Sport

साग खेल्न नेपाल आएका खेलाडीले पोखरा देखेपछि दङ्ग हुदै भने, ‘आहा ! कति सुन्दर देश नेपाल’

यतिबेला पोखरा सागमय बनेको छ । १३ आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् ।

पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिनुभएको छ । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उहाँको भनाइ छ । मन्त्री लम्साल भन्नुभयो, “यतिबेला नेपालबाहेक छ देशका खेलाडीको जमघट छ । उनीहरु पोखरामा खेलमात्र खेलिरहेका छैनन् । यहाँको सौन्दर्यमा पनि रमाइरहेका छन् ।”

“साहसिक खेलको शहर पोखराका धेरै कुराले पनि सागमा सहभागी खेलाडीबाट प्रचारप्रसार हुने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो, “नेचर, कल्चर र एडभेन्चरलाई अन्तरराष्ट्रिय बजारमा बिकाउन खोजिरहेका छौँ, यस खेलबाट पक्कै पर्यटन प्रवद्र्धन हुनेछ ।” संस्कृतिको खानी पोखराको आसापास स्थानको अवलोकन गराउन सके अझ प्रचारप्रसार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल व्यवसायीलगायत सम्पूर्णले राम्रो आतिथ्यतामा जोड दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी पर्यटन व्यवसायीहरुमा पनि साग खेलले बेग्लै उत्साह थपेको साग खेल आवास तथा खाना व्यवस्थापन समितिका संयोजक एवं पर्यटन व्यवसायी सूर्य भुजेलले बताउनुभयो । “आ–आफ्नो देशका ट्र्याकसुटमा बिहान–बेलुका खेलाडीको टिमको लर्कोले लेकसाइडमा रौनक थपेको छ । यो हाम्रा लागि निकै ठूलो अवसर हो । हामी पैसाले गर्न नसक्ने विज्ञापन खेलाडीबाट भइरहेको छ”, उहाँले भन्नुभयो । पोखरामा रहेका खेलाडीले काठमाडौँका खेलाडी साथीलाई पोखराका बारेमा बताइरहेको र खेल सकिएका खेलाडी काठमाडौँबाट पोखरा घुम्न आउने तयारीसमेत गरेको भुजेलले जानकारी दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले साग खेल पोखरामा हुनुलाई सुनौलो अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको सदाबहार अनुकूल हावापानी, सौन्दर्यसँगसँगै हामीले प्रदान गरेको आतिथ्यताले पनि विदेशी खेलाडी खुशी हुनुभएको छ । यो पनि पर्यटन प्रवद्र्धनका लागि एउटा सकारात्मक पक्ष हो ।” “कति कुरा तत्काल देखिँदैन तर त्यसको परिणामपछि आउँछ । अहिले पोखरामा भएको साग खेल भ्रमण वर्ष २०२० लाई सघाउनेमा आफू विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराका अध्यक्ष भीमसेन भुजेल पनि पोखरालाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उपयुक्त अवसर आएको बताउनुभयो । “हामीले विभिन्न ठाउँमा सेल्समिशन कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गर्दै आएका छौँ । तर, यतिबेला नेपालबाहेक छ देशका विदेशी खेलाडी नेपालमा छन् । उनीहरुले प्रत्यक्ष यहाँको सुन्दरता रहनसहन र संस्कृति देख्न पाएका छन् । यसले पक्कै पनि आफ्नो देश पुगेपछि नेपालको सुन्दरताको व्याख्या गर्नेछन् । नेपाल आउन प्रेरित गर्नेछन्”, उहाँले भन्नुभयो ।

पोखरा अवर्णित शहर विदेशी खेलाडी

साग खेलमा सहभागी श्रीलङ्काका खेलाडी अजिथ विजयसिंघेले आफ्नो नेपालको पोखरा आउने ड्रिम नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र विशेषगरी पोखराका बारेमा निकै सुनेका थिएँ । साग खेलले आफ्नो सपनाको शहर पोखरा घुम्ने रहर पूरा गरिदियो ।”

व्याडमिन्टनका खेलाडी रहनुभएका अजिथ पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । नेपालमा साग खेल हुने कुराले नै उत्साहित भएको अनुभव सुनाउँदै उहाँले प्राकृतिक सुन्दरता भएको शहरमा खेल्दा आनन्द आएको बताउनुभयो । उहाँले हवाईयात्राबाट अन्नपूर्ण हिमशृङ्खलाको पनि अवलोकन गरेको र पोखरा अवर्णित शहर भएको प्रतिक्रिया दिनुभयो ।

