News

अभिनेत्री नीता ढुंगानाले सार्वजानिक गरिन् आफ्नो प्रेमी

नेपाली फिल्म क्षेत्र गसिप बजार हो । यहाँ फिल्मको व्यापारभन्दा अनेक प्रकारका हल्लाको बजार बलियो छ । गसिपमा रमाउन चाहनेदेखि यसबाट टाढै बस्न चाहने नेपाली कलाकारहरु धेरै छन् । फिल्म क्षेत्रमा सबैभन्दा धेरै गसिप बन्ने भनेको कलाकारको प्रेम र ब्रेकअपको हो । कलाकारको प्रेम र ब्रेकअपका गसिप हप्तैपिच्छे बजारमा छाउँछन् । कति सत्य हुन्छन् त कति अफवाह ।

अहिले एक अभिनेत्री र एक अभिनेताको प्रेम सम्बन्धको चर्चाले फिल्मवृत तात्न थालेको छ । करीब चार वर्ष अगाडि फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजताका अभिनेता आमेष भण्डारीको प्रेममा रहेकी अभिनेत्री नीता ढुंगाना केही महिनायता ज्योतिष हिरो हरिहर अधिकारीको प्रेममा रहेको चर्चा छ । उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा समेत रहेको स्रोत बताउँछ ।

गएको फेब्रअरी १४ का दिन अभिनेत्री नीताले आफ्नो फेसबुकमार्फत् फिल्म ‘शुभ लभ’ बाट हिरो बनेका हरिहर अधिकारीलाई आफ्नो ‘राम्रो साथी’ भन्दै जन्मदिनको शुभकामना दिएकी थिइन् । गएको वर्ष नीताले आफ्नो जन्मदिनमा आयोजना गरेको पार्टीमा हरिहर पनि पुगेका थिए । त्यहाँ उनले एक अन्तर्वार्तामा नीताको भाईको माध्यमबाट चिनजान भएको बताएका थिए ।

उनले नीताको चिना बनाएर पनि हेरिसकेका रहेछन् । उनले नीताको जन्मदिनमा एक अन्तर्वार्तामा भनेका थिए, ‘नीतासँग प्रायः भेट भइरहन्छ । उहाँको घरमा गएर चिया पनि खाएको छु । मलाई उहाँ सबै कुरामा राम्रो लाग्छ । उहाँको चिना बनाएर हेर्दा नौंवटा ग्रहमा ५ वटा ग्रह राम्रो भेटेँ ।’ उनले नीतालाई मक्कर राशीको व्यक्तिसँग विवाह गर्दा राम्रो हुने पनि बताएका थिए ।

चार महिना अगाडि विरगञ्जमा भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुने क्रममा नीता र हरिहरबीच प्रेम अंकुराएको बताइन्छ । तीन दिनसम्म चलेको महोत्सवमा उनीहरु एकअर्कासँग निकै नजिक देखिएका थिए । हालै यो जोडी भारत समेत घुम्न गएको चर्चा छ । तर, अहिलेसम्म उनीहरुले एकसाथ खिचाएको तस्विर भने सामाजिक सञ्जालमा साझेदार गरेका छैनन् ।

नीताले केही समययता फेसबुकमा लेखेका स्टाटसहरुले पनि उनी प्रेम सम्बन्धमा रहेको प्रस्ट्याउँछ । उनले डिसेम्बर ११ तारिखमा आफू बेहुलीको भेषमा सजिएको एक तस्विर फेसबुकमा साझेदार गर्दै बेहुली भएर उसको घर जान मन छ भनेर लेखेको स्टाटस र फेब्रअरी २ तारिखमा आफ्नो एक तस्विर साझेदार गर्दै ‘गुड नाइट जी’ भन्दै आफू कसैको प्रेममा रहेको जनाउ गरेकी थिइन् ।

फिल्म ‘मितिनी’ बाट बाल कलाकारको रुपमा नेपाली फिल्म क्षेत्रमा भित्रिएकी नीताले ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, ‘छ एकान छ’ भन्दा बाहेक उनी अभिनीत कुनै फिल्मले बक्सअफिसमा सफल पाउन सकेका छैनन् । उता हरिहरले ज्योतिष पेशामा राम्रो नाम र दाम कमाउँदै गर्दा फिल्मको हिरो बने । तर, पहिलो गाँसमै ढुंगा लाग्यो । अर्थात्, ‘शुभ लभ’ चलेन ।

Related Articles

Back to top button
Close