News

एकै गाउँका ६ जनाको मृत्युले शोकाकूल खनार

दक्षिण भारतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएपछि इटहरी-१० स्थित खनार गाउँ अहिले शोकमग्न बनेको छ। चारधाम तीर्थस्थलको भ्रमणमा निस्किएका उनीहरूको गत बुधबार भएको दुर्घटनामा मृत्यु भएको हो।उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको थियो, जो सबै सुनसरीका हुन्।

इटहरी उपमहानगरपालिका-१० का वडाध्यक्ष प्रकाश चौधरीले दुर्घटनापछि खनार गाउँ शोकाकूल रहेको बताए। ‘मेरो वडाको मात्रै ६ जनाको मृत्यु भयो, अहिले शव ल्याउन पनि समस्या भएको छ,’ उनले भने। एकै घरका श्रीमान् श्रीमतीसहित ६ जनाको मृत्यु भएकाले गाउँ शोकाकूल बनेको उनले बताए।

‘केही घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको सुनिएको छ,’ उनले भने, ‘केही भने अलपत्र अवस्थामा रहेका छन्।’ उनले शव कसरी ल्याउने भन्ने अन्यौल रहेको बताए।माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्राका लागि निस्किएका उनीहरूको बुधबार राति दुर्घटनामा मृत्यु भएको हो।
दक्षिण भारतस्थित तामिलनाडुको सालेममा उक्त दुर्घटना भएको थियो।

यहाँबाट तीर्थयात्रा गएकाले त्यहाँको भाषा नबुझ्ने हुँदा घाइतेलाई झनै समस्या भएको उनको भनाइ छ। ‘केही घाइतेको आफन्त पनि जानुभएको छ,’ वडाध्यक्ष चौधरीले भने, ‘मैले मेयरसावलाई सम्पर्क गर्ने कोसिस गरिरहेको छु, पार्टीका नेताहरूलाई पनि भनेको छु। शव ल्याउने कोसिस गरिरहेको छु।’

उनका अनुसार मृतक सबैको शनिबार पोस्टमार्टम भएको छ। पीडितको घरमा महिला र बालबालिका मात्रै रहेकाले गाउँ शोकमग्न बनेको उनले बताए। ‘भयावह दुर्घटना भएपछि भारतमा जति सहयोग हुनुपर्ने हो, त्यति भइरहेको छैन भन्ने कुरा आएको छ,’ वडाध्यक्ष चौधरीले भने।

माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्राका लागि निस्किएका उनीहरूको बुधबार राति दुर्घटनामा मृत्यु भएको हो। दक्षिण भारतस्थित तामिलनाडुको सालेममा उक्त दुर्घटना भएको थियो।

को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किँदा १० जनाको मृत्यु भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार इटहरी उपमहानगरपालिका-१०, ११, १२, साविक खनार र दुहबी ८ का गरी १० जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ७० वर्षीय रसिलाल चौधरी, ७० वर्षीय वीरबहादुर राई, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीय गोपाल तामाङ, ६५ वर्षीय टीकाराम चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन्।

त्यस्तै, रसिलालका पिता पवनलाल चौधरी, फूलसरीका पिता भजनलाल चौधरी र बुधनी चौधरीका श्रीमान् केदार चौधरीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। उक्त टोलीमा ३४ जना रहेको प्रहरीले जनाएको छ। अन्य दर्जन बढी घाइते भएकामा केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

Related Articles

Back to top button
Close