माल्दिभ्सका ब्याटमिन्टनका म्यानेजर खेलाडी अमिनाथ अहमेद दिदीले पनि आफूले सोचेभन्दा पोखरा निकै सुन्दर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी राति आएका थियौँ, जब बिहान होटलको झ्यालबाट फेवाताल र खुलेको हिमशृङ्खला देख्यौँ, हामीले नसोचेको पायौँ ।” पोखराको गौरीघाटस्थित होटल रानीवन आर्केटमा बस्नुभएको उहाँको टिमले पोखराको वातावरण र राम्रो हस्पिटालिटीले आफूहरुलाई आकर्षित गरेको बताउनुभयो ।

अर्का खेलाडी फतिमा जयनाले आफू १० वर्षअघि काठमाडौँ आएको अनुभव सुनाउँदै पोखरा र काठमाडौँ तुलना नहुने शहर भएको बताउनुभयो । “काठमाडौँमा बिल्डिङ नै बिल्डिङ मात्र देखेका थियौँ तर पोखरा ताल र माउण्टेनको दृश्यले निकै लोभ्यायो, निकै सुन्दर लाग्यो पोखरा” बिचभलिबलका खेलाडी जयनाले काठमाडौँमा भएका साथीलाई पनि पोखरा आउन आग्रह गरेको बताउनुभयो । १३ औँ साग पोखरा, जनकपुर र काठमाडाँै गरी तीन ठाउँमा खेल भइरहेको छ, जहाँ तीन हजार बढी खेलाडीको सहभागिता रहेको छ ।

सावित्रा भण्डारीको ‘ह्याट्रिक’मा नेपाली महिला फुटबल टिम फाइनलमा

आयोजक नेपाल पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा आज आफ्नो दोस्रो खेलमा नेपाल सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरी लिग चरणको एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

यसअघि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको नेपालले शनिबार भारतविरुद्ध हुने लिगको अन्तिम खेल अगावै छ अङ्क जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई फाइनलमा पु¥याउने क्रममा भण्डारीले खेलको मध्यान्तरअघि दुई तथा पछि एक गोल गरी ह्याट्रिक पूरा गर्नुभयो ।

सावित्राले खेलको १८ औँ मिनेटमा अनिता बस्नेतको पासको सहयोगमा हेडमार्फत गोल गरी टोलीका लागि गोलको खाता खोल्नुभयो । पहिलो गोलको चार मिनेटपछि प्राप्त अवसरलाई सदुपयोग गरी भण्डारीले अग्रता दोब्बर पार्नुभयो ।

मध्यान्तरपछिको इन्जुरी समयमा विपक्षी खेलाडीले पेनाल्टी बक्समा भण्डारीलाई फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सो अवसरलाई भण्डारीले खेर फाल्नुभएन र टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउँदै फाइनलमा पु¥याउनुभयो ।

आयोजक नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा खेलाइएको थियो । प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्सलाई पराजित गरेर छ अङ्क जोडेको भारतसमेत यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ ।

दुवै टोलीले फाइनलमा स्थान पक्का गरिसकेकाले शनिबार नेपाल र भारतबीच हुने लिग चरणको खेल औपचारिक मात्र हुनेछ । यही मङ्सिर २३ गते नेपाल र भारतका महिला फुटबल टिमले फाइनलमा स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महत्वपूर्ण तीन अङ्क जोड्ने रणनीतिसहित मैदानमा उत्रिएको बताउँदै लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । आफूहरुको ध्यान अब फाइनलमा केन्द्रित भएको बताउँदै उहाँले लिगको अन्तिम खेलमा केही महत्वपूर्ण खेलाडीलाई विश्राम दिने सङ्केत गर्नुभयो ।

माल्दिभ्सका प्रशिक्षक अहमद नासिदले बलियो नेपाली टोलीलाई जित्ने लक्ष्यअनुसार आफ्नो टोलीले प्रयास गरे पनि सफल हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

महिला फुटबलमा सावित्राको कीर्तिमान

नेपाली महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले महिला फुटबलमा सर्वाधिक गोल सङ्ख्याको कीर्तिमान कायम गर्नुभएको छ । आज माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै भण्डारीले नेपालका पूर्वकप्तान अनु लामासँगको ३५ अन्तर्राष्ट्रिय गोलको बराबरी तोडेर नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यससँगै भण्डारीको अन्तर्राष्ट्रिय खेलमा गोल सङ्ख्या ३८ पुगेको छ ।

सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो साफ च्याम्पियनसीपमा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएकी सावित्राले भुटान विरुद्धको आफ्नो ‘डेब्यु’ खेलमै गोल गरेपछि उहाँ नेपाली फुटबलमा चर्चाको शिखरमा पुग्नुभयो । डेब्यु खेलमै गोल गर्नु जुनसुकै खेलाडीका लागि पनि कठिन हुने गरे पनि उहाँले त्यो अवसर प्राप्त गर्नुभयो । त्यसयता सावित्रा लगातार नेपाली टोलीको मुख्य खेलाडीका रूपमा रहँदै आउनुभएको छ ।

भारतको गुहावटीमा सन् २०१६ मा भएको १२ औँ सागमा उहाँले दुई गोल गर्नुभयो भने सोही वर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा सर्वाधिक १२ गोल गर्नुभयो । त्यसक्रममा उहाँ भुटान विरुद्ध दोहोरो ह्याट्रिक र माल्दिभ्स विरुद्ध पाँच गोल गर्न सफल हुनुभएको थियो । सावित्राले सन् २०१८ को ओलम्पिक छनोटमा दुई तथा सन् २०१९ मा किर्गिस्तानमा सम्पन्न नादेज्दा कपमा सात गोल गर्नुभएको थियो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उहाँको गोल सङ्ख्या दुई रहेको छ ।

गोल सङ्ख्यामा कीर्तिमान राखे पनि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि हासिल नगराउँदासम्म आफ्नो सपना साकार नहुने भण्डारीको भनाइ छ । नेपाल महिला फुटबलमा हालसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुँदै आएको छ ।

सागमा नेपालको मुख्य प्रतिस्पर्धी रहेको भारतलाई घरेलु मैदानमा पराजित गरेर स्वर्ण पदक जित्ने भण्डारीको लक्ष्य छ । उहाँ भन्नुहुन्छ, “मैले नयाँ कीर्तिमान कायम गरेको छु तर देशलाई उपाधि हासिल नगराउँदासम्म त्यसको सार्थकता छैन । प्राप्त अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधि दिलाउन म लाग्नेछु ।”

जारी प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का विरुद्ध गोल गरेर कीर्तिमान कायम गर्ने लक्ष्य पूरा नभए पनि प्राप्त अवसरले औधी खुशी लागेको उहाँको भनाइ छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक खड्काले भण्डारीले महिला फुटबलमा नयाँ कीर्तिमान राखेकोमा बधाई दिँदै समग्र टोलीको कुशल प्रदर्शनले खेलाडीलाई सफल बनाउँदै लगेको उल्लेख गर्नुभयो । भण्डारीमाथि नेपाली फूटबलको ठूलो भरोसा रहेको चर्चा गर्दै उहाँले त्यो विश्वास र भरोसालाई पूरा गर्न उहाँ सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

साग खेल्न नेपाल आएका खेलाडीले पोखरा देखेपछि दङ्ग हुदै भने, ‘आहा ! कति सुन्दर देश नेपाल’ नेपालको तारिफ गर्दै यसो भने ! पुरा पढ्नुहोस
तेक्वान्दोमा भूपेनलाई स्वर्ण
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । उहाँले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जित्नुभएको हो ।

ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गर्नुभएको हो । उक्त स्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गर्नुभयो ।तेह्रौँ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।

पौडीमा गौरिकालाई स्वर्ण

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्नुभएको छ । उहाँले दुई सय मिटर फ्री स्टाइलमा आज स्वर्ण पदक जित्नुभएको हो

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा ओलम्पियन सिंहले निर्धारित दूरी दुई मिनेट ०५ दशमलव ०६ सेकेण्डमा पूरा गर्नुभएको हो । पौडीको व्यक्तिगत स्पर्धातर्फ गौरिकाले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि नेपालले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो । महिला दुई सय मिटर फ्री स्टाइलमा भारतले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ ।

साइक्लिङमा तामाङलाई स्वर्ण
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जित्नुभएको छ ।

काठमाडौँको गोकर्णमा आज भएको खेलमा तामाङले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जित्नुभएको हो । उहाँले एक मिनेट १९.०८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभयो । सोही स्पर्धामा नेपालका राजीव राईले रजत पदक जित्दा कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जित्नुभयो । जारी सागमा नेपालका लागि यो ३२ औँ स्वर्ण पदक हो । सागमा नेपालले अहिलेसम्मको सर्वाधिक स्वर्ण पदक जितेको छ । यसअघि सन् १९९९ को सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो ।

भारोत्तोलनमा नेपाललाई पहिलो कास्यसँगै कीर्तिमान

नेपालकी सङ्गीता राईले १३आँैं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

तेह्रौँं दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरा –१२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा आजदेखि शुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड तोडेकी ह्न् । २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।

