News

धुर्मुस सुन्तली फाउण्डेशनले बनाउँदै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो

काठमाडौं, २५ मंसिर । चितवनमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् ।

विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले सोमबार भ्रमण गर्न आएको एक समूहले रङ्गशाला निर्माणका लागि रु ६० हजार सहयोगसमेत गरेको बताए ।

राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो । दश दिनअघिदेखि प्रवेशको व्यवस्था मिलाइएपछि दैनिक सङ्ख्या बढ्दै गएको कट्टेलले बताए । कैलाली, कञ्चनपुर, अर्घखाँची, झापा, दाङ, बागलुङलगायतका जिल्लाबाट रङ्गशाला हेर्ने आएका जानकारी दिए ।

निर्माण हुँदै गरेको रङ्गशालाको अवलोकन र तस्वीर खिच्नेको भीड लागेको छ । अहिले रङ्गशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने कामसमेत भइसकेको छ । पाँगो माटो व्यवस्थापन गर्ने काम भइरहेको भन्दै उहाँले मैदानको कालोपत्रका लागि ढुङ्गा बिछ्याउने काम भइरहेको जानकारी दिए । एक फिट मोटो ढलान गर्नुपर्ने भएकाले १४१ कामदार खटिएको उनले भने ।

रङ्गशालामा नमूना खेलमैदान निर्माण गरी दुई मैत्रीपूर्ण खेलसमेत सम्पन्न भएका छन् । रङ्गशला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाका विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उहाँले जानकारी दिए । निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुनसकेको छैन । रु आठ करोड हाराहारी बोलकबुल भएकामा रु एक करोड मात्र सङ्कलन भएको भन्दै कट्टेलले हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलबाहेक रु तीन करोड सङ्कलन भएको बताए । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने जानकारी दिए ।

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
तेह्रौँ दक्षिण एशियाली खेलकुद ९साग०मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गरेका छन् ।

प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो । आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको परिचय स्थापित गरे ।

तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ छन् । यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरले स्वर्ण पदक प्राप्त गरे ।

यस्तै गल्फमा सुवास तामाङ, बक्सिङमा मीनु गुरुङ, जुडोमा पुनम श्रेष्ठ, दुवाथोलनमा हिमाल टमाटा तथा फुटबलमा सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बेले स्वर्ण पदक हासिल गरेका छन् ।

महासेनानी रायमाझीका अनुसार गत कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक खेलकूद (सिज्मस्) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो ।

उनले भने, “खेलाडी छनोटमा हामीले विशेष ध्यान पु¥याउनुपर्छ, प्रतियोगिता जित्न खेल सामग्री, खेलाडीमा खेल्छु भन्ने भावना, खेलाडीको शारीरिक तन्दुरुस्ती तथा क्षमताले प्रभाव पार्छ, विभागबाट प्रदान गरिँदै आएको निरन्तर तालिमले पनि पदक जित्न मद्दत गरेको हो ।”

Related Articles

Back to top button
Close