News

कास्की निर्वाचन सम्पन्न : अघिल्लो चुनावमा भन्दा यो पल्टको चुनावमा भयो अचम्मको संयोग

कास्की क्षेत्र नं २ मा आज प्रतिनिधिसभा सदस्य पदको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ का लागि ८२ वटा मतदानकेन्द्रमा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

मतदान सम्पन्न भइसकेपछि मतपेटिका मतगणनास्थलमा ल्याउने काम शुरु भइसकेको छ । शहीद चोकस्थित जिल्ला समन्वय समितिको सभाभवनमा सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि आज राति १० बजेदेखि मतगणना शुरु हुने सहायक मतदान अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो । सबै मतपेटिका प्राप्त हुनासाथ सर्वदलीय बैठक आह्वान गरी मतगणना शुरु गरिने उहाँले बताउनुभयो ।

अचम्म त के भने अघिल्लो चुनावमा भन्दा यसपटक मतदाता संख्या बढी भए पनि करिब ४ हजार कमले मात्र मतदानमा सहभागिता जनाएका छन् । प्रतिनिधिसभाको उपनिर्वाचन भएको देशकै एक मात्र यो निर्वाचन क्षेत्रमा गत निर्वाचनमा भन्दा कम प्रतिशत मत खसेको छ । कुल ७१ हजार ८७१ मतदातामध्ये यसपटक ४५ हजार ६२१ मत मात्रै मत खसेको छ । यो भनेको गत चुनाव भन्दा करिब ४ हजार कम हो ।

मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ । उम्मेदवारको प्रतिनिधिले गणनामा कुनै पनि बाधा अवरोध पु¥याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइएको छ । दुई स्थानबाट गणना शुरु गर्ने योजना रहेको बताइएको छ ।

दलको तर्फबाट उम्मेदवार बनेकाका दुईजना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधि मात्र गणनास्थलमा रहन पाउने व्यवस्था गरिएको छ । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

चितवनमा ७६ प्रतिशत मतदान

चितवनको तीन वटा वडामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । ती वडामा ७५ दशमलव ९७ प्रतिशत मत खसेको छ ।भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा मतदान भएको हो । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन वटा वडामा कूल मतदाता १३ हजार २८४ रहेकोमा १० हजार ९२ मत खसेको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१ मतदाता रहेकोमा छ हजार २५० मतदान भएको छ । त्यहाँ ७३ दशमलव ६९ प्रतिशत मत खसेको छ ।

खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ मतदाता रहेकोमा दुई हजार १७२ मतदान भएको छ । यो कूल मतदानमध्ये ८० दशमलव ६८ प्रतिशत हो । त्यस्तै खैरहनी–५ मा दुई हजार १११ मतदाता रहेकोमा एक हजार ६७० अर्थात ७९ दशमलव १० प्रतिशत मतदान भएको छ । निर्धारित समयमा नै ती वडाका मतदान केन्द्रहरुमा मतदान शुरु भएको थियो ।

जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र रहेका थिए । मतपत्र सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–१६ को भरतपुरस्थित चितवन जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र खैरहनीको पुरानो नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पश्चात् आजै मतगणना शुरु गरिने ढकालले बताउनुभयो ।

जिल्लाका तीन वटा वडामा पाँच राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

Related Articles

Back to top button
Close