News

रविन्द्रकै समान भोट ल्याइन् विद्याले: १५ हजार गन्न बाँकी छँदा, विद्या ८ हजार मतले अगाडी

काठमाडौं, १५ मंसिर । कास्की २ मा भएको प्रतिनिधि सभा सदस्यका लागि भएको मतदानमा अब १५ हजार भोट गन्न बाँकी छ । सो निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराईको अग्रता कायम छ । मतगणना सुरु हुनासाथ अग्रता लिएकी भट्टराईले अन्तर बढाउँदै लगेकी हुन् ।
शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। आइतबार अपरान्हसम्म ३० हजार ३ सय ३५ मत गणना सकिँदा विद्याले १७ हजार ६ सय ५० मत पाएकी छन्।

यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । अघिल्लो निर्वाचन रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गरेका थिए । ११ वडामध्ये अझै ५ वडा वडाको मतगणना बाँकी नै छ । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत प्राप्त गरेका छन् ।तेस्रो स्थानमा समाजवादी पार्टीका धर्मराज गुरूङ छन्। उनले १३१६ मत ल्याएका छन्। साझा पार्टीकी उम्मेदवार रजनकी केसीले ४५७ मत पाएकी छन्। मतगणना जारी छ।

भरतपुर विमानस्थल १० दिनका लागि बन्द

भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो ।

“आजदेखि १० दिन बन्द गरेर करीब एक हजार २०० मिटरको धावनमार्गमा मर्मतसम्भार गर्दैछौँ”, विमानस्थल प्रमुख गौतमले भने, “पार्किङ पनि सुविधायुक्त बनाउँछौँ”, विमानस्थलको धावनमार्ग ठाउँ–ठाउँमा भत्किएको र कतैकतै उप्किएकाले मर्मतसम्भार गर्न लागिएको गौतमले बताए ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनुभयो । विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ । रातिको समयमा चिसो मौसम भएकाले काम गर्न नसक्ने तथा दिउँसोमा विमानका कारणले काम गर्न असहज भएकाले बन्द गरेरै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ । हालको ७०÷७० मिटर रहेको पार्किङलाई बढाएर ९०÷८० को बनाइनेछ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेटस्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्गमा रहेको कालोपत्रेमा थप गर्ने र पार्किङ क्षेत्र विस्तारका लागि रु चार करोड ४२ लाख ४७ हजार ७८८ लागत अनुमान गरिएको छ ।

बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । हाल भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक आठ तथा बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएका छन् । विमानस्थलबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् ।

भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन सक्नेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयस्तरको कार्यदल गठन गरेर विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ ।

Related Articles

Back to top button
Close