News

लगातारको वर्षाको कारण बैतडी, हुम्ला र रसुवामा बाक्लो हिमपात भएपछि, जनजिवन प्रभावित

लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।

यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका–८ खोड्पेका मोहनसिंह ऐरले बताउनुभयो । लगातारको वर्षा र हिमपातले चिसो बढेको उहाँले बताउनुभयो । यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास–९ चौखामकी लक्ष्मीचन्द शाहले जानकारी दिनुभयो । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको उहाँले बताउनुभयो ।

चिसोको समयमा स्वासप्रस्वास र निमोनियाजस्ता रोग लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीले बताएका छन् । यो वर्ष हिमपात र वर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमा समेत असर परेको छ । बेँसी क्षेत्रमा वर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानले बताएका छन् । लगातारको वर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकले बताएका छन् ।

हुम्लामा पुन हिमपात कृषकलाई राहत

हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हँुदा हिमपात शुरु भएको हो ।

मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ ।

स्याउ, ओखर, आरुलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताउनुभयो । यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षात्सँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् ।

त्यस्तै रसुवा जिल्लाको उत्तरी क्षेत्रमा बाक्लो हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। फागुनको अन्तिम गर्मि हुनुपर्ने समयमा उच्च हिमपातका कारण गोसाईकुन्ड, थुमन, बृद्विमि, गल्लाङ, पारर्वति कुन्ड लाङटाङ, क्याङजिङ, लगाएतका ठाउँहरूमा हिउँ परेको छ। वर्षासङगै भएको हिमपातबाट जनजिवन कष्टकर वन्दै गएको छ।

Related Articles

Back to top button
Close