News

पुलिस रिपोर्ट अब अनलाइनबाटै, घण्टौं लाइन बस्न नपर्ने

काठमाडौं । पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुलिस रिपोर्टका लागि धेरै दिन लगाएर सेवाग्राही प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए । ‘पुलिस रिपोर्टका लागि सेवाग्राहीले धेरै दिन समय खर्चेर धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब पूर्ण रूपमा नै अनलाइन सिस्टमबाट नै सेवाग्राहीले रिपोर्ट बनाउन सक्नेछन्,’ नेपाल प्रहरीका प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

उनले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिनसमेत अन्त्य गरिएको छ ।

पुलिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब नेपाल प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ पुलिस क्लिरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले विभिन्न चरणमा गरेर विवरण भर्नुपर्ने हुन्छ । यो खबर राजधानी दैनिकमा छ ।

यो पनि पढ्नुहोस : पुरानो साइकल र मागेको पोशाकले जित्यो स्वर्णपदक

कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो ।

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदकमा हासिल गर्न सफल हुनुभयो ।

अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उहाँले दुई वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्ण पदकको सपना देख्न शुरु गर्नुभएको थियो । नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उहाँले डुआथोलन र माउन्टेन बाइकक्रस कन्ट्री दुवै खेलमा सहभागिता जनाउनुभएको थियो । एक दिनको अन्तरमा भएका दुवै प्रतियोगितामा उहाँले राम्रो गर्न सक्नुभएको थिएन । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उहाँलाई पराजित गर्नुभएको थियो ।

राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्नलगत्तै टमाटा डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुग्नुभएको थियो । उहाँ सागमा स्वर्ण जित्ने लक्ष्यसहित हरेक दिन अभ्यासमा व्यस्त हुन थाल्नुभएको थियो । दौड र साइक्लिङमा उहाँको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ उहाँलाई प्रेरित गरिरहनुभयो । “राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुर्छ भन्ने मलाई लाग्यो । त्यस बेलादेखि नै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ”, टमाटा भन्नुहुन्छ ।

सागमा स्वर्ण हासिल गरेलगत्तै उहाँले हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गरिसक्नुभएको छ । चीनमा सन् २०२२ मा तय भएको एशियाली सो प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने उहाँको धोको रहेको छ । उहाँ भन्नुहुन्छ, “ कठिन अवस्थामा समेत म कहिल्यै हतास र निराश हुन्न । मानिसले लक्ष्य ठूलो राख्नुपर्छ । लक्ष्यअनुसारको मेहनत र परिश्रम ग¥यो भने असम्भव केही पनि छैन । अब देशलाई एशियन गेममा पदक हासिल गराउने अब मेरो सपना छ ।”
सागको तयारीका क्रममा समेत धेरै चुनौती उहाँले सामना गर्नुपरेको थियो । उहाँलाई अभ्यासका क्रममा नयाँ साइकल आउने भनिएको थियो । प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएका अन्य स्पर्धीसँग उहाँ सन् २०१४ मोडलको पुरानै साइकल लिएर स्पर्धामा होमिन विवश हुनुभएको थियो । त्यतिमात्र होइन खेलमा लगाउने पोशाकसमेत उहाँले समयै पाउनुभएन । प्रतियोगिताको एकदुई दिनअघि आएको पोशाक उहाँको शरीरमा मिलेन । “साथीको मागेर खेलमा भाग लिएँ । हाम्रो साइकल पाँचछ वर्ष पुरानो आल्मुनियमको हो । कार्बनको राम्रो साइकल भएकाहरुसँग स्पर्धा गर्न कठिन भए पनि आत्मबलकै कारणले जित हासिल भयो”, उहाँ भन्नुहुन्छ ।

उहाँ १४÷१५ वर्षका उमेरदेखि नै खेलकूदमा आकर्षित हुँदै आउनुभएको थियो । दौड र कराँतेमा उहाँको विशेष लगाव रहेको थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा पाँच र १० किमी दौडमा उहाँले भाग लिनुहुन्थ्यो । नेपाली सेनामा भर्ती भएपछि उहाँलाई खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उहाँलाई अघि बढ्न सधैँ प्रेरित गरिरहनुभयो

शुरुमा साइकल राम्रोसँग डोहो¥याउनसमेत नजान्ने उहाँलाई चन्दले नै साइकल चलाउन सिकाउनुभएको थियो । “मैले जुन सफलता पाएको छु, त्यसमा मेजर राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,” उहाँ भन्नुहुन्छ । आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै उहाँ सरकारले खेलाडीलाई सहयोग गर्न माग गर्नुहुन्छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवार टमाटा क्षमतावान् खेलाडी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाइ भयो । हाम्रा खेलाडी अभावका बीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए । ”

Related Articles

Back to top button
Close