उक्त खेलमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलङ्काकी सीमारी सामाराकूलले १३९ भार बहन गर्दै रजत जितिन् । श्रीलङ्कन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् ।

यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलङ्काले रजत र बङ्गलादेशले कास्य जितेको छ ।भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कूल १५७ केजी भार बहन गर्दै श्रीलङ्कन खेलाडी हसानीलाई पछि पारिन् । हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कूल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बङ्गलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् । विजयीलाई आजै पदक हस्तान्तरण गरिएको छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा माल्दिभ्सबाहेक सबै देशको सहभागिता छ । भुटानको यो पहिलो सहभागिता हो । महिला र पुरुषतर्फ दश÷दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । बिहीबार नै पुरुषतर्फ ५५ र ६१ केजी तथा महिलातर्फ ५५ र ५९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिण्टनको सेमीफाइनल समीकरण पूरा, नेपाल कास्यमा

पोखरा रङ्गशालामा जारी तेह्रौंँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ब्याडमिण्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमत भएको छ ब्याडमिण्टन कोर्टमा भएको सेमिफाइनलमा सिङ्गल, डबल्स र मिक्स डबल्सतर्फका सबै प्रतिस्पर्धा गुमाएपछि नेपाल कास्यमा सीमित भएको हो ।

आजको सेमिफाइनलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलङ्काको डायस अङ्गोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ ले लगातार पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो । पुरुष सिङ्गलतर्फ नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उहाँ टण्डनसँग २१–१८, १४–२१ र २१–१८ ले पराजित हुनुभएको हो ।

महिला सिङ्गलतर्फ भारतकी अस्मिता चलिदा श्रीलङ्काकी अचिनी निमेसिका रत्नाश्रीलाई २१–५ र २१–७ ले लगातार पराजित गर्दै उपाधि नजीक पुग्नुभयो । सोही इभेण्टमा भारतकी गायत्री गोपीचन्दले श्रीलङ्काकी दिल्मी डायसलाई २१–१७ र २१–१४ ले लगातार पन्छाउँदै फाइनल यात्रा सुरक्षित गर्नुभयो । मिक्स डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भए पनि काश्यमा सीमित भयो ।

महिला डबल्सतर्फ श्रीलङ्काका टी प्रमोदिका र के सिरिमाङ्गेको जोडीले भारतको मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ ले लगातार पराजित ग¥यो । पुरुष सिङ्गलतर्फ भारतका श्रील वर्माले श्रीलङ्काका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ ले लगातार पराजित गर्दै फाइनल भीडन्त पक्का गर्नुभयो ।
पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानको मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ ले लगातार पराजित गरेको छ । मिक्स डबल्सतर्फ श्रीलङ्काको अङ्गोडा र टी प्रमोदिकाको जोडीले बङ्गलादेशको मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ ले लगातार पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । सोही इभेण्टको अर्को खेलमा श्रीलङ्काका रत्नाश्री कपुरु र यू को जोडीले भारतको कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ ले लगातार पराजित ग¥यो ।

महिला फुटबलः भारत फाइनलमा

तेह्रौँ दक्षिण एशियाली खेलकूलद ९साग० अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भारतले आजकै पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोल अन्तरले हराएको थियो ।

महिला फुटबलमा आज नेपाल माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ ।

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडाँैको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जित्नुभयो । उहाँले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जित्नुभएको हो । मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गर्नुभयो ।

साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जित्नुभएको थियो । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जित्नुभयो । उहाँले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गर्नुभयो । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पार्नुभयो । उहाँले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गर्नुभयो । यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ ।

पुरानो साइकल र मागेको पोशाकले जित्यो स्वर्णपदक

कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो ।

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदकमा हासिल गर्न सफल हुनुभयो ।

अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उहाँले दुई वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्ण पदकको सपना देख्न शुरु गर्नुभएको थियो । नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उहाँले डुआथोलन र माउन्टेन बाइकक्रस कन्ट्री दुवै खेलमा सहभागिता जनाउनुभएको थियो । एक दिनको अन्तरमा भएका दुवै प्रतियोगितामा उहाँले राम्रो गर्न सक्नुभएको थिएन । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उहाँलाई पराजित गर्नुभएको थियो ।

राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्नलगत्तै टमाटा डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुग्नुभएको थियो । उहाँ सागमा स्वर्ण जित्ने लक्ष्यसहित हरेक दिन अभ्यासमा व्यस्त हुन थाल्नुभएको थियो । दौड र साइक्लिङमा उहाँको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ उहाँलाई प्रेरित गरिरहनुभयो । “राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुर्छ भन्ने मलाई लाग्यो । त्यस बेलादेखि नै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ”, टमाटा भन्नुहुन्छ ।

