News

कोरना भाइरसबाट बच्न अत्यावश्यक काम बाहेक नेपालीलाई भारत नजान सरकारको आग्रह

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई पनि भारत नजान आग्रह गरेको हो ।

नगर विपद् व्यवस्थापन समिति टीकापुरको बसेको बैठकले भारतमा कोरोना भाइरसको स’ङ्क्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको भन्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक किनमेलका लागि भारत नजान आग्रह गरेको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “भारतमा स’ङ्क्रमण देखिएकाले नेपालमा सर्न सक्ने जोखिम बढेको हो । सीमासँग जोडिएको क्षेत्र भएकाले यहाँ बढी जोखिम छ”, रावलले भन्नुभयो, “त्यसकारण सामान्य किनमेल जस्ता कार्यका लागि भारत नजान आग्रह गरेका हौँ । अब नगरवासीलाई सार्वजनिक सूचना र माइकिङ गरेर सचेत गर्न थालेका छौँ ।”

नगरपालिकाले बजारमा मास्कलगायतका सामान अभाव देखिएकाले बजार अनुगनम गर्ने र टीकापुरका सबै विद्यालयमा सचेतना कार्यक्रम गर्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाले सङ्क्रमणको जोखिम देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन र आइसोलेसनका लागि पनि पूर्वतयारी थालेको छ । “क्वारेन्टाइनका लागि सार्वजनिक भवनको प्रयोग गर्न पूर्वतयारी अवस्थामा राखेका छौँ”, रावलले भन्नुभयो, “सबै नागरिकलाई सरसफाइमा ध्यान दिन आग्रहसमेत गर्न थालेका छौँ ।”

कोरोना भाइरस देखिएमा आइसोलेसनमा बिरामी राख्न खर्चिलो छ । टीकापुर अस्पतालका चिकित्सक जितेन्द्र कँडेलले अस्पतालले हाल दुई श्ययाको आइसोलेसन तयार गरिसकेको बताउनुभयो । “थप श्ययाका लागि हाल रहेको प्रसूति वार्डलाई नयाँ तयार भएको प्रसूति भवनमा सार्दैछौँ । अहिले प्रयोगमा रहेको प्रसूति हललाई आइसोलेसनका लागि तयारीमा राख्छौँ ।”

टीकापुरको खक्रौलामा रहेको सीमामा सहायता कक्ष ‘हेल्थ डेस्क’ राखेर जाँच भइरहे पनि जाँचमा जनशक्ति अभाव छ । खक्रौला नाकामा दैनिक हजारौँ नागरिक ओहोरदोहोर गर्ने भएकाले जाँचमा हम्मेहम्मे परेको छ । स्वास्थ्यकर्मीले शङ्का लागेका मानिसको जाँच गर्छन् । दैनिक सयौँको जाँचसहित विवरण राख्ने, सचेतनाका लागि परामर्श, सुझाव दिनुपर्ने भएकाले हेल्थ डेस्कमा कर्मचारी अभाव हँुदा समस्या भइरहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताउनुभयो ।

दक्षिणी झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) स्वास्थ्य सहायताकक्ष स्थापना गरिएको छ । झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले सो भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिनुभयो । सो कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतले पनि डिगलबैंकमा सो कक्ष स्थापना गरिसकेको जनाइएको छ ।

सो भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदानप्रदानसमेत गरेका छन् । उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनामा कोरोनाको असर छैन

काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ ।

आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् । उनीहरु नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् । चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् । उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । उहाँले भन्नुभयो,“अहिले त्यहाँ भएका जनशक्ति नियमित रुपमा काम गरिरहेका पाइएको छ ।”

सरकारले आगामी असारसम्ममा काठमाडौँमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यही अनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् । झण्डै दुई सय नेपाली कामदार कार्यरत छन् । तीमध्ये थोरै मात्रै दक्षजनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन् । कम्पनीले गत दुई महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरु योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।

Related Articles

Back to top button
Close