News

प्रधानमन्त्री ओलीको ‘बर्थ–डे’मा डेढ करोड खर्च !

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९औं जन्मदिन मनाएको तरिका बारे सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केही महिना अघि पार्टीको आचारसंहिता सार्वजनिक गरेको थियो । जसमा विवाह, वर्तबन्ध, जन्मदिन मनाउँदा मितब्ययीता अपनाउनुपर्ने र त्यो परिवारभित्र सिमित हुनुपर्ने उल्लेख छ ।

तर नेकपाकै अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने पार्टीको आचारसंहिता विपरित करोडौं खर्च गरेर जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बिहान जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो आफ्नो पुख्र्यौली गाउँ तेह्रथुमस्थित आठराई पुगेर मनाए । बालुवाटारमा मनाएको उनको जन्मदिनले चर्चा नपाए पनि आठराईमा पुगेर मनाएको कार्यक्रमले पनि निकै चर्चा पाएको छ । जन्मदिन मनाएको तस्बिर सार्वजनिक भएसंगै प्रधानमन्त्रीको आलोचना पनि सुरु भयो । आठराईमा मनाएको प्रधानमन्त्री ओलीको जन्मोत्सव कार्यक्रमलाई राजसीको संज्ञा पनि धेरैले दिए ।

आइतबार बिहान बालुवाटारमा केक हाटेर जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो मन्त्री, सरकारी अधिकारी, नेता कार्यकर्ताको लावालस्कर लगाएर चारवटा हेलिकप्टरमा आठराईमा पुगेर १५ किलोको केक काटेर जन्मदिन मनाएका हुन् । जहाँ ६ हजार जनालाई भोज समेत खुवाइएको थियो । कतिपयले १० हजार जनालाई खुवाइएको पनि बताइएको छ । प्रधानमन्त्री ओलीको जन्मोत्सव मनाउन आठराई गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो ।

निकै तामझामका साथ प्रधानमन्त्री ओलीले आठराईमा मनाएको जन्मोत्सव कार्यक्रममा कति खर्च भयो होला ? झापादेखि क्याटरिङ आठराईमा लगेर ६ हजारलाई खुवाइएको भोज र विभिन्न बाँडिएको सामानको खर्च कति भयो होला ? आममानिसको जिज्ञासा भइरहेका बेला नेपाल सरकारका पूर्वसचिम भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको अनुमान लगाएका छन् ।

उनका अनुसार केमा कति खर्च–

१। उपस्थित ६ हजार जनालाई भोज ९भेज प्लस नभेज०
झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ

२। दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ

३। करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ

४। चार वटा हेलिकप्टर खर्च ९ कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ

५। दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ

६। अन्य सरकारी खर्च १० लाख रुपैयाँ

पूर्व सचिव उपाध्यायले प्रधानमन्त्री ओलीको जन्मोत्सवको कूल खर्च १ करोड ४२ लाख रुपैयाँ न्युनतम निकाल्दै सालाखाला करिब डेढ करोड रुपैयाँ खर्च भएको अनुमान लगाएका छन् ।

Related Articles

Back to top button
Close