News

गोप्य रुपमा भारतिय दूतावास छिर्ने डिआईजी कार्बाहीमा

नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बलले उनीसँग स्पष्टीकरण सोधेको थियो । डिआइजी श्रेष्ठले तालिमसम्बन्धी विषयमा छलफल गर्न दूतावास गएको बताएका थिए । तर, उनले अनुमति लिएका थिएनन् । पदीय अनुशासनविपरीतको काम गरेको भन्दै उनलाई सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरूप सचेत गराएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कुनै पनि सरकारी कर्मचारीले विदेशीसँग भेट्न सम्बन्धित मन्त्रालयबाट अनुमति लिनुपर्छ । अनुमतिविना दूतावास जाने तथा विदेशीहरूलाई भेट्ने कर्मचारी कारबाहीमा पर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठ बताउँछन् । यस सम्बन्धमा गृह मन्त्रालयले समेत परिपत्र गर्दै आएको छ ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ । अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, डिआइजी श्रेष्ठ दूतावास गएकोबारे सशस्त्र प्रहरी मुख्यालयलाई नै जानकारी गराएका थिएनन् । डिआइजी श्रेष्ठ सशस्त्र प्रहरीको कमान्ड एन्ड स्टाफ कलेजमा कार्यरत छन् ।

Related Articles

Back to top button
Close