News

यसरी गलहत्याइँदैछ प्रचण्डलाई नेकपाबाट !

काठमाडौँ- जीवन र मरणको दोसाधमा गत सोमबार त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी यसै साता निवास फर्किदैछन् ।

करिब ७० वर्ष उमेरको वृद्ध, रोगी र जीर्ण शरीरमा दोस्रोपटक मृगौला प्रत्यारोपण सफलता साथ सम्पन्न हुनुलाई निकै ठूलो उपलब्धिका रुपमा चिकित्सकहरुले लिएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभ गरेकोमा मुलुकमा खुसी छाएको छ, तर एकाथ दर्जन व्यक्तिहरु मर्माहत भएको बुझिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य कमजोर हुँदा पार्टीभित्र पनि पकड कमजोर हुँदै गएको थियो ।

ओलीको निगाहामा पटक पटक मन्त्री बनेका र लाभको पद हासिल गरेका कतिपय नेता कार्यकर्ताहरु अर्का अध्यक्ष प्रचण्डको दैलोमा भीड लाग्न थालेका थिए । जसका कारण ओली पार्टीको सचिवालयदेखि तृणमुलसम्मका सबै संगठनहरुमा अल्पमतमा थिए ।

एमसीसी सम्झौता संशोधन गर्ने र वामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनीत कोटामा लैजाने सचिवालयको निर्णयमा ओली करिब करिब एक्लै परेका थिए ।

परिस्थिति आफ्नो प्रतिकुल हुँदा जाडोयामको सर्पझैँ गुडुल्किएर बस्ने, परिस्थिति अनुकूल हुँदा प्रचण्ड गर्मीयामको गोमन सर्पका रुपमा प्रकट हुने ओलीको स्वभावलाई सबैभन्दा बढी नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले नियालिरहेका छन् । त्यसैले स्वास्थ्यलाभ गरेर फर्किएपछि ओलीको निशानामा को को पर्ने हुन् ? नेकपाभित्र लेखाजोखा सुरु भएको छ ।

समाचारस्रोतका अनुसार आफूले सबैभन्दा ठूलो धोका प्रचण्डबाट पाएको महसुस ओलीले गरिसकेका छन् । वामदेव प्रकरणपछि ओलीले आफ्ना निकटस्थहरुसँग टिप्पणी गर्दै भनेका थिए, ‘आँपको रुखमा आँपको हाँगो कलमी गर्न किन नहुने ? भनेर प्रचण्डलाई पार्टीमा मिसायौं, तर ऐंजेरु पो परेछ ।’

स्रोतका अनुसार ऐंजेरुलाई काटेर फाल्ने अभियानमा प्रधानमन्त्री ओली छन् । तर ऐंजेरु फाल्दा रुखका केही हाँगा समेत काट्नुपर्ने हुन्छ । काटेर फाल्नुपर्ने हाँगाहरु कुन कुन हुन् ? भन्ने पहिचान अब प्रधानमन्त्री ओलीले गर्ने भएका छन् ।

स्रोतका अनुसार वामदेव गौतम, केशव स्थापितलगायतको टोली प्रचण्डसँग सति जाने निश्चित भइसकेको छ भने माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु दोधारमा छन् । र पार्टीभित्र मियो बनेका छन् । यता प्रचण्डसँगै समाहित भएका तत्कालीन माओवादीका करिब २५ प्रतिशत नेता तथा कार्यकर्ता प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा भएको समाचार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार तत्कालीन माओवादीबाट प्रत्यक्ष निर्वाचित ३६ सांसदमध्ये प्रचण्डसँग २५ जना छन् । समानुपातिक १७ जनामध्ये प्रचण्डसँग १४ जना छन् । तर ४० प्रतिशत पुर्याउँनलाई कम्तीमा ६६ सांसद चाहिन्छ । वामदेव गौतम समूहले कति सांसद जुटाइदिने हो ? टुंगो छैन । झलनाथले अन्तिम अवस्थामा प्रचण्डको साथ छाड्ने बुझिएको छ ।

माधवकुमार नेपाल भने आफूले अध्यक्ष तथा प्रधानमन्त्रीमध्ये एक पद पाउने भए मात्रै प्रचण्डको साथमा लाग्ने तयारी गरेको बुझिएको छ । माधव नेपालले साथ दिएको अवस्थामा ४० प्रतिशत मात्रै होइन प्रचण्डको बहुमत नै पुग्न सक्छ, स्रोतको दाबी छ । यो अवस्थामा ओली धरापमा पर्छन् ।

तर प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष बनाएर आफू कार्यकर्ताका रुपमा रहन माधव नेपाल तयार छैनन् । यता ओलीले आफू पछि स्थान दिने भन्दै माधव नेपालकहाँ विशेषदूतहरु पटाएका थिए ।

ओलीको स्वास्थ्य अवस्थाको संकट टरे पनि राजनीतिक संकट भने टरिसकेको छैन । विगतमा धेरै नै पेलिएका कारण माधव नेपाल पक्ष ओलीसँग सजिलै सकारात्मक हुने अवस्था छैन । यो कुरा बुझेका प्रधानमन्त्री ओलीले अब आफ्नो रणनीतिको दोस्रो फर्मुला प्रयोग गर्ने समाचार स्रोतले जनाएको छ ।

दोस्रो फर्मुलाअन्तर्गत ओलीले अब आफ्ना विश्वासपात्रलाई पदभन्दा पैसाको जोहो गरिदिने र प्रचण्ड तथा माधव नेपाल पक्षमा रहेकालाई मन्त्री तथा अन्य राजनीतिक पद दिएर आफूतिर आकर्षित गर्दैछन् । साथै प्रचण्डविरुद्ध आर्थिक नाकाबन्दी लगाउने तयारी ओलीको छ ।

प्रचण्डले कुन कुन व्यापारीहरुलाई पैसा लगानी गरेका छन् ? भन्ने सबै लिस्ट उनी निकटस्थ निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा र अर्थमन्त्री युवराज खतिवडाले दुई महिना पहिले नै तयार गरिसकेका थिए ।

अब यो लिस्टमा रहेकाहरुलाई अनेक झमेला लगाइदिने रणनीतिमा ओली पक्ष जुटिसकेको छ । साथै मेलम्ची खानेपानी आयोजना प्रकरणमा प्रचण्डकी बुहारीसमेत रहेकी मन्त्री विना मगरले २५ करोड रुपैयाँ घुस मागेको अडियो आफूसँग सुरक्षित भएको तत्कालीन सचिव गजेन्द्र ठाकुरले सार्वजनिक गरेका थिए ।

ठाकुरलाई राजदूत बनाउने आश्वासन दिएर उक्त रेकर्ड प्रधानमन्त्री ओलीको टिमले आफ्नो खल्तीमा ल्याइसकेको बुझिएको छ । तरुण साप्ताहिकबाट

Related Articles

Back to top button
Close