News

प्रधानमन्त्री ज्यु, हेलिकप्टरमा केक हैन सिटामोल र जीवनजल बोकेर कर्णाली कहिले जानुहुन्छ ?

राधा पोखरेल ,सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार !तपाई माथी मेरा केही असन्तुष्टि र आशंकाहरू छन् । सायद यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो त्यसैले आज यो पत्र तपाईलाई लेख्न बिबश छु यो मेरो मात्र भावना हैन यो देशमा बस्ने यो देशलाई माया गर्ने नेपालीको भावना हो त्यसरी नै बुझ्नु होला ।कुरा सुरु गर्छु है त ।चार वर्षअघि मोदीले मधेसलाई उचालेर नेपालमाथि नाकाबन्दी गरेपछि नेपाली जनता असन्तुष्ट मात्र होइन आक्रोशित बने । मोदीको अघोषित नाकाबन्दीविरूद्ध तपाईंले लिनुभएको अडान साँच्चै प्रसंशायोग्य थियो ।

नेपाली जनताले मुक्तकण्ठले तपाईंको प्रसंशा गरे । जनतामा नाकाबन्दीको कारण पैदा भएको आक्रोश तपाईंप्रति विश्वासमा रूपान्तर भयो । फलस्वरूप तपाईं इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्न पुग्नु भयो । देश दुनियाँलाई थाहा छ, तपाईं हिजो लोकप्रियताको शिखरमा पुग्नु भएको थियो । त्यतिमात्रै होइन, नेपाली इतिहासकै सर्वाधिक शक्तिशाली शासक पनि बन्नु भएको होतपाईंप्रतिको आशा र विश्वास मान्छेमा जाग्दै थियो । तर, तपाईंप्रतिको विश्वास आज बिडम्बनामा बदलिएको छ । झन्डै झन्डै सिसा फुटेझैं टुक्राटुक्रा बन्न पुगेको छ ।

धेरैको अनुमान थियो, चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, तर, आज म गलत सावित भएकी छु । तपाईं प्रष्ट हुनुहोला । कालोलाई कालो र सेतोलाई सेतो भन्ने एक सचेत नागरिक हुँ ।सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू , हिजो तपाईँलाई आफ्नो अमूल्य मत दिएर बिजयी गरी पठाउने मधेसका ती निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश चमार, डोम, दुसाध,….गरिब, दलित, मतदाताहरू बिच तपाईँ अलिकति न्यानो लिएर मधेस झर्नहुने छ र, जन्मदिनमा न्यानो बाँड्नुहुन्छ भन्ने हाम्रो चाहना थियो ।

जीवनजल नपाएर ज्यान गुमाइरहेका जाजरकोटका ती दुखी गरीबहरूलाई जीवनजलको पुरिया बोकेर जाजरकोट पुग्नुहुन्छ र जिवन बचाउनुहुन्छ भन्ने थियो । केक बोक्ने हेलिकप्टरमा सिटामोल सहित कर्णाली पुगेर त्यहाँका जनता सँग जनताको पिडा सुनिदिनु हुन्छ भन्ने कामना थियो तर, बिडम्बना ! तपाईंले जनताले चाहेअनुसार एउटा पनि काम गर्न सक्नु भएन । बरू उल्टो चटके शैलीमा यति ठूलो रकम खर्चेर जन्मदिन मनाएर जग हसाउनु भयो । सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ ।

सिक्ने भनेको ठूलाबाट नै हो । स्वयं विलासी र आदर्शहीन भए भने नागरिकले पनि त्यही कुरा अनुशरण गर्दै जान्छ ।राजनीति सवै नीतिको माउ नीति हो भने, बागद्धारमै फोहोर गरेर चोभारको गल्छीमा कसरी शुद्ध पानी खोज्ने ?प्रधानमन्त्रीज्यू ! तपाईंको दुई बर्षे कार्यकाललाई हामी नागरिकले कसरी सम्झने ? तपाईँको दुई बर्ष आन्तरिक कचिङल र उखानटुक्कामै बिते ।जस दिएन भन्नुहुन्छ । सहयोग गरेन भन्नुहुन्छ । गुनासाका गीत गाउँदै हिँड्नुहुन्छ । एकचोटि आफूले गरेका कामहरू सम्झिहेर्नुस् त !तपाईं कहिले पञ्चायती शैलीमा प्रतिपक्षीहरूलाई ठेगान लगाउन खोज्नुहुन्छ, कहिले कालो अरिंगाल बनेर बिरोधीहरूलाई टोक भन्नुहुन्छ ।

संसार हल्लाउने स्वरमा ३३ किलो सुन तस्करी समाउने शंखघोष गर्नुहुन्छ । ठूलो माछा र सानो माछाको कुरा आएपछि एकाएक कुरबाट हात झिक्नुहुन्छ । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने घोषणा गर्नुहुन्छ । तर, अन्त्यमा आफैँले निर्णय सामसुम पार्नुहुन्छ ।महंगी, कालाबजारी, कमिसन, भ्रष्टाचार, बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं । यी ‘महान काम” कहिले भएको थियो प्रधानमन्त्रीज्यू ?दैनिक हजारौं युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । ५० डिग्रीको तापक्रममा जीवन हत्केलामा राखेर युवाहरूले कमाएर पठाएको विप्रेषणबाट सरकार आर्थिक बृद्धिदर हृवात्तै बढेको र नेपाली पनि धनी हुँदै गएको भ्रम बाँडिरहनु भएको छ ।

