News

देशको ‘नाक’ जोगाउन जसले आफ्नो नाकको पर्वाह गरेनन्

बल नेपाली पोस्टतिर उडेर आउँदैथ्यो। गोलकिपर विकेश कुथु अगाडि बढे र उफ्रेर बल समात्ने प्रयास गरे। त्यतिञ्जेल श्रीलंकाली खेलाडी मोहम्मद साहिल पनि बल नजिक पुगिसकेका थिए। उनका लागि गोल गर्ने मौका थियो, त्यसैले बल हेडिङ गरे। तर साहिलकोे टाउको बलमा होइन, विकेशको नाकमा नराम्ररी ठोक्कियो। तैपनि विकेशले आफ्नो नाकतिर ध्यान दिएनन्। बल च्याप्प समाते। बल हातमा सुरक्षित भएपछि मैदानमै ढले।

पीडामा उनी छटपटाइरहेका थिए। तत्काल मेडिकल टिम बोलाइयो। विकेशको नाकबाट रगत बगिरहेको थियो। ३–४ मिनेटसम्म उनको मैदानमै उपचार भयो। उपचारमा त्यत्रो समय खर्चिएपछि धेरै दर्शकलाई लागेको थियो, उनी बाहिरिन्छन्। तर, विकेशले मैदान छाडेनन्। नाकमा कपास कोचेर, बाहिरी नाकमा ब्यान्डेज गरेर उनी पुनः गोलरक्षाको जिम्मेवारीमा फर्किए। उनको आत्मविश्वासको सम्मानस्वरुप दर्शकले परर्र ताली बजाए।

१३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत पुरुष फुटबलको समूह चरणमा मंसिर १८ गते नेपाल र श्रीलंकाबीच खेल चलिरहँदा देखिएको दृश्य हो यो। सिनियर टोलीका सदस्यसमेत रहेका विकेश कुथुले नाकमा नराम्ररी चोट बोक्दा पनि पोस्ट सम्हालेका थिए।

खेललगत्तै विकेशलाई एक्सरेका लागि लगियो। तर, त्यसदिन आफ्नो नाक भाँच्चिएकोमा भन्दा अन्तिम समयमा गोल खाँदै नेपाल बराबरीमा रोकिनुपरेकोमा विकेशलाई बढी दुःख लागेको छ। इन्जुरी समयमा खेलले नाटकीय मोड लिएको थियो। श्रीलंकाली कप्तान मोहम्मद फैजलले फ्री–किकमा मिलाएको पासमा जुड सुपनले गोल गरेका थिए।

सेन्ट्रल डिफेन्डरको भूमिकामा रहेका सुपनले ३५ यार्डबाट गरेको शक्तिशाली प्रहार सीधै पोस्टभित्र प्रवेश गर्दा विकाले बचाउको कुनै अवसर पाएनन्। अघिल्लो खेलमा चोट लागेपनि विकेश शनिबार भएको माल्दिभ्सविरुद्धको खेलमा पुनः नाकमा पट्टी बाँधेर मैदान उत्रिए। नाकको पूरै भाग पट्टीले घेरिएको थियो।

फाइनल पुग्न जसरी पनि नेपालले माल्दिभ्सलाई जित्नै पर्थ्यो। त्यसैले टोलीका अनुभवी खेलाडी विकेशले आफ्नो चोटको परवाह गरेनन्। विकेशकै केही उत्कृष्ट बचाउका कारण शनिबार नेपालले प्रतियोगिताकै बलियोमध्येको एक टोली माल्दिभ्सलाई २–१ ले पराजित गरी फाइनलनजिक पुगेको छ।

Related Articles

Back to top button
Close