूरी टाढा छ, निजगढमा जति हवाई क्षेत्र छ, त्यति हवाइ क्षेत्र नेपालको कुनै पनि ठाउँमा छैन । नागरिक उडड्यनको क्षेत्रमा काम गर्ने संसारका धेरै राम्रा विज्ञले पनि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढ जस्तो राम्रो लोकेशन अन्त छैन भनेका छन् ।

वातावरणविद्हरुले रुखको संख्यालाई जोड दिएका छन् । लाखौँलाख रुख काटिने भनेर आलोचना पनि भएको छ ? संख्या चाहिँ कति हो ?

हामी संख्याको पछि किन लागिरहेका छौं मैले बुझ्न सकेको छैन । वातावरणीय प्रभाव मूल्यांकनले २५ लाख रुख काट्नुपर्छ भन्यो भनेर हल्ला भैरहेको छ, त्यो साँचो छैन । २५ लाख रुख त ८ हजार हेक्टर क्षेत्रफलका हुन् । तर विमानस्थल बन्ने त ८ हजार हेक्टर क्षेत्रफलमा होइन ।

८ हजार हेक्टर क्षेत्रफल विमानस्थलको नाममा मात्रै आउने हो, भोलि विमानस्थलको विस्तार गर्नुपर्ने हुन्छ, अन्य पर्यटकीय संरचना बनाउनुपर्ने हुन्छ । यस्तै यस्तै कामको लागि २५ लाख रुख भएको ८ हजार हेक्टर क्षेत्र विमानस्थलको नाममा मात्रै आएको हो ।

२५ लाख रुख काट्ने कुरा सरासर गलत हो । अहिले पोखरा, भरतपुर र काठमाण्डौमा जग्गाको लागि समस्या भयो, पहिलेनै विमानस्थलको नाममा जग्गा राखेको भए सहज हुन्थ्यो नि । हामीले भोली आउने समस्या कम गर्न विमानस्थलको नाममा जग्गा राखेको हो ।

यदि रुख मात्रै काट्ने नियत हुन्थ्यो भने त हामी उत्तरतिर लाग्थ्यौँ होला । तर अहिले हामीले दक्षिणतिरको क्षेत्रलाई प्राथमिकता दिएका छौं । त्यहाँ १२ सय बिघाजति जग्गा छ । बरु हामीले टाँगिया बस्ती सार्न थाल्यौँ, तर उत्तरतर्फका धेरै रुख नचलाउने भनेका छौं । हामीले त वन विनाश गर्ने भनेका छैनौं, गेम चेञ्चर आयोजना बनाउन खोजेको हो ।

तपाईँले गेम चेञ्चर आयोजना भनिरहनुभएको छ, निजगढ के कारणले गेम चेञ्जर आयोजना हो त ?

यो स्तरको आयोजना बन्दा प्रत्यक्ष रुपमा ५ लाख नागरिकले रोजगारी पाउँछन् । ५ लाख जनाले आयोजना बन्दाको बेला रोजगारी पाउँछन् । विमानस्थल सञ्चालनमा आएपछि १० हजार नागरिकले हरेक समय रोजगारी पाइरहेका हुनेछन् ।

अहिले नेपालमा वार्षिक ७२ लाख हवाई यात्रु छन् । तीमध्ये आन्तरिकतर्फ ४२ लाख र अन्तर्राष्ट्रियतर्फ ३० लाखको हाराहारीमा मात्रै यात्रु छन् । तर निजगढ विमानस्थलको एउटा मात्रै रन वे को क्षमता डेढ करोड यात्रुको हो । सबै गरेर वार्षिक ६ करोड यात्रु धान्न सक्छ । काठमाण्डौ, भैरहवा र पोखरामा ठूला जहाज जाँदैनन्, यसमा त संसारमा अहिलेसम्म बनेका सबै जहाज आउजाउ गर्न सक्छन् । ठूलाठूला कार्गो जहाज आउन सक्छन् ।

हाम्रा उडान पनि एक डेढ घन्टा छिटो हुन सक्छन् । हामीले हिमालय रुटको प्रयोग बढाएर थप आम्दानी गर्न सक्छौं । हामीले त आकाश बेचेरै पनि कमाउन सक्छौं नि ।

अहिले काठमाण्डौ आउने जहाज धेरैबेर आकाशमा होल्ड भैरहेका हुन्छन्, यसको समाधान पनि निजगढ विमानस्थल बन्न सक्छ ?

तपाईँलाई म एउटा नयाँ कुरा भन्न चाहान्छु । अहिले काठमाण्डौ आउने जहाज महिनामा ६ सय घन्टा होल्डमा बस्ने रहेछन् । एक महिनामा ६ सय घन्टा जहाज आकासमै घुम्दा त्यहाँ कति प्रदुषण भयो होला, कति खर्च बढ्यो होला अनि यात्रुको मानसिक अवस्था के भयो होला ? देशमा यस्ता समस्या छन्, हामी खाली रुख मात्रै भन्दै हिँडेका छौं । काटिने रुखको शोधभर्ना गर्नेमा त शंकै नगरे हुन्छ नि ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा छ । दुई वर्षपछि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार हुँदैछ । यति सानो देशमा त्यत्रो ठूलो जहाज किन चाहियो भन्ने बहस पनि चलेको छ नि ?