सागमा स्वर्ण हासिल गरेलगत्तै उहाँले हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गरिसक्नुभएको छ । चीनमा सन् २०२२ मा तय भएको एशियाली सो प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने उहाँको धोको रहेको छ । उहाँ भन्नुहुन्छ, “ कठिन अवस्थामा समेत म कहिल्यै हतास र निराश हुन्न । मानिसले लक्ष्य ठूलो राख्नुपर्छ । लक्ष्यअनुसारको मेहनत र परिश्रम ग¥यो भने असम्भव केही पनि छैन । अब देशलाई एशियन गेममा पदक हासिल गराउने अब मेरो सपना छ ।”
सागको तयारीका क्रममा समेत धेरै चुनौती उहाँले सामना गर्नुपरेको थियो । उहाँलाई अभ्यासका क्रममा नयाँ साइकल आउने भनिएको थियो । प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएका अन्य स्पर्धीसँग उहाँ सन् २०१४ मोडलको पुरानै साइकल लिएर स्पर्धामा होमिन विवश हुनुभएको थियो । त्यतिमात्र होइन खेलमा लगाउने पोशाकसमेत उहाँले समयै पाउनुभएन । प्रतियोगिताको एकदुई दिनअघि आएको पोशाक उहाँको शरीरमा मिलेन । “साथीको मागेर खेलमा भाग लिएँ । हाम्रो साइकल पाँचछ वर्ष पुरानो आल्मुनियमको हो । कार्बनको राम्रो साइकल भएकाहरुसँग स्पर्धा गर्न कठिन भए पनि आत्मबलकै कारणले जित हासिल भयो”, उहाँ भन्नुहुन्छ ।

उहाँ १४÷१५ वर्षका उमेरदेखि नै खेलकूदमा आकर्षित हुँदै आउनुभएको थियो । दौड र कराँतेमा उहाँको विशेष लगाव रहेको थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा पाँच र १० किमी दौडमा उहाँले भाग लिनुहुन्थ्यो । नेपाली सेनामा भर्ती भएपछि उहाँलाई खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उहाँलाई अघि बढ्न सधैँ प्रेरित गरिरहनुभयो

शुरुमा साइकल राम्रोसँग डोहो¥याउनसमेत नजान्ने उहाँलाई चन्दले नै साइकल चलाउन सिकाउनुभएको थियो । “मैले जुन सफलता पाएको छु, त्यसमा मेजर राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,” उहाँ भन्नुहुन्छ ।
आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै उहाँ सरकारले खेलाडीलाई सहयोग गर्न माग गर्नुहुन्छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवार टमाटा क्षमतावान् खेलाडी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाइ भयो । हाम्रा खेलाडी अभावका बीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए । ”

साग–क्रिकेटमा नेपालको जित

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पारेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको भूटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भूटानका लागि मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए ।

त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । भूटानलाई सस्तैमा समेट्नेक्रममा नेपालका पारस खड्काले २ विकेट लिए भने करन केसी, ललित राजवंशी र पवन सर्राफले समान १÷१ विकेट झारे ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रनको योगदान दिए । ५५ बल खेल्दै उनले ५ चौका र ९ छक्कासहित १०७ रनको योगदान दिएका हुन् ।

त्यस्तै पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन बनाए । पारसले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन जोडे भने दीपेन्द्रले २७ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे ।

त्यस्तै रोहितकुमार पौडेलले ६ तथा आरिफ शेख ४ रनमा अविजित रहे । भूटानका कर्मा दोर्जीले दुई तथा तोब्डेन सिङ्गेले एक विकेट झारे । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।

साग– उसु खेलमा निमाले जितिन् स्वर्ण

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जित्नुभएको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको उसुअन्र्गत थाउलोको महिला नान्दोमा उहाँले कूल १८.९१ अङ्क जोड्दै स्वर्णपदक जित्नुभएको हो । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बन्नुभयो ।

सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । सोही स्पर्धामा बङ्गलादेशले रजत जित्दा श्रीलङ्काले कास्यपदक हात पा¥यो ।

त्यस्तै महिला उसुको थाउलो ताइजिनमा नेपालकी मीना ग्लानले रजत जित्नुभयो । सो स्पर्धामा श्रीलङ्काले स्वर्ण जित्यो भने बङ्गलादेशले कास्यपदक पायो । उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजतपदक हात पार्नुभयो । यस स्पर्धामा भारतले स्वर्ण तथा बङ्गलादेशले कास्य पदक जित्यो ।

Related Articles

Back to top button
Close