तर, बिडम्बना, ५० लाख युवाहरू आज पनि विदेशमा रगत-पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५-७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ प्रधानमन्रीज्यू, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?आजकल बैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सन्जाल र बिभिन्न सन्चार माध्यामहरूमा दिनहुँजसो आइरहन्छ । सम्झेर अहिले पनि मुटु काँपी रहेको हुन्छ।

ऐठन पर्दा पनि कहिल्यै यस्तो भएको थिएन । हुन त आफ्नै देशमा पनि हामी महिलाहरू कहाँ सुरक्षित छौं र ? लैंगिक विभेद र त्यसले निम्त्याउने बिविधखाले असुरक्षाहरू कदमैपिच्छे भोगि त रहेका छौं ।सम्माननीय प्रधानमन्रीज्यू ! खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । खासमा भन्ने हो भने चाहेको छैन ।यस दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ ।

विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ ।के अब गुमेको इज्जत फिर्ता हुन्छ र ?इतिहासमा कहिल्यै नभएका भ्रष्टाचारका काण्डहरू एकपछि अर्को थपिएको थपियै छन् ।पहिला-पहिला लाख र करोडमा हुने भ्रष्टाचार, अब त अर्ब र खर्बमा हुन थालेको छ। जान कारहरू एनसेलमा ३३ अर्ब, कर फछ्र्यौैट आयोगमा २१ अर्ब, बुढीगण्डकीमा ७ अर्ब र एकजना सहसचिवले २० अर्ब भ्रष्टाचार गरेको जिकिर गरिरहेका छन् ।ठूला माछा तानिने भएपछि ३३ किलो सुन प्रकरण त्यतिकै सामसुम पारिएको छ । वाइड बडी जहाज खरिदमा अर्बौं भ्रष्टाचार भएको हुन सक्ने आशंका सबैले गरिरहेका छन् ।

यी त भए सतहमा आएका काण्डहरू । अदृश्य भ्रष्टाचार कति भएका र भइरहेका होलान् ? साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । ओपन हार्ट सर्जरी गरेकी मान्छे म । देशको दुर्दशा देख्दा कति गारो भयो होला सहनलाई ? झन्नै अस्पताल जानुपरेको । के ढाँट्नु तपाईलाई !सके आफ्नै दलभित्रबाट, नसके दलबाहिरबाट, त्यतिले पनि नसके देशबाहिरबाट सरकार बनेको दिनबाट सरकार ढलाउने षड्यन्त्र सुरू हुने देश हो नेपाल । माननीय सांसदज्यूहरू भेडाबाख्रा झैं किनबेच हुने देश हो नेपाल ।

अनि कसरी देशमा राजनीतिक स्थिरता कायम होला ? स्थिर सरकारविना देशलाई समृद्ध र स्वर्ग बनाउने नेताहरूको कबुल कसरी पुरा होला ? टाउको दुखेको औषधि नाभीमा दलेर खोई कसरी रोग निको होला र प्रधानमन्त्री ज्यू ?नेताहरूले भ्रष्टाचार रोक्ने, सुशासन र सदाचार कायम गर्ने वाचा गरेका हुन्छन् आ-आफ्नो घोषणा-पत्रमा । दलहरूको चुनावी घोषणा-पत्र पढ्दा सपनाको पुलिन्दा जस्तो लाग्थ्यौं ।चुनावमा खर्च भएको पैसा भ्रष्टाचार नगरी कसरी असुल उपर हुन्छ ? के जनताको नाममा मिनाहा गरिदेलान् त नेताहरूले ? असंभव ।

त्यसैले यो भ्रष्टाचार गर्न वाध्य पार्ने निर्वाचन प्रणाली परिबर्तन गर्नुस् । अनि मात्रै पत्याउँला सुशासन र सदाचारका कुरा ।प्रधानमन्त्रीज्यू ! देशमा असल राजनीति र कुशल नेताको खडेरी परिरहेको समयमा केही आशलाग्दा अनुहारहरू देख्दा मनै रोमान्चित भएर आउँछ । पक्कै अबचाहिँ केही हुन्छ कि जस्तो आशा मनभित्रैबाट पलाएर आउँछ । तर, तिनै आशलाग्दा अनुहारहरूबाट फेरि उही पुरानै पुस्ताले गरेको गलत कामको पुनरावृत्ति भएको देख्दा चाहिँ मन त्यसै त्यसै अत्यासिन्छ । दल र नेताहरूको ताल देखेर भित्रैदेखि फ्रस्टेसन सुरू भएको छ ।

देश कुनै वादको संकीर्ण सोंच राख्ने दल र नेताहरूबाट होइन, फराकिलो सोंच बोकेका, सही भिजन अनि देश र जनताप्रति समर्पित सहासी नेताहरूले बनाउने रहेछ । म त आजकल त्यस्तै नेताहरूको खोजीमा छु ।म धेरै राजनीति त बुझ्दिनँ । तर, मेरो अनुमानमा राजनीतिले अहिले लुँडो खेलमा ९९ अंकमा पुगेर सबभन्दा लामो सर्पको मुखमा परेजस्तै नियति भोगिरहेको छ । साँच्चै, अहिले नेपालका सबै नेतागणहरु प्रतिको भरोषा ९९ बाट पुछारको २ अंकमा झरेको छ ।(लेखिका राधा पोखरेल नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् )

Related Articles

Back to top button
Close