हो, हामीसँग छिटै ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल हुनेछन् । तर यी ३ वटै विमानस्थल पूर्ण क्षमताका अन्तर्राष्ट्रिय विमानस्थल होइनन् । यी तीनवटै विमानस्थल सीमितता नै सीमितताले घेरिएका छन् । काठमाण्डौमा कुहिरो लाग्यो भने जहाज बस्न सक्दैनन् । रन वे मा सामान्य समस्या देखिएमा पनि भारत डाइभर्ट हुनुपर्छ ।

गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भैसकेपछि यस्ताे देखिनेछ
गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भैसकेपछि यस्ताे देखिनेछ

पोखराको कुरा गर्दा झनै सानो विमानस्थल हो, भैरहवामा पनि पूर्ण क्षमताका जहाज आउजाउ गर्न सक्दैनन् । अहिले भएका विमानस्थल त प्रारम्भिक विमानस्थल मात्रै हुन् । हामीले निजगढमा विमानस्थल बनायौं भने मात्रै त्यो पूर्ण क्षमताको हुनेछ । वातावरणविद्हरुले पनि विदेशमा देख्नुभएको होला । ठूलाठूला विमानस्थल, नेपालमा पनि यस्तै विमानस्थल बनाउन पाए हुन्थ्यो भन्ने उहाँहरुलाई लाग्दैन होला कि !

हाम्रोमा यो विवाद बढिरहेको छ, विकास र वातावरणलाई कसरी मिलाउने होला त ?

हामीले रुख काटेर विकास गर्न हुन्न भनेर सुगा रटान लगाउन भएन । विकास र वातावरणलाई सन्तुलिन ढंगले अघि बढाउनुपर्‍यो । देशमा यति ठूलो आयोजना बन्दैछ, यसलाई त हरेक नेपालीले अपनत्व लिएर सहयोग गर्नुपर्छ । हामीले कतिपटक भन्ने काटिएका रुखको शोधभर्ना गर्छौं भनेर ।

सरकारलाई नै विश्वास नगरेर हल्ला गर्दै हिँड्न त भएन नि । देशमा विकास भएन भनेर लेख्दै/बोल्दै हिँड्ने अनि काम गर्ने बेलामा चाहिँ अवरोध सृजना गर्ने परम्परा हटाउनुपर्छ ।

सन्तुलित विकास कसरी हुन सक्छ भनेर बहस गरौं । तर विमानस्थल बन्नै हुन्न, रुख छुनै पाइन्न भनेर त समाधान निस्कन्न नि । यस्ता विषयमा विकास नै हुन दिन्नौं भन्न हुँदैन । मैले अघि नै भनिसकेँ, भोलिका सन्ततिलाई हामीले रुख मात्रै छाडेर जाने कि गर्व गर्न लायक केही परियोजना पनि बनाउने त ?

निजगढ छाडेर अरु खालि जग्गामा विमानस्थल बनाउनुपर्छ भनेर भैरहेका बहसमा औचित्य र गुदी छैन ?

यो विमानस्थलको बारेमा ४० वर्षदेखि अध्ययन भैरहेको छ । नागरिक उड्डनका क्षेत्रका कयौं विज्ञले अध्ययन गरे, निजगढको विकल्प देखेनन् । तर २०/२५ वर्षसम्म हुलाकमा र प्रशासनमा जागिर खाएका रिटायर्ड कर्मचारीले विमानस्थल यहाँ बनाउ र त्यहाँ नबनाउ भन्नु पटक्कै सुहाउने कुरा होइन ।

उनीहरुले अरुको विज्ञताको कदर गर्नुपर्छ । भावना आएर यता सारौं, अलि उता साराैँ भनेर यति ठूला आयोजनालाई उनीहरुले निकै हल्का रुपमा लिएका छन् ।

अन्तिममा, पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढ बाहेक ठाउँ छैन, तपाइँहरुले विकल्प पनि खोज्नुहुन्न ?

देशलाई अघि बढाउने हो र आर्थिक रुपमा कायापलट बनाउने हो भने यो भन्दा ठूलो र राम्रो अर्को प्रोजेक्ट छैन । देश सानो छ भनेर आयोजना पनि सानै बनाउनुपर्छ भन्ने छैन ।

तपाईँले १ किलोमिटर रन वे भएका विमानस्थलले के के योगदान दिएका छन्, सम्झनुस् त । सिमकोटमा १ किलोमिटर लामो रन वे हुँदैनथ्यो भने अहिले हुम्लाको सम्पर्क बाहिरी जिल्लासँग कसरी हुन्थ्यो ?

त्यस्तै हामीले निजगढमा ४ किलोमिटर लामो रन वे बनायौं भने त्यसले विश्व जोड्छ, । देशको नक्सासँग यसको मतलव छैन, विमानस्थल भनेको त विश्वव्यापी सञ्जाल बढाउने माध्यम हुन् ।

Related Articles

Back to top